भर्खरै :

सङ्क्रमित बढेकोमा स्वास्थ्यकर्मीहरू चिन्तित

  • भाद्र १२, २०७७
  • – मेरिना शाक्य
  • समाचार

सरकारले बेलैमा ध्यान नपु¥याएको हुँदा जिल्ला–जिल्लामा निषेधाज्ञा जारी भए पनि कोरोना भाइरस सङ्क्रमित र मृतकको सङ्ख्या झन् झन् बढिरहेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलेको ५ महिना नाघिसकेको छ । सङ्क्रमितहरूको उपचारको लागि थप अस्पतालको व्यवस्था, स्वास्थ्य सेवा सामग्री र उपचार विधिलाई तडारुकता देखाउन नसक्नु सरकारको कमजोरी हो ।
अरु रोगीहरूको त के सङ्क्रमितहरूकै उपचार गर्न र गराउन सरकार असफल भइरहेकोमा चिकित्सक र स्वास्थ्यविज्ञहरू चिन्तित हुन थालेका छन् । ज्यानको बाजी राखेर दिन रात नभनी स्वास्थ्य सेवामा जुटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाको निम्ति खटिएका सुरक्षाकर्मी र जनचेतना जगाउन लागिपरेका सञ्चारकर्मीहरूको निम्ति सरकारले कुनै प्रोत्साहन भत्ता सेवा या सुविधाको व्यवस्था गर्न सकेको छैन । काम नगरे पनि तलब प्रदान गर्ने सरकारले पहिलेभन्दा बढी समय जनताको स्वास्थ्य सेवामा जुटेका व्यक्तिहरूलाई सेवा, सुविधा दिन, बीमाको व्यवस्था गर्न किन कञ्जुस्याइँ गरिरहेको हो भन्नेबारे स्वास्थ्यविज्ञहरू बताउँछन् ।
अस्पतालको लागि आवश्यक सामग्री, थप उपचार केन्द्र, आर्थिक सहयोगको कमीले गर्दा अस्पताल र स्वास्थ्य केन्द्रहरूले चाहेर पनि उद्देश्यअनुसार काम गर्न सकिरहेका छैनन् । निषेधाज्ञामात्र जारी गरेर कोरोना सङ्क्रमण नियन्त्रण हुँदैन । निषेधाज्ञा नै कोरोना भाइरस नियन्त्रणको उपाय होइन । उपत्यका र अन्य जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् तर पनि सङ्क्रमित र मृतकको सङ्ख्या बढिरहेको छ । सरकार निषेधाज्ञा जारीमा मात्र सीमित हुनु हुँदैन । यसरी नै सङ्क्रमितको सङ्ख्या बढिरहेमा जिम्मेवार सरकारी व्यक्तिहरू उपचार गर्न नसक्ने भनी लाचारी व्यक्त गर्छन् । कोरोना भयावहको कारण सङ्क्रमित र मृतकहरूको सङ्ख्या नसोचेझैँ बढ्नेमा शङ्का छैन । कुनै अस्पतालका स्वास्थ्यकर्मी या कर्मचारीहरू सङ्क्रमित भयो भने अस्पतालमै सिल गर्ने कार्यले पनि सङ्क्रमितहरूको उपचारमा समस्या भइरहेको देखिन्छ । हाल उपचार गरिरहेका सबै अस्पतालमा कुनै न कुनै स्वास्थ्यकर्मी या कर्मचारी सङ्क्रमित भएमा के सङ्क्रमितहरूको उपचारै नगर्ने ? त्यस्तो बेला रोगीहरूको स्थिति के हुन्छ ? के अन्य सङ्क्रमितको सङ्ख्या बढ्दैन ? के यसले सङ्क्रमितहरू कीराफट्याङ्ग्राझैँ मर्दैनन् ? अनि कसरी रोग नियन्त्रण हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *