भर्खरै :

आदर्शाेन्मुख समाजको खाँचो

हरेक राजनीतिक नेता, कार्यकर्ता, शिक्षक, बुद्धिजीवी, समाजसेवीहरू सादा जीवन उच्च विचारका हुनुपर्छ । मानिसहरू सुशील, स्वावलम्बी, शील स्वभावका, मिलनसार, मृदुभाषी, लगनशील, कर्मनिष्ठ र सहयोगी एवम् निःस्वार्थी हुनुपर्छ । मानिसको सरलता र कशालीनताले अन्य मानिसमा राम्रै प्रभाव पर्छ ।
समाजसेवी, शिक्षाप्रेमी, साहित्यप्रेमी, देशप्रेमी व्यक्तिहरू समाजका उत्प्रेरक र अनुकरणीय हुन्छन् । समाजमा यस्ता पात्रहरूको खाँचो छ । पुँजीवादी यो बन्दोबस्तको बेला स्वार्थीहरूको हालीमुहाली चलिरहेको बेला समाजको सेवा गर्न सामाजिक कार्यकर्ताको महत्व अझ बढेको छ । समाजसेवीहरू जनताका सेवकहरू बडप्पन देखाउँदैनन् । उनीहरू सरल व्यवहार गर्छन् । उनीहरू नम्र हुन्छन् । जनताका दुःख र पीडा आत्मसात गरेर सहयोग पु¥याउँछन् । उनीहरू सम्मानजनक व्यवहार गर्छन् ।
मानिसमा पवित्र विचार हुनुपर्छ । मन शुद्ध हुनुपर्छ । कसैले कसैलाई भेदभाव गर्नु हुँदैन, हेलाहोचो र अपमान गर्नु हुँदैन । कुनै गरिब, दीन दुःखी, निमुखा, अपाङ्ग, अस्वस्थ तथा अशक्तलाई हृदयदेखि आदर गर्नुपर्छ, सम्मान गर्नुपर्छ, सक्दो सहयोग र सेवा गर्नुपर्छ । समाज सेवामा लाग्दा अनेक चुनौती, कठिनाइ या अप्ठ्यारो स्थिति आउन सकिन्छ । तर, कठिनाइ अप्ठेरो स्थिति आए पनि समाज सेवाबाट पछि हट्नु हुँदैन, आफ्नो सेवालाई निरन्तरता दिइरहनुपर्छ । देशको निम्ति केही गर्नुपर्छ भन्ने भावनाका साथ अघि बढ्नुपर्छ । कसैको लोभलालचमा फस्नु हुँदैन । बुझ्दै नबुझी कसैको लहैलहैमा हिँड्नु हुँदैन । सत्यको पक्षमा लाग्नुपर्छ । सत्यको विरोधमा बोल्ने व्यक्तिको विरोध गर्नुपर्छ । इमानदार हुनुपर्छ । सच्चरित्रवान हुनुपर्छ । सोझा सीधा भनेर हेप्ने, अवहेलना गर्ने, पीडा दिने, घोचपोच गर्ने काम गर्नु ठीक होइन । सहयोगी व्यक्तिहरू नै समाजका सत्पात्र हुन् । उनीहरू मार्गनिर्देश गर्छन् र उत्प्रेरणा दिन्छन् । आदर्शाेन्मुख समाज निर्माण गर्न यस्तै पात्रहरूको खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *