जनताको हितको निम्ति काम गर्नेबाहेक अरु उद्देश्य राखेर हामीले कहिल्यै राजनीति गरेनौँ : अध्यक्ष रोहित
- भाद्र २८, २०८३
भक्तपुर, २९ भदौ । ६२ औँ बाल दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा ‘मेयरसँग बालबालिका’ कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बालबालिकाले प्रत्यक्ष संवाद गर्दै विभिन्न विषयमा जिज्ञासा तथा प्रश्न राखेका थिए ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर देशकै बढी जनघनत्व भएको तथा क्षेत्रफलका हिसाबले सानो नगरपालिकामध्ये एक रहेको उल्लेख गर्दै भक्तपुरलाई जीवित सङ्ग्रहालय, नाचगानको राजधानी तथा फूलजस्तै सुन्दर सहरका रूपमा चिनिने बताउनुभयो ।
भक्तपुरका मूर्त तथा अमूर्त सम्पदा नगरवासीको पहिचान र अमूल्य सम्पत्ति भएको बताउँदै उहाँले लोपोन्मुख तथा लोप भइसकेका धेरै सम्पदालाई पुनर्जीवन दिने कार्य नगरपालिकाले गर्दै आएको जानकारी दिनुभयो ।
शिक्षा क्षेत्रमा भक्तपुर नगरपालिकाले प्राथमिकताका साथ लगानी गरिरहेको बताउँदै उहाँले नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङलगायतका कलेजप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो । उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले नगरपालिकाले शैक्षिक ऋणको समेत व्यवस्था गरेको बताउँदै ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्यले नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
ख्वप अस्पतालको स्वास्थ्य सेवाले नगरवासीलाई सहज बनाएको र स्वास्थ्य बीमामार्फत सेवा उपलब्ध गराउँदै आएको बताउँदै सामुदायिक र संस्थागत विद्यालयबिचको शैक्षिक भेद अन्त्य गर्दै समान शिक्षामा जोड दिँदै आएको बताउनुभयो ।
बालबालिकाको प्रश्नको जवाफ दिँदै नगर प्रमुख प्रजापतिले शिक्षा र रोजगारीमार्फत युवा, विद्यार्थी र महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन भइरहेको जानकारी दिँदै प्रविधिको प्रयोगसँगै एआईसम्बन्धी तालिम, बालबालिकाको सुरक्षाका लागि आत्मरक्षा तालिमलगायतका कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा उपस्थित बालबालिकाले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूको शैक्षिक विशेषता, भक्तपुरको शिक्षा मोडल, विद्यालयमा प्रविधि तथा एआईसँग जोडिने कार्यक्रम, बालबालिकाको सुरक्षा र बाल अधिकारको सुनिश्चितताबारे जिज्ञासा राखेका थिए ।
नगर प्रमुख प्रजापतिले बालबालिकाका जिज्ञासा स्पष्ट पार्दै उनीहरूका गुनासो सम्बोधन गर्न नगरपालिका निरन्तर प्रयासरत रहेको बताउनुभयो । उहाँले इमानदार, अनुशासित र जिम्मेवार विद्यार्थीले सभ्य तथा सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै भक्तपुरमा समान शिक्षा र समान व्यवहारलाई जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले शिशुहरूको लागि शिशुस्याहार केन्द्रदेखि ज्येष्ठ नागरिकहरूको हेरचाहको लागि आदर निकेतन सञ्चालनसम्मको तयारी गरेको बताउँदै उहाँले देश र जनताको पक्षमा गरिने राजनीतिले नै देशलाई सही दिशामा लैजाने धारणा राख्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले बाल दिवसको अवसरमा नगरपालिकाले हरेक वर्ष ‘मेयरसँग बालबालिका’ कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यस किसिमको कार्यक्रमले बालबालिकालाई नगर प्रमुखसँग प्रत्यक्ष भेटेर आफ्ना जिज्ञासा राख्ने तथा भक्तपुर नगरपालिकाका गतिविधि र भक्तपुरबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।
Leave a Reply