भर्खरै :

महामारीले कसरी बढाउँदै छ असमानता ?

नोबेल कोरोना भाइरसको महामारी संसारभर फैलिनुअघि नै संसारको विकासशील भागमा असमानता बढिरहेको थियो । अहिलेको महामारीले संसारमा विद्यमान आर्थिक तथा सामाजिक असमानतालाई अझ फराकिलो बनाएको छ । संसारभर निम्नानुसार पाँच तरिकाबाट असमानता बढिरहेको छ ।
रोजगारी र ज्याला
महामारीले मजदुरहरूबीच असमानता फराकिलो बनाएको छ । भाइरसको सङ्क्रमण रोक्न संसारका धेरै सरकारले लकडाउनको नीति अङ्गीकार गरेका छन् । यो नीतिले विकासशील देशहरूका कामदार जनतालाई विशेषतः असर पारेको छ ।
दैनिक कमाएर पेट पाल्ने र भेटिएको काम गर्ने मजदुरहरू काम गर्ने ठाउँसम्म पुग्न पनि सकेका छैनन् । त्यसकारण, उनीहरूले जीविकोपार्जनको लागि पैसा कमाउन सकेका छैनन् । उनीहरूको भविष्यको कुनै सुरक्षा छैन ।
दिल्लीको सडकमा तरकारी बेच्ने एक जना व्यापारीको कुरा गरौँ । भारतमा महामारी फैलिएपछि सरकारले घरमै बस्ने आदेश जारी गरेको छ । यस्तो आदेशले सडकमा तरकारी बेच्ने व्यापारीको दैनिक कमाइको बाटो नै बन्द भएको छ । तर, घरबाटै काम गर्नसक्ने व्यक्तिको आम्दानीमा भने महामारीले खासै केही असर गरेको छैन ।
विकासशील देशका बहुमत कामदारहरू अनौपचारिक रोजगारी गर्छन् । धनी देशका सरकारहरूले त्यहाँका मजदुरहरूलाई दिने गरेजस्ता सहायता विकासशील देशमा मजदुरहरूलाई दिइँदैन । अधिकांश विकासशील देशहरूले महामारीका दुष्प्रभाव रोक्न केही सामाजिक सुरक्षा कार्यक्रमहरू घोषणा गरेका छन् । तर, न त यस्ता सामाजिक सुरक्षा कार्यक्रम पुग्दो छ न यस्ता सुरक्षा कार्यक्रम खास गरिब जनतासम्म पुग्नैसकेको छ ।
विद्युतीय विभाजन
महामारीले प्राविधिक परिवर्तनलाई गति दिइरहेको छ । प्रविधिकै सहारामा केही व्यापार–व्यवसाय भने महामारीमा समेत सुचारु छन् । प्रविधिकै कारण मानिसहरू घरबाटै काम गरिरहेका छन् । अहिले प्रविधिको प्रयोग गरेर घरमै बसेर काम गरिरहेका कति मानिसहरू पहिले यस्ता प्रविधिमा अभ्यस्त थिएनन् । महामारीले उनीहरू यस्तो प्रविधिको ज्ञान दियो । नागरिकमा इन्टरनेटको पहुँच र विद्युतीय बैठकको लागि जुमजस्ता अनलाइन प्रविधिमा काम गर्ने क्षमतावान शिक्षित नागरिक भएका देशहरूले महामारीका प्रभाव न्यूनीकरण गर्न सकेका छन् । त्यसकारण सिङ्गापुर र ताइवानका मजदुरहरूको लागि अनलाइन प्रविधि फलिफाप बनेको छ । तर, पहिले नै पछाडि रहेका सब–सहारा अफ्रिकाका अधिकांश देशहरू भने अहिलेको प्राविधिक फड्कोले अझ पछि पर्ने भए ।
फराकिलो लैङ्गिक असमानता
लकडाउनको कारण महिला र पुरुष दुवै घरमा बस्नु पर्दा महिलामाथि घरको काम र बालबच्चाको हेरचाहको बोझ अझ बढेको छ । परिवारभित्रै घरेलु काममा असमान वितरण बढिरहेको छ । संसारभर नै महिलाहरू खुद्रा सामान बेच्ने क्षेत्र र सेवा उद्योगमा बढी काम गर्छन् । त्यस्तो काम घरमा बसेर गर्न सम्भव हुँदैन । त्यस्ता क्षेत्र अहिले लकडाउनको कारण प्रायशः बन्द छन् । त्यसकारण, लकडाउनको कारण काम गुमाउनेमा अधिकांश महिला नै छन् ।

असमानता बढाउन महामारीको प्रभाव कति वर्षसम्म महसुस गर्नुपर्ने भन्ने कुरा विकासशील देशका सरकारले चाल्ने कदममा भर पर्नेछ । सरकारले तत्कालै अल्पकालीन कार्यक्रमअन्तर्गत कामदार जनताको लागि ठुलो आकारको आर्थिक सहायता कार्यक्रम तथा दीर्घकालीन कार्यक्रमअन्तर्गत प्राविधिकरूपमा अघि बढिसकेको विश्वको लागि आफ्ना नागरिकलाई तयारी गर्ने र पूर्वाधार निर्माण गर्नेमा ध्यान दिनुपर्छ । अन्तर्राष्ट्रिय समुदायले न्यून आयका देशहरूलाई ऋण सहायता र वित्तीय सहयोग एकीकृत तरिकाबाट के कसरी प्रदान गर्नेछ भन्ने कुरामा पनि कतिपय कुरा निर्भर रहनेछ ।

विद्यालय र शिशु स्याहार केन्द्रहरू बन्द हुँदा महिलाहरू बेरोजगार भएका छन् । आर्थिक समस्याको बेलामा कामबाट निकालिनेहरू (अथवा कक्षा छुट्ने) मा सबभन्दा बढी महिला नै हुन्छन् । महामारीको कारण धेरै विद्यालय बन्द भएका छन् । भोलि ती विद्यालय खुल्दा पनि महिलाहरू काममा नफर्किने सम्भावना बढी हुन्छ । यसले महिलाहरूको शिक्षाप्रतिको इच्छाशक्ति कमजोर बनाउँछ । जसले महिलाको दीर्घकालीन रोजगारी र आम्दानी गर्ने क्षमतामा खराब असर पार्छ ।
उदाउँदो संरक्षणवाद
संसारमा अन्तर्राष्ट्रिय सहकार्य निकै कमजोर बनेको समयमा कोरोना भाइरसको सङ्कटले हमला गरेको छ । कमजोर अन्तर्राष्ट्रिय सहकार्यको सबभन्दा सान्दर्भिक उदाहरण त संरा अमेरिका र चीनबीचको चालु व्यापार युद्ध नै हो । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसक्रममा विश्व व्यापार सङ्गठन, विश्व स्वास्थ्य सङ्गठनजस्ता धेरै महत्वपूर्ण अन्तर्राष्ट्रिय निकायको तेजोवध गर्ने खालका अनेकन अभिव्यक्ति र वक्तव्यहरू जारी गरेका छन् ।
आर्थिक राष्ट्रवादको बढ्दो विस्तारको कारण संरा अमेरिका र बेलायतजस्ता देशहरूले प्रमुख व्यापार मोर्चाबाट हात झिकेका छन् । महामारीले यो क्रमलाई अझ बिस्तार गरेको छ । विकसित देशमा बढ्दो संरक्षणवादले विकासशील देशलाई विश्व बजारमा पुग्न रोक लगाएको छ । विश्व व्यापारबाट प्राप्त हुने अवसर प्राप्त गर्न विकासशील देशहरूलाई सीमित अवसर मात्र छोडेको छ ।
पछिल्ला दसकमा पूर्वी एसिया र विशेषतः चीनमा आम्दानी वृद्धिको प्रमुख आधार नै विश्वव्यापीकरण हो । तर, व्यापार संरक्षणवादले महामारीपछिको विश्वमा धनी र गरिबबीचको आम्दानीको असमानता घटाउने क्षमतामा ¥हास ल्याएको छ ।
खोपमा पहुँच
कोभिड–१९ को खोपको विकास भएपछि त्यसमा कसको कति पहुँच छ भन्ने कुराले महामारीबाट कसले कति चाँडो मुक्ति पाउनेछ भन्ने कुराको निक्र्योल हुनेछ । खोपको पहुँचमा धनी र गरिबबीच भिन्नता हुनेछ, जसले असमानता अझ बढाउनेछ । विश्व स्वास्थ्य सङ्गठनले ‘खोप राष्ट्रवाद’ प्रति संसारलाई सजग बनाइसकेको छ । ‘खोप राष्ट्रवाद’ भनेको खोपको अनुसन्धान गर्न अरबौँ डलर खन्याएका धनी देशका नागरिकलाई मात्र खोपको वितरण गर्नु हो ।
महामारीविरुद्ध अग्रपङ्क्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरूको सुरक्षाको लागि आवश्यक व्यक्तिगत सुरक्षा वस्त्र (पीपीई) हात पार्ने विषयमा भएको झगडा हामी सबैले देखेका छौं । यदि विकसित देशहरूले आफ्ना नागरिकको लागि भनी आधारभूत स्वास्थ्य सामग्रीसमेत भण्डारण गरे (अथवा अरू देशलाई दिन नमाने) र अरू देशलाई सहायता विस्तार गर्नुको सट्टा कटौती गरे न्यून आय भएका देशहरूले मानवीय र आर्थिकरूपमा थप क्षति भोग्न बाध्य हुनेछन् ।
असमानता बढाउन महामारीको प्रभाव कति वर्षसम्म महसुस गर्नुपर्ने भन्ने कुरा विकासशील देशका सरकारले चाल्ने कदममा भर पर्नेछ । सरकारले तत्कालै अल्पकालीन कार्यक्रमअन्तर्गत कामदार जनताको लागि ठुलो आकारको आर्थिक सहायता कार्यक्रम तथा दीर्घकालीन कार्यक्रमअन्तर्गत प्राविधिकरूपमा अघि बढिसकेको विश्वको लागि आफ्ना नागरिकलाई तयारी गर्ने र पूर्वाधार निर्माण गर्नेमा ध्यान दिनुपर्छ । अन्तर्राष्ट्रिय समुदायले न्यून आयका देशहरूलाई ऋण सहायता र वित्तीय सहयोग एकीकृत तरिकाबाट के कसरी प्रदान गर्नेछ भन्ने कुरामा पनि कतिपय कुरा निर्भर रहनेछ ।
स्रोत ः द कन्भरसेसन
नेपाली अनुवाद ः राजजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *