सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
नेपालमा केही प्रचारमाध्यम र केही व्यक्तिहरू ‘युवा नेतृत्व’ हुनुपर्ने बारे बरोबर चर्चा गर्छन् । यसमा केही मनसाय देखिन्छ – एक, वर्तमान नेतृत्व असक्षम, अयोग्य र समय सान्दर्भिक भएन ¤ दोस्रो, वर्तमान नेतृत्वभन्दा आउने नयाँ अथवा युवा नेतृत्व तीन वटै दृष्टिकोणले उपयुक्त र योग्य छ र तेस्रो, नयाँ नेतृत्व वैचारिकरूपले युग सुहाउँदो र सान्दर्भिक हुनेछ ।
माथिका अनुमान र भनाइलाई साबित गर्न हामी ऐतिहासिक पृष्ठभूमिमा जानु आवश्यक छ । बेलायती पुँजीवादी क्रान्ति हुनुभन्दा पहिले क्रामवेललाई कसले नेतृत्वमा ल्यायो ? के उनलाई कुनै दलको केन्द्रीय समिति वा सम्मेलनले ल्याएको थियो ?
अमेरिकी स्वतन्त्रता आन्दोलनमा जार्ज वासिङ्गटनलाई युवा सम्झेर के उनको पार्टीका ज्येष्ठ नेताहरूले मुक्तिसङ्घर्षको नेतृत्व प्रदान गरेका थिए ?
फ्रान्सेली राज्य क्रान्तिका ज्याकोविन्स, जिरोेन्डिस र अन्य क्लबहरूलाई नयाँ पुस्ता र युवा नेतृत्व भनेर के ज्येष्ठ नेताहरूले जिम्मेवारी दिएका थिए ?
त्यस्तै जर्मनीको प्रजातान्त्रिक आन्दोलन र पछि कम्युनिस्ट पार्टीको स्थापना गर्न के पुराना नेताहरूले माक्र्स र एँगेल्सलाई युवा भनेर नेतृत्व सुम्पेका थिए ? ‘नयाँ राइन समाचार’ प्रकाशनको निम्ति कुनै पुरानो नेतृत्वले माक्र्स–एँगेल्सलाई नियुक्ति वा मनोनित गरेको थियो ? संसारमा मजदुरवर्गको राज्यसत्ता वा समाजवाद स्थापना गर्ने र त्यसपछि वर्गविहीन र राज्यविहीन साम्यवादी समाजसम्म मानव जातिलाई अगाडि बढाउने उद्देश्य राखेर विश्व कम्युनिस्ट आन्दोलनको ‘कम्युनिस्ट घोषणापत्र’ प्रकाशित गर्दा माक्र्स र एँगेल्स ३० र २८ वर्षका थिए ।
रुसी क्रान्तिको निम्ति नयाँ विचार दिने पत्रिका ‘फिलिङ्गो’ (इस्क्रा) को प्रकाशन गर्दा लेनिनको उमेर ३० वर्षको थियो भने ‘सङ्घर्ष’ भन्ने अखबार प्रकाशित गर्दा स्तालिनको उमेर २१ वर्षको थियो ।
फिडेल क्यास्ट्रोले क्युवालाई संरा अमेरिकी समर्थक सत्ताबाट मुक्त गरी समाजवादको जग हाल्दा उनको उमेर ३३ वर्षको थियो भने चे ग्वेभाराको उमेर ३१ वर्षको थियो । बोलिभियामा ‘चेको डायरी’ विपक्षीले कब्जा गर्दा र उनको हत्या हुँदा उनको उमेर ३९ वर्षको थियो ।
वर्तमान नेपालको सन्दर्भमा
जनआन्दोलनपछि प्र्राप्त प्रजातन्त्र र गणतन्त्रपछिका शासक दलका नेता र कार्यकर्ताहरूमा देशको मुख्य समस्या हल गर्ने नभई नेतृत्वमा बस्ने दृष्टिकोण पलाएको छ । हरेक साल बाढी–पहिरोबाट दुःख हुने देश, कृषि र उद्योग उत्पादन ध्वस्त भएको देश, प्रवेशिका उत्तीर्ण नहुँदै विदेश जाने रहर बोक्नेको देश, राम्रो जीउ वा बलिष्ठ युवा बेलायती र भारतीय सेनामा जाने देश हो नेपाल । पश्चिम नेपालका काम गरीखाने उमेरका झन्डै एकतिहाइ भारतमा ‘दरवान, कुल्ली र पिउन’ हुने, खुला सीमाबाट अपराध, नक्कली मल, मिसावट खाद्यवस्तु आयात हुने, छोरीहरू भारत र अन्य देशका वेश्यालयमा बेचिने जस्ता अनगिन्ती समस्या छन् । तर, खोइ त सरकारमा गएका नयाँ नेतृत्व वा मन्त्रीहरूले समस्या समाधान गर्न सकेको ?
मुख फोरेरै भन्ने हो भने, तुलनात्मकरूपले सुजाता कोइराला र प्रकाश कोइरालाकै पालामा अनेक पासपोर्ट, सुडान घोटालाजस्ता काण्डहरू भए, रामचन्द्र पौडेल र दिलेन्द्र बडू तुलनात्मकरूपले त्यसबेला युवा थिए– तिलाठी र लाला–पट्टीमा भारतले नेपालको खेत–खेतमा नयाँ सीमा स्तम्भहरू गाडेर देश मिच्दा सभामुख के हेरेर बसे ? त्यसबेला त्यहाँको प्रमुख जिल्ला अधिकारी पश्चिम नेपालका एक चटौत थिए, दिलेन्द्र बडू पश्चिमबाट नेता भई आएका हुन् । उनले कहिल्यै लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे सदनमा र मन्त्री हुँदा आवश्यक कदम चालेको बाहिर आएन । काङ्ग्रेसी युवा नेता गच्छेदार, खड्का, शेरबहादुर आफैले पनि भ्रष्टाचारका अनेक काण्डभन्दा के काम देखाए ? एमालेंएमाओवादी
(नेकपा) का युवा नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, भानुभक्त ढकालहरूले बदनामीबाहेक के कमाए ? सुरुमा धेरैपटक मन्त्री बनेका हृदयश त्रिपाठीले सुस्ता नजिक भएर पनि अरूको कान बन्नुबाहेक के गरे ? संसदीय समितिहरूमा सभानेतृहरू नै युवा भएर के भयो ? अनुभव र जानकारी नभएका युवा र महिलाहरूलाई महत्वपूर्ण काम दिँदा अज्ञानता र अनुभवहीनताको कारण थरीथरीका दलाल र विचौलियाका खेलौना बनेको कुराको साक्षी सारा नेपाली छन् । अरूको हाहामा लाग्नुभन्दा आफ्नो स्थिति आकलन गर्नु उचित होला !
Leave a Reply