भर्खरै :

विनकनसिनमा जातीय विभेदविरुद्ध प्रदर्शन जारी

विनकनसिन, २७ अगस्ट । संरा अमेरिकाको विनकनसिन राज्यको केनोशा सहरमा ज्याकोब ब्लेक नामका एक जना कालो समुदायका व्यक्तिमाथि प्रहरीले गोली प्रहार गरी गम्भीर घाइते बनाएको विरोधमा चालु सडक प्रदर्शन अझ उचाइमा पुगेको छ । प्रदर्शन थप हिंसात्मक पनि बन्दै गएको छ । प्रदर्शनको तेस्रो रात इलिनिओसका एक जना १७ वर्षका गोरो समुदायका किशोरले गोली हानी दुई जना मानिसको हत्या गरेपछि प्रदर्शनले नयाँ मोड लिएको छ ।
गोली हानेका इलिनिओसका एनटीओचका केल रिटनहाउसलाई प्रहरीले पहिलो तहको सुनियोजित जातीय हिंसाको आरोपमा पक्राउ गरेको छ । एनटिओच र केनोशाबीच जम्मा २४ देखि ३२ किलोमिटरको मात्र दुरी छ ।
उनले सडकको बीचमा अर्धस्वचालित राइफल चलाउँदा मङ्गलबार राति दुई जनाको निधन हुनुको साथै एक जना गम्भीर घाइते भएका छन् ।
“भर्खरै मैले कसैलाई मारेँ”, राइफल चलाइसकेपछि ती गोरा किशोरले उत्तेजित भएर भन्दै गरेको भिडियो फुटेजमा कैद छन् ।
अवस्था हिंसात्मक बन्दै गएपछि विनकनसिनका गभर्नर टोनी त्र्सले केनोशामा थप ५ सय अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरेको छ । गभर्नर कार्यालयले शान्ति सुव्यवस्था कायम राख्न अन्य राज्यसँग पनि सहयोगको लागि कुराकानी भइरहेको बताएको छ । हाल सो क्षेत्रमा राति ७ बजेपछि निषेधाज्ञा जारी गरेको छ ।
गभर्नरले पछिल्लो घटनाबारे एक वक्तव्य जारी गर्दै ‘संवेदनाहीन वियोगान्त’ भनेको छ । उनले सबैलाई ‘शान्ति र सुरक्षा’ को लागि ‘आफ्नो पहिलो संशोधन अधिकार प्रयोग गर्न’ आग्रह गरेका छन् ।
केनोशा कान्टीका प्रमुख शेरिफ डेभिड वेथले गोली काण्डबारे थप अध्ययन भइरहेको उनले बताए । उनले गोली काण्ड प्रदर्शनकारी र आफ्नो व्यापार व्यवसाय रक्षाको लागि हतियारसहित प्रतिरोध गरिरहेका समूहबीच भएको भन्ने विषयमा प्रस्ट भइनसकेको बताए ।
२९ वर्षका ज्याकोब ब्लेक आफ्ना सन्तानसहित गाडीभित्र पस्न खोज्दा सात वटा गोलीले प्रहार भएपछि संरा अमेरिकाका विभिन्न सहरमा सडक प्रदर्शनको अर्को लहर उठेको छ । यसअघि मिनिसोटा राज्यको मिनिआपोलिसमा जोर्ज फ्लोड नामका एक जना कालो समुदायका युवाको प्रहरीले घाँटीमा घुँडाले थिचेर निर्ममतापूर्वक हत्या गरेका थिए ।
गोलीको कारण ब्लेकको कम्मरमुनिको भाग पूरै काम नगर्ने भएको छ । उनको परिवारले कुनै चमत्कार नै भएमात्र अब ब्लेक हिंड्न सफल हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *