भर्खरै :

वैकल्पिक प्रणालीको सिकाइलाई मूलधार बनाइँदै

काठमाडौँ, १३ भदौ । कोभिड— १९ को जोखिम बढ्दै गएकोले सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई नै मूलधार मान्ने गरी शैक्षिकसत्रको उपयोग गर्ने भएको छ ।
शिक्षा पत्रकार समाज (सेज) ले आज भर्चुअलरूपमा आयोजना गरेको बहसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सङ्कटको स्थितिमा बालबालिकाले पढ्न पाउनुपर्छ तर बालबालिकाको स्वास्थ्य सुरक्षा पनि संवेदनशील विषय भएकोले सरकारले यी दुवै पक्षको विश्लेषण गरेर शैक्षिकसत्रलाई खेर जान नदिने गरी निर्णय गर्न लागेको जानकारी दिनुभयो ।
सहसचिव शर्माले शिक्षामन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम मूल्याङ्कन परिषद्को बैठकले वैकल्पिक सिकाइलाई मूलधारको मान्यता दिने सैद्धान्तिक निर्णय गरिसकेको र पाठ्यघण्टा गणना र अन्य प्राविधिक पक्षको मिलानका लागि पाठ्यक्रम विकास केन्द्रले काम गरिरहेको बताउनुभयो । गत चैत ६ गतेदेखि शिक्षालय बन्द रहेकाले सरकारले गत असार १ गतेदेखि अनलाइन, रेडियो, टेलिभिजन र अफलाइनबाट सिकाइको थालनी गरेको थियो तर हालसम्म उक्त सिकाइलाई शैक्षिक सत्रमा गणना गरिएको छैन ।
मन्त्रालयका शैक्षिक सत्र व्यवस्थापन सुझाव कार्यदलका संयोजक रहनुभएका सहसचिव शर्माले हालसम्मको सिकाइबारे विद्यार्थीगत व्यक्तिगत मूल्याङ्कन गरेर कोर्स अगाडि बढाइने र अब हरेक विद्यालयले विद्यार्थी यकिन गर्न अनलाइनबाटै भर्ना (अभिलेखीकरण) गराई शैक्षिक तथ्याङ्क प्रणालीलाई व्यवस्थित गरिने बताउनुभयो । सोका लागि वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ लाई एक साताभित्र संशोधन गरिने भएको छ । गत जेठ १८ गते उक्त निर्देशिका जारी भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *