भर्खरै :

धर्म त परिवर्तन गरियो तर … …

महिना दिनअघि दुई जना बालसखाहरू वडा कार्यालयमा आए । कार्यकक्षमा अन्य स्थानीय अग्रजहरूबीच गाईजात्रा पर्व सञ्चालनसम्बन्धी छलफल भइरहेको थियो । कोभिड – १९ को महामारी फैलिएको अवस्थामा गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्ने, परिवारका सदस्य र केही आफन्तमात्र जम्मा भई गाई एवम् ताहामचा लाने तर घिन्ताङ्घिसी र नाचहरू प्रदर्शन नगर्ने विषयमा सबैजना सहमत भएका थियौँ । छलफलको क्रममा विभिन्न व्यक्तिको अभिव्यक्ति उनीहरूले पनि सुनिरहेका थिए ।
छलफलपछि स्थानीय अग्रजहरूलाई बिदावारी गरी साथीहरूलाई चिया खुवाइयो । चियाको चुस्की लिँदै पहिलो साथीले भन्यो, “हाम्रो समाज कहिल्यै माथि नउठ्ने भयो है ¤ पश्चिमी समाज एक्काइसौँ शताब्दीको पनि २० औँ वर्षमा पाइला टेक्दै छ, विज्ञान र प्रविधिको विकासमा निकै अघि बढिसकेको छ । हाम्रो समाज भने १८ औँ शताब्दीको गाईजात्रा, घिन्ताङ्घिसी र ताहामचाकै वरिपरि घुमिरहेको छ । विकसित देशका मानिसहरू भ्यागुतोझैँ उफ्रिरहेका छन्, हामी शङ्खेकिरा जति पनि घस्रिरहेका छैनौँ ¤”
“यो त हाम्रो संस्कृति हो नि साथी ¤ संस्कृतिले हाम्रो परिचय बोकेको हुन्छ, यसले तत्कालीन सभ्यता र हाम्रो विगत बताउँछ । पुर्खाले छोडेर गएका यी धरोहरहरू त जोगाउनुपर्छ,” वडा सचिवले ल्याएका केही पत्रहरूमा दस्तखत गर्दै मैले साथीको भनाइप्रति सामान्य प्रतिकृया जनाएँ ।
“कहाँ त्यसो भनेर हुन्छ ? संस्कृति भनेर जङ्गली युगमा फर्कने त ? अ‍ेमेरिका, जापानले सानो कम्प्युटरको सहाराले विश्वलाई नियन्त्रण गरिरहेको बेला हामी भने उही बाजा, उही नाच, उही इँटा–ढुङ्गाले छापेको बाटो र उही मठ–मन्दिर भनेर बसेका छौँ । हामी कहिले विकसित देशका नागरिक हुने हँ ?”
साथीको बुझाइमा केही समस्या भएको मानेँ । गरिरहेको काम एकछिन थाँती राखेर आफ्नो धारणा राखेँ, “यहाँका जनताले भार्वाचोको ऐतिहासिक ध्वाका (ढोका) निर्माण गर्दा तिमीले गर्व गर्ने अमेरिकाका आदिवासी नागरिकहरू जङ्गली जीवन बिताइरहेका थिए, विश्वको शान यहाँको पाँचतले मन्दिर बनेको समयमा अमेरिकी जनता स्वतन्त्रता आन्दोलन लड्दै थिए । तिमीले भनेका विकसित देशका जनता हिलोमैलोमा हिँडेको समयमा यहाँका जनताले बाटोमा ढुङ्गा र इँटा छापेका थिए, ढल व्यवस्था मिलाएका थिए । राइट दाजुभाइले हवाइजहाजको परिकल्पना नगरेको समयमा यहाँका जनताले वायुपङ्खी जहाज आकासमा उडाएको साहित्य लेखिसकेका थिए । अब भन कुन देशले पहिला विकासको ढोका खोलेको थियो, कुन देश पहिला समृद्ध थियो ?”
दस्तखत गरेका कागजातहरू कार्यालय सहयोगीलाई दिँदै मैले मेरा मित्रलाई भनेँ, “यहाँका प्राचीन ढुङ्गेधारा, सत्तल, पाटी भत्काएर सडक पीच गरेपछि मात्र विकास हुने हो र ? यहाँका लाखौँ रोपनी उर्वर भूमिमा एकैचोटी डोजर चलाएर अग्ला – अग्ला ढलान घर बनेपछि विकास हुने हो ? कि पेरिस डाँडा, स्वीट्जरल्यान्ड डाँडा र दार्जिलिङ हाइट नाम राखेपछि विकास भनिने हो ?”
“वडाध्यक्षसँग कुरा गरेर कहाँ जित्न सकिएला र ? मेरो रिस चाहिँ यी टुप्पे बाहुनसँग हो क्या ¤” सँगै रहेको साथीलाई चोर औँला देखाउँदै उसले व्यङ्ग्य ग¥यो, “धर्मको नाममा श्राद्ध गराउने, दान दक्षिणा लिने, छुवाछूत र भेदभाव गर्ने, देवता र राक्षसका कुरा गरेर अन्याय गर्ने यी बाहुनहरूले यो समाजलाई माथि उठ्न नदिएका हुन् क्या ¤”
“के भन्छस् ए पादरी ¤” अघिदेखि मोबाइलमा फेसबुक चलिरहेको साथी कड्कियो, “अहिलेको जस्तो संविधान र अदालत नभएको समयमा तत्कालीन समाजलाई अनुशासनमा राख्न बनाइएको नियम हुन् ती सबै ¤ अब त समयसँगै धेरै कुरा बदलिएका छन् नि ¤ हामीले भन्दा तिमी पादरीहरूले धेरै भेदभाव गर्छौ है ¤ नभए अस्तिमात्र अमेरिकामा काला जातिका जर्ज प््mलोयडलाई निर्ममतापूर्वक किन माथ्र्यौ र ? हामीभन्दा बढी भूतप्रेत अनि पूर्व जन्म र पुनर्जन्ममा विश्वास गर्ने तिमीहरू नै त हौ । म संस्कृत भाषाको विद्यार्थी भनेर हेपेका हौला, मैले रामायण, वेद, गीता मात्र होइन, तिमीहरूको बाइबल पनि पढेको छु, त्रिपिटक र कुरान पनि पढ्न थालेको छु । के फूर्ति गर्छौ ?”
बाल्यकालदेखि सँगै हुर्के–बढेकाले उनीहरू एक आपसमा अनौपचारिक भाषा पनि प्रयोग गर्छन् भन्ने मलाई थाहा छ । सार्वजनिक कार्यालयमा नै अभद्र भइदेलान् भन्ने मात्र डर थियो ।
“तिमी बाहुनहरू बाँचेको बेला एक पैसा खर्च गर्न कन्जुस्याइँ गर्ने, अनि मरेपछि वैतरणी तरेर स्वर्गवास भइन्छ भनेर भएभरको खर्च गराउने अन्धविश्वासी हौ ¤”
“तिम्रो पोल खोल्न नपरोस् नि फेरि ¤ बिरामीको सित्तैमा उपचार गराइन्छ, धर्मका नाममा विदेश घुम्न र छात्रवृत्तिमा पढ्न पाइन्छ भनेर पादरी बनेका होइनौ ? मलाई थाहा नभएको हो र ?”
“जथाभावी नबोल है टुप्पे । मैले बाउबाजेको धर्म परिवर्तन गरी यो धर्ममा गएपछि तिमीहरूले जस्तै धर्मकर्मको नाममा कुसंस्कार अङ्गाल्न पनि परेन र चाडपर्वको नाममा धेरै खर्च गर्न पनि परेन ।”
“धर्म परिवर्तन गरेपछि अहिले नै समाजमा एक्लिएका छौ पादरी ¤ भोलि आपत् पर्दा गा¥हो होला नि ¤ बेलैमा विचार गरेस् ¤”
“मलाई तिमीहरूको अन्धविश्वासी समाज चाहिँदैन टुप्पे । मेरोमा त थुप्रै चर्च र मण्डलका साथीहरू आउँछन्, सबै सहयोग गर्छन् । मर्दापर्दा तिनीहरू भए पुगिहाल्छ ¤”
“धेरै घमण्ड नगर है पादरी ¤”
साथीहरूको आपसी विवादले चर्को रूप लिन खोजेको अनुभव भयो । तत्काल दुवै साथीहरूलाई शान्त रहन आग्रह गरेँ । प्रसङ्ग मोड्दै मैले दुवैको घरपरिवारको अवस्थाबारे जानकारी लिएर बिदावारी गरेँ ।
धर्मको कुरा निस्कनासाथ बिरालो र मुसाझैँ झगडा गर्ने ती साथीहरू अघिपछि भने ढुकुरको जोडीझैँ मिल्छन् ¤ कार्यालयबाट दुवैजना हात समाउँदै बाहिर निस्केका थिए ।
महिना दिनअघिको प्रसङ्ग यहाँ यसकारण कोट्याएँ कि आज बिहान सबेरै ‘पादरी’ साथीको श्रीमतीको निधन भएको खबर पाएँ । ‘टुप्पे’ साथीलाई उसकै घरबाट मोटरसाइकलमा राखेर दुवैजना अस्पताल दौडियौँ । अस्पतालको मूल गेटमा ‘पादरी’ एक्लै रोइरहेको थियो ।
‘पादरी’ले घटना विवरण बतायो, “राति सुतिरहेको मान्छे अचानक उठेर रिङ्गटा लाग्यो भनिन् । एकछिन बेडमै आराम गरिन् । मैले हात समाएर उनलाई शौचालय लान खोज्दा भ¥याङमा चिप्लिएर दुवैजना नराम्ररी लड्र्याँे । मलाई सामान्य चोटमात्र लाग्यो, तर उनको टाउको ढलान गरिएको सिँढीमा बजारियो र उनी बेहोस भइन् ।” उसले यति मात्र भन्न नभ्याउँदै गहभरि आसँु भरियो ।
त्यतिबेला ‘पादरी’ले अरू केही सोच्न सकेन, चर्चका साथीहरूलाई मात्र डाक्यो । हामी वा टोलका दाजुभाइलाई सम्झने कष्ट गरेन वा भनौँ त्यतिबेलाको परिस्थितिमा उसले होस् पु¥याउन सकेन ।
चर्चका मान्छेहरू हुल बाँधेर आएका रहेछन् । बिरामीको नाडी छामेछन् मात्रै । त्यसपछि बिरामीलाई चारैतिरबाट घेरेर सबैजना प्रार्थना गरिबसेछन् । बिरामीको अवस्था बुझ्ने र अस्पताल लग्ने कुरै गरेनछन् । प्रार्थना गरेपछि निको हुन्छ भन्ने विश्वासमा बसेका रहेछन् ¤ घण्टौँ प्रार्थना गर्दा पनि बिरामी होसमा नआएपछि अस्पताल लगियो । डाक्टरले ‘पादरी’लाई श्रीमती पाँच घण्टा अगाडि नै बितेको ठहर गर्दै पोस्टमार्टम गर्नुपर्नेमा जोड दिएका रहेछन् । हत्याको आशङ्का गरिएको जस्तो लाग्यो ।
‘पादरी’ ले ‘टुप्पे’को हात जोडसँग समात्यो र भन्यो, “म वास्तवमै धर्ममा अन्धो भएको थिएँ । मैले समयमै तिमीहरूलाई बोलाएको भए वा श्रीमतीलाई अस्पताल ल्याइपु¥याएको भए आज यो दिन देख्न पर्दैनथ्यो होला ¤ मैले ठूलो गल्ती गरेँ टुप्पे ¤”
‘पादरी’ को गल्तीप्रति हामी दुवैलाई रिस त उठेको थियो तर उसको पीडादायी रोदन देखेर हामी बोल्न सकेनौँ । ‘पादरी’लाई सहानुभूति दिने बाहेक हामीसँग उपाय थिएन ।
निकै समयपछि टोलका केही अग्रजहरू अस्पताल आइपुगे । उनीहरूसँगै ‘पादरी’को तीन वर्षीय छोरा पनि थियो । बच्चाको कपाल मुण्डन गरिएको थियो । टोलवासीहरूले छोरालाई टोलकै मन्दिरमा ब्रतबन्धको औपचारिकता पूरा गरेर मृतक आमाको लासमा दागबत्ती दिन तयारी गराएका थिए ।
‘पादरी’ मौन थियो । ‘टुप्पे’ र मैले थप सम्झाउन आवश्यक ठानेनौँ । अस्पतालबाट मृतकको शव बुझेर स्थानीय संस्कारअनुसार नै घाटमा जलाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *