भर्खरै :

महामारी र लकडाउनले बढायो मानसिक रोगी

  • भाद्र १७, २०७७
  • – सञ्चिता घिसिरे
  • समाचार

काठमाडौँ, १६ भदौ । देशभर कोभिड–१९ को सङ्क्रमणसँगै पहिलेदेखि मानसिक रोगको औषधि खाइरहेकालाई रोग बल्झन थालेको छ भने कतिपय नयाँ बिरामीसमेत थपिन थालेका छन् । महामारी र लकडाउनको कारण एन्जाएटी
(छटपटी), स्टेस डिसअर्डरलगायत मानसिक समस्या बढेको छ । बालबालिकामा झिँझो मान्ने, जुनसुकै समयमा इन्टरनेट प्रयोग गर्न नपाउँदा लतको समस्या देखिएको छ । धेरैमा मानसिक समस्या बढ्दै गए पनि यातायातको अभावका कारण धेरै अस्पतालसम्म आउन नसकेको हुनसक्ने पाटनस्थित मानसिक अस्पतालका जनाएको छ ।
कोभिड–१९ भनेको के हो र यसको असर कतिसम्म हुन्छ भन्ने विषयमा सञ्चारमाध्यममा फरक–फरक कुरा आइरहँदा नागरिकमा अन्योल छाएको अस्पतालमा प्रमुख कन्सल्टेन्ट साइक्याटिक्स डा. अनन्तप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारले औपचारिकरूपमा सङ्क्रमितको सङ्ख्या बढिरहेकोले सतर्क रहन भनिरहेको छ । कतिपय विज्ञले भने यो रोग भनेको केही होइन भन्ने किसिमका धारणा राख्दा धेरै व्यक्तिमा अन्योल भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मानिसलाई दिग्भ्रमित हुँदा समस्या अझै बढिरहेको छ ।”
मानसिक रोगको केन्द्रीय अस्पतालको रूपमा यस अस्पतालमा बिरामीहरू काठमाडौँ उपत्यका मात्रै नभएर अन्य जिल्लाबाट आउने गरेको भए पनि जारी निषेधाज्ञाका कारण अहिले ‘फलो अप’ का लागि आउन सकेका छैनन् । समयमा अस्पताल आउन नसकेका र औषधि नपाएका व्यक्तिलाई रोग बल्झने खतरा भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अस्पताल आउन नसक्दा नयाँ व्यक्तिमा रोग देखिने र पुरानालाई बल्झने दुवै जोखिम छ ।”
मानसिक रोगको जोखिम सबै वर्ग, उमेर र समूहमा रहको डा. अधिकारीले बताउनुभयो । खासगरी पहिलेदेखि नै मानसिक रोग भएकोले अहिले औषधि खाइरहेका व्यक्ति, सहने शक्ति कम भएका व्यक्ति र मादक पदार्थको बढी प्रयोग गर्ने व्यक्ति बढी जोखिममा हुने उहाँको भनाइ छ । बालबालिकामा पनि मानसिक रोगको जोखिम रहेको पाइन्छ । विद्यालय बन्द भएका कारण लामो समयदेखि घर बसिरहेकाले उनीहरूमा इन्टरनेटको बढी प्रयोग गर्ने र नपाउँदा झर्कने गरेका छन् । उहाँले भन्नुभयो, “कतिपय बालबालिकामा टाउको दुख्ने, निद्रा गडबड हुने समस्या पनि पाइएको छ ।”
मानसिक रोग लाग्ने विभिन्न कारणमध्ये वातावरणीय प्रभाव पनि एक हो । कोभिड–१९ का कारण हुने समस्यालाई यसै किसिमको समस्या मानिन्छ । अझै पनि मानसिक स्वास्थ्यलाई सबै क्षेत्रले कम प्राथमिकतामा राखेको पाइन्छ । केही प्रदेशमा मात्रै सामाजिक विकास मन्त्रालयले मनोचिकित्सक चाहिन्छ भन्ने बुझेको पाइन्छ । देशभरमा नै मनोचिकित्सक जम्मा २०० भन्दा कम भएकाले तल्लो तहसम्म पुग्न कठीन भएको उहाँको भनाइ छ । कतिपय स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृतलाई मानसिक रोगसम्बन्धी आधारभूत तालिम दिएमा मुख्य समस्या पहिचान हुनसक्ने उहाँको भनाइ छ । अबको केही समयसम्म सङ्क्रमणको जोखिम भएकाले त्यसरी मात्रै स्थानीय स्तरसम्म उपचार सम्भव भएको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा बिरामी काठमाडौँसम्म आउन कठीन भएकाले त्यहीका स्वास्थ्य संस्थामार्फत सेवा दिनुपर्छ ।”
कोभिडको सङ्क्रमण अझै लामो समयसम्म जानसक्ने भएकोले मानसिक रोगको उपचारका लागि विकल्पका बारेमा सोच्न जरुरी छ । टेलिमेडिसिन वा कार्यरत मेडिकल अधिकृतलाई दिइने तालिम बिकल्प हुनसक्ने डा. अधिकारीको भनाइ छ । अस्पतालले अहिले बिरामी वा उनीहरूका आफन्तले टेलिफोन गर्दा सुझाव दिइरहेका छन् । मानसिक रोगको औषधि मनोचिकित्सकको पुर्जा नभई नदिने भएकोले आफूले टेलिफोनबाट पनि समन्वय गरिरहेको उहाँले बताउनुभयो । सम्पर्कमा आएका बिरामीलाई यसो गर्नुहोस् भने पनि सम्पर्कमा नआउने धेरै भएको उहाँले बताउनुभयो ।
कतिपय बिरामी र उनीहरूको आफन्तले मानसिक रोगको यसअघि खाँदै आएको औषधि सकिएको र औषधि पसलमा नपाइएको बताउने गरेका छन् । यसको औषधि धेरै जिल्ला जिल्लामा पुग्न नसकेका कारण धेरैको औषधि छुटेर समस्या थपिएको हुनसक्छ । अस्पतालले सबै किसिमका सेवा भने जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *