भर्खरै :

नेपालगञ्जमा जुम्लाको ‘अर्गानिक’ स्याउ

नेपालगञ्ज, ११ भदौ । जैविक (अर्गानिक) मानिने भएकाले यहाँ अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगञ्जमा अहिले जुम्लाको स्याउ आउन थालेको छ ।
नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तोपर्ने गरेको छ । अहिले सुरुवातको चरण भएकाले दैनिक एक ट्रक स्याउ आउने गरेको स्याउ व्यापारी बताउँछन् । यहाँस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफुल सागसब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गरिरहेका छन् ।
नेपालगञ्ज बजारमा जुम्लाको स्याउ भर्खर आउन सुरु भएको छ । सुरुवाती चरण भएको र स्याउ कृषकले राम्ररी नपाकेको स्याउ पठाउने गरेकाले स्याउप्रति उपभोक्ताको चाख त्यति नबढेको स्याउका खुद्रा व्यापारी असलम अन्सारीले बताउनुभयो ।
नेपाल फलफुल सागसब्जी व्यवसायी सङ्घका सदस्य मेराईलाल साहु भन्नुहुन्छ, “जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी नेपालगञ्ज पठाउने गरिएको छ ।” जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पु¥याउने गरिएको छ । नेपालगञ्ज बजारमा अहिले जुम्लाको स्याउ रु. १०० देखि रु. १५० प्रतिकिलो बिक्री हुने गरेको फलफुल व्यापारी मोहम्मद नसिमले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *