भर्खरै :

मल नपाउँदा कृषक चिन्तित

दमौली, १३ भदौ (रासस) । तनहुँ जिल्लाका कृषकहरू युरिया मल नपाउँदा चिन्तित भएका छन् । असारमा रोपिएको धान गोडमेल गर्ने बेलामा मल नपाएपछि कृषकहरू चिन्तित भएका हुन् ।
व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेलले धान र तरकारी खेतीमा प्रयोग गर्न मल नपाइएको गुनासो गर्नुभयो । “दुई पटक मल राख्ने बेला भइसक्यो, मल भने पाउन सकिएन,” उहाँले भन्नुभयो । ५० केजी मल आवश्यक भए पनि बजारमा कति पनि मल नपाइएको पौडेलले बताउनुभयो ।
“कृषि सामग्री कम्पनी तनहुँमा फोन गरेर मल आयो भनेर सोध्छु तर मल आएको खबर पाउँदैन”, पौडेलले भन्नुभयो । हरेक वर्ष मलको अभाव हुने गरे पनि यस वर्ष भने लकडाउनका कारण कृषक मारमा परेको पौडेलको भनाइ छ । “अब चाहिएको बेला नपाइएपछि कृषकहरूलाई खल्लो अनुभव हुँदोरहेछ, मल नै हाल्न नपाएपछि उत्पादन घट्ने निश्चित छ”, उहाँले भन्नुभयो । सरकारले कृषकलाई कृषि खेतीमा लाग्न प्रोत्साहन गर्ने नीति लिएको बताए पनि व्यवहारमा त्यस्तो नदेखिएको पौडेलको गुनासो छ ।
भिमाद नगरपालिका–९ भाटडाँडाका रुद्रबहादुर क्षेत्रीले धान गोडमेल गरिसके पनि मल अभाव भएको बताउनुभयो । जताततै मलको खोजीका लागि भौँतारिए पनि मल पाउन नसकेको क्षेत्रीको गुनासो छ । “मलाई सात केजीमात्रै भए पनि पुग्थ्यो तर जिल्लाभर नै मल पाउन सकिएन”, उहाँले भन्नुभयो ।
यसपटक समयमै वर्षा भए पनि चाहिएको बेला मल नपाइएपछि कृषकमा निराशा छाएको छ । कोभिड–१९ को सङ्क्रमण र त्यसपछि गरिएको बन्दाबन्दीले सहर छिरेका व्यक्ति पनि गाउँ आएर कृषि खेतीमा लागेका थिए । समयमै धान खेती सकिएको भए पनि मल नपाइएपछि कृषकहरूले जतिसक्दो मल उपलब्ध गराइदिन माग गरेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेड तनहुँका प्रमुख बलबहादुर पन्थले बर्सेनि मलको अभाव हुँदै आएको भए पनि यसपटक भने कोभिड–१९ का कारण कृषकलाई समयमै मल उपलब्ध गराउन नसकिएको जानकारी दिनुभयो । “दुई महिनादेखि युरिया मल छैन, मल खरिदको प्रक्रिया सुरु हुने बेला बन्दाबन्दी भयो, समयमा टेन्डर प्रक्रिया हुनसकेन”, पन्थले भन्नुभयो । पन्थले प्रक्रिया पु¥याएर मल आइपुग्न अझै बढीमा पाँच महिनासम्म लाग्नसक्ने बताउनुभयो । लिमिटेडले अघिल्लो आर्थिक वर्षको अन्तिम चौमासिकमा युरिया ५२० र डीएपी ४८९ मेट्रिक टन बिक्री गरेको जनाएको छ । कम्पनीमार्फत तनहुँ ७८, लमजुङ ३६ र गोरखाका चार सहकारीले मल बिक्री गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *