भर्खरै :

‘जब चीनले विश्वको नेतृत्व गर्नेछ’ बारे एक छलफल (खण्ड ५)

आधुनिकताको प्रतिस्पर्धा – ३
खाना
पूर्वी एसियामा म्याक्डोनाल्ड (McDonald’s) को फैलावटका आधारमा पश्चिमाकरणको वृद्धिदर मापन गर्नु फेसन बनेको छ । सन् २००८ मा चीनमा ९५० म्याक्डोनाल्ड स्टोर थिए । सन् २००४ मा जापानमा झन्डै ३,५०० र मलेसियामा ३०० थिए । स्टारबक्स, केएफसि र पिज्जा हटका अनगीन्ति शाखाहरू यस क्षेत्रमा छन् । सन् २००८ मा चीनमा के एफसीका २,२०० शाखा र सन् २००६ मा १४० पिज्जा हट थिए ।
पूर्वी एसियाका बहुसङ्ख्यक जनता आफ्नो मुलुकको स्थानीय खाना खान्छन् । पश्चिमा फास्टफूडमध्ये सबैभन्दा चर्चित स्यान्डविच पनि सीमित सङ्ख्याले मात्र खान्छन् । पश्चिमा खानाका पारखीहरू पनि पश्चिमा फास्टफूडमात्र खाँदैनन् । यस विपरीत चिनियाँ तथा जापानिज फास्टफूड रेष्टुराँ (सुसी बार र नुडल्सबार) भने जहाँतहीँ भेटिन्छन् ।
लेखक के.सी. च्याङ्गले आफ्नो पुस्तक ‘फूड इन चाइनिज कल्चर’ मा लेखेका छन्, “खानाको माध्यमबाट मानव संस्कृति बुझ्न यसको विविधताको महत्वपूर्ण भूमिका हुन्छ – विविधता जसले जीवन निर्वाहमा महत्वपूर्ण योगदान गर्दैन ।” साथै मानिसहरू खानाप्रति अत्यन्त लगाव र आत्मीयता राख्छन् ।

पूर्वी एसियाको खानाको परम्पराको सन्दर्भमा भाषाजस्तै चीनसँग विश्वकै उत्कृष्ट र परिष्कृत खाना परम्पराको अनुभव छ । चीनको खाना संस्कृति अत्यन्तै लामो लिखित इतिहास भएको संस्कृति हो । चिनियाँहरुले आफ्नो खानाको विविधताको भण्डारको आकार ठूलो बनाएका छन् । प्रयोगको आधारमा चिनियाँ खानाले स्थानीयपनको स्वाद भिन्न बनेको हो । मुलुकको आकार र जनसङ्ख्याको आकारका आधारमा चीनमा पाइने खानाको विविधता आश्चर्यजनक होइन । धेरै अघिदेखि चिनियाँ खानामा विदेशीहरूले पनि प्रवेश पाउन थाले । दक्षिण एसियाबाट गहुँ, भेँडा र बोकाको मासु, पाँचौँ शताब्दीबाट अमेरिकी मकै र सखरखण्डले चिनियाँ भान्छामा प्रवेश पायो । यसले चिनियाँ खाना संस्कृतिको आकार निर्माण गर्न सहयोग पु¥यायो ।
उपलब्ध वनस्पतिको ज्ञानबाट चिनियाँहरूको खाना खाने विशेषतामा लचकता भएको बुझिन्छ । खराब बाली र अनिकालको समयमा चिनियाँहरूले खान मिल्ने सामग्रीको राम्रो अध्ययन गरेका छन् । यसको परिणामस्वरूप चीनमा निकै अनौठो खाद्य सामग्री र संरक्षित (प्रिजर्भड्) खाना धेरै पाइन्छ । चिनियाँ खाना संस्कृतिको आधारको रूपमा यिङ्गयाङ्ग (Yin-Yang छ । जसले खाने स्वस्थ तरिकालाई प्राथमिकतामा राख्छ । ईसा पूर्व ११२२–२५६ सम्म चीनमा राज गरेको चाउ (Zhou) वंशका सम्राट स्वयम्ले राखेको अभिलेखले भान्छाको महत्व दर्शाउँछ । त्यस बखत दरबारमा काम गर्ने झन्डै ४,००० कर्मचारीमध्ये २,२७१ जना खाना र पिउने व्यवस्थामा खटिन्थे । के. सी. च्याङ्गका अनुसार, चिनियाँ खानामा नविन खोज हुनुको मुख्य कारण खाना चिनियाँहरूको जीवनशैलीकै केन्द्रीय महत्वको विषय हो ।
यहाँ चिनियाँ चियाको प्रसङ्ग सान्दर्भिक हुन्छ । कहिलेदेखि चिया खान थालियो भन्ने इतिहास स्पष्ट छैन । ताङ्ग वंशको बेला यो अभ्यास अत्यन्त विकसित भइसकेको तथ्य पाइन्छ । चीनमा चिया खाने परम्परा युरोपमा वाइन खाने परम्पराजस्तै परिष्कृत, विविधतायुक्त, विवेकी र गम्भीर प्रकृतिको छ । परम्परागत चिया घरको तुलनायोग्य कुनै व्यवस्था युरोपेली परम्परामा छैन । यद्यपि, कफिप्रतिको आकर्षण बढ्दो छ तर चिया राष्ट्रिय पेय पदार्थको रूपमा स्वीकार्य छ ।
तसर्थ म्याक्डोनाल्डजस्तो उदाहरण दिई चिनियाँ खाना पश्चिमाकरण भयो भन्नु जायज हुँदैन । चिनियाँ खानामा पश्चिमा चिजबिजको प्रभाव भए पनि सीमितमात्र छ । पहिरन वास्तुकलाको तुलनामा चिनियाँहरूको आफ्नो खानाप्रतिको मोहका कारण दक्षिणपूर्वी एसियादेखि अमेरिकासम्म आज पर्यन्त चिनियाँ खाना नै उनीहरूको मुख्य खानाको रूपमा रहेको पाइन्छ ।
जापानी खानामा भने पश्चिमा प्रभाव धेरै देखिन्छ । मेइजी पुनःस्थापनासँगै जापानमा सुरु भएको पश्चिमा खानामा आधारित खाद्य परिकारको सूची लामो छ । उन्नाइसौँ शताब्दीको अन्त्यतिर फ्रान्सेली खाद्य परिकार र पहिलो विश्वयुद्धपछि पश्चिमा परिकार जापानी मध्यम वर्गको भान्छामा व्यापक भयो र त्यसले स्थानीयपनको आकार ग्रहण ग¥यो ।
जबकि पूर्वी एसियाली भाषाहरू यस क्षेत्रमा व्यापकरूपमा बोलिन्छ तर बाहिर खासै बोलिँदैन, खानाको हकमा यो लागु भएन । गरिब प्रवासीहरूले आफ्नो खाना संस्कृतिसँगै लिएर गए । उदाहरणका निम्ति विश्वको कुनै पनि कुनामा बहुसङ्ख्यक चिनियाँ प्रवासीहरूको मुख्य व्यवसाय नै चिनियाँ रेष्टुराँ बनेको छ । जवकि पूर्वी एसियामा युरोपेली खानाको प्रभाव अत्यन्त सीमित छ, उपनिवेशका कारण बसाइ सरेका एसियालीहरूको सहयोगमा खानामा पूर्वको प्रभाव पश्चिममा बढी देखिन्छ । पश्चिममा चिनियाँ, जापानी, भियतनामी, थाई, कोरियाली र मलेसियाली रेष्टुरेन्टहरूको व्यापक उपस्थिति देख्न पाइन्छ । तसर्थ, खानामा पश्चिमाकरणको सट्टा एसियालीकरणभन्दा उचित होला । यसका प्रमुख कारण बसाइसराइसँगै पूर्वमा युरोप र संरा अमेरिकाको तुलनामा अत्यन्त समृद्ध र गुणस्तरीय खाद्य परिकार हुनुपर्छ । संसारको सबैभन्दा ठूलो उपनिवेशवादी मुलुक बेलायतमा खानाका परिकारको शून्यता दोस्रो विश्वयुद्ध पछि, इटालियाली र फ्रान्सेली खानासँगै चीन र भारतका परिकारहरूले भरिदिएको थियो । यही स्थिति संरा अमेरिकाको पनि बन्यो । युरोपेली र एसियाली परिकारहरूको वर्णशङ्कर बन्यो संरा अमेरिकी भान्छा । तर, पूर्वी एसियाली मुलुकका भान्छामा भने केही परिकारमा भएको परिवर्तनबाहेक मूलतः स्थानीयपन कायम रह्यो ।
राजनीति र शक्ति
पश्चिममा के विश्वास गरिन्छ भने सबै खालको राजनीतिक प्रणाली अन्तत्वगत्वा एकै खालको प्रणालीमा परिणत हुन्छ । त्यो पश्चिमा शैलीको प्रजातन्त्र हो । जुनसुकै स्थानमा शक्तिको अभ्यास एकै किसिमबाट हुनुपर्छ भन्ने अर्को धारणा पनि छ । वास्तवमा एक समाजबाट अर्को समाजमा राजनीतिक शक्ति भिन्न हुन्छ । कुनै देशको राजनीतिक नेतृत्वलाई अन्य देशका जनताले सम्मान गर्न त सक्छ तर राजनीतिक जनमत र शक्तिको अभ्यास गर्न विशेषतः राष्ट्रियता र साँघुरो घेरामा जरा गाडेको हुनुपर्छ ।
पश्चिमा समाज र पूर्वी एसियाली समाजमा शक्तिको प्रकृति नितान्त भिन्न छ । पश्चिम समाजलाई व्यक्तिगत स्वतन्त्रता र पहिचानको खोजीले डोे¥याउँछ । पूर्वी एसियाली संस्कृति (कन्फ्युसियसको सिद्धान्तमा आधारित संस्कृति) मा भने समूहको पहिचानमा व्यक्तिको चाहनाले डोे¥याउँछ । समूहको एक सदस्यका रूपमा आफ्नो पहिचानको पुष्ट्याइँ र मान्यता खोज्छ । पश्चिमा संस्कृतिमा राज्यको अवधारणा उपयोगको सिद्धान्तमा आधारित छ । मतदाताको सहयोगमा निर्माण भएको सरकारले उनीहरूको फाइदाको लागि केही कार्य सम्पादन गर्नुपर्ने धारणा छ । पूर्वी एसियाली राजनीति भने भिन्न छ । तुलनात्मकरूपमा यहाँ सरकारको गतिविधि अपारदर्शी रही आएको छ । शक्ति र जिम्मेवारीको अवधारणालाई छुट्याइएको छ । महत्वपूर्ण उपलब्धिहरू हासिल गर्न राज्यको भूमिका सीमित छ, धेरै भूमिका मानवीय क्षमता बाहिरको शक्तिले निर्धारण गर्छ , कारण र असरबीचको सम्बन्ध जटिल छ भन्ने धारणा छ । उपयोगको सिद्धान्तविपरीत शक्तिलाई नै अन्तिम मूल्यको रूपमा लिइन्छ । यो धारणा समाजको एकमुष्ठ हितसँग आत्मीयताका साथ जोडिएको हुन्छ । आधुनिकता र आर्थिक वृद्धिको चापमा समाज उपयोगवादी दृष्टिकोण बनाउन बाध्य हुँदा पनि सरकारबारे पुरातन ढङ्गको दृष्टिकोण बलियोसँग जरा गाडेर बसेको छ । जापान, मलेसिया र सिङ्गापुरमा नियमित निर्वाचन हुनेबाहेक यस क्षेत्रका अन्य धेरै मुलुकहरूमा पितृसत्तात्मक ढाँचाका एक दलीय पार्टी प्रणाली कायमै रहेको छ ।
दक्षिण पूर्वी र उत्तर पूर्वी एसियाली मुलुकमा कन्फ्युसियस सिद्धान्तमा आधारित र अन्य मुलुकमा भिन्नता पाइन्छ । चीन, जापान, कोरिया, थाइवान र भियतनाम आदि कन्फ्युसियस विचारका समाज हुन् । शासकहरूले आफूलाई दैवीशक्तिबाट अधिकार प्राप्त दाबी गर्ने अन्य समाजको तुलनामा कन्फ्युसियसको दर्शन नैतिकताको आधारमा स्थापित हुन्छ । सहिष्णु र सन्तुलित समाज निर्माण गर्ने बृहत् उद्देश्यसहित यस क्षेत्रका राजनैतिक संरचना पनि समाजको संरचनाजस्तै स्थापित छन् ।
चीनमा समाज र सरकार दुवै परिवारको नमुनामा आधारित छन् । व्यक्ति समाजको एक अङ्गजस्तै नै राज्यको पनि एक हिस्साको रूपमा ग्रहण गर्छ – परिवारको एक सदस्यजस्तै । प्रमुखतः कन्फ्युसियन परिवारका दुई विशेषता हुन्छन् । पहिलो, वंशजको धर्म, जहाँ सन्तानले पिताको अधिकारको सम्मान गर्छन् र पिताले परिवारको हेरविचार गर्छन् । राज्य पनि परिवार जसरी नै व्यवस्थित गरिने हुँदा राज्यको पिताको रूपमा राजवंशको समयमा सम्राटलाई पनि प्रेरणाको स्रोतका रूपमा लिन्थे । दोस्रो, चिनियाँहरू त्यति धार्मिक थिएनन् तर पितृको आत्मा स्थायी रहने विश्वास गर्छन् । पुर्खा (पितृ) को पूजा गर्नु वंशको निरन्तरताप्रति आस्था र हाल जीवित सदस्यहरूको नम्र प्रकृतिको प्रतीक हुन्छ । पुर्खाको आत्माप्रतिको आस्थाले राज्यलाई अमर संस्थाको रूपमा आदर गर्न सिकाउँछ । जसले चिनियाँ सभ्यताको निरन्तरताको प्रतिनिधित्व गर्दछ । चीनमा परिवारको नाम व्यक्तिको नामभन्दा सधैँ अगाडि राख्ने प्रचलनले चिनियाँ संस्कृतिमा परिवारको महत्व दर्शाउँछ ।

कन्फ्युसियन समाजमा अनुशासित बनाउने परिवारको सदस्यको रूपमा सामाजिकीकरण गर्ने प्रक्रिया यथावत छ । बालबालिकाहरु आफूसहित प्रत्येकको आफ्नो स्थान रहेको स्वीकार गर्न सिक्छन् । परिवारको एक सदस्यको जिम्मेवारीकै विस्तृत रूप एक नागरिकको पनि भूमिका र दायित्वबारे सिक्छन् । परिवारबाट नै सामूहिकताको महत्वबारे बुझ्छन् र व्यक्तिगत स्वार्थलाई सधँै दोस्रो प्राथमिकतामा राख्न सिक्छन् । कन्फ्युसियन समाजमा परिवारबाट सामाजिकीकरण हुने प्रक्रियामा अनुशासन व्यक्तिको आन्तरिक विषय बन्छ । जबकि यसको विपरीत पश्चिमा समाजमा अनुशासनलाई धर्मका माध्यमबाट व्यक्तिको बाह्य रूपमा सिकाउने गर्दछ ।
यस शिक्षाले आफ्नो परिवार हुँदै, समाज, राष्ट्र र राज्यप्रति आफ्नोपनको गहिरो भावना विकास गरेको हुन्छ । विदेशी आक्रमणप्रति घृणा र अस्वीकृतिको भाव पनि यसै शिक्षाले प्रदान गर्छ । चीन, जापान, कोरिया, थाइवान, भियतनाममा देशभक्तिको बलियो भावना हुनुको एक कारणको रूपमा उपनिवेशवाद र पश्चिमा दबाबको परिणाम हुनसक्छ । तर, वास्तविकता यस क्षेत्रमा सामाजिकीकरणको मौलिक प्रक्रियाका कारण आफ्नो पहिचानप्रतिको आस्था, बाहिरियाप्रतिको अस्वीकार्यताको बलियो भावना हो ।
आफ्ना सदस्यको सुरक्षा र आत्मीयता प्रदान गर्नु परिवारको कर्तव्य हो । कन्फ्युसियन समाजमा राज्यको प्रमुख उद्देश्य बाह्य लक्ष्य हासिल गर्नु नभई आफ्नै राम्रोका निम्ति, आत्म–सम्भार र आत्म–स्थायित्व हुने गर्छ । तसर्थ यस्ता समाजमा सदा एकता र स्थायित्व, निरन्तरता, आत्मीयता र ऐक्यबद्धतालाई महत्व दिइन्छ । पश्चिममा राज्यको कृत्रिमताका तुलनामा कन्फ्युसियन समाजमा राज्य समाजकै एक अभिन्न अङ्गका रूपमा व्यावहारिक भएको अनुभव हुन्छ ।
पश्चिमाहरूलाई सांस्कृतिक भिन्नताका कारण कन्फ्युसियन राजनीतिक संस्कारको कदर गर्न र ग्रहण गर्न अत्यन्त कठिन हुन्छ । पूर्वी एसियाका राज्यहरूको राजनीति प्रायः सतहीरूपमा मात्र हेर्ने गरिन्छ । जापानमा नियमित प्रजातान्त्रिक निर्वाचनबाट राज्य सञ्चालन हुने भए पनि सरकार सञ्चालनको अभ्यास पश्चिमको तुलनामा भिन्न छ । सन् १९४९ मा चीनमा भएको क्रान्ति सफल भएपछि स्थापना भएको कम्युनिस्ट सरकारका कार्य मिहिन ढङ्गले नियाल्दा चिनियाँ इतिहासको निरन्तरताको धागो पहिल्याउन सकिन्छ । चीन र जापान दुवै मुलुक संस्कृतिमा आधारित राजनीतिका उत्कृष्ट उदाहरण हुन् ।
पश्चिमा चश्माबाट पूर्वी एसियाली राजनीति सञ्चालनका गुण अवगुण नियाल्दा गलत निष्कर्षमा पुगिन्छ । पश्चिममा निर्भरतालाई नितान्त नकारात्मक दृष्टिकोणबाट हेरिन्छ, पूर्वमा यसविपरीत यसलाई सकारात्मकरूपमा लिइन्छ । पूर्वी एसियाली राजनीतिमा निर्भरता र वंश प्रणालीको सिद्धान्त हुँदै सर्वसत्तावादी र एकदलीय सरकारतिर जाने शैलीलाई नकारात्मकरूपमा लिइन्छ । अर्को दृष्टिकोणबाट नियाल्दा यस्तो सरकारको नेतृत्वप्रति जनताको गहिरो आस्थाको सहायताले महत्वपूर्ण कार्य गर्ने क्षमता राख्दछ । पूर्वी एसियाका नेतृत्वमा जनताप्रतिको उत्तरदायित्वको भावनाले कार्य गर्ने हुँदा जनताको सहज पहुँच भएको पाइन्छ ।
लामो इतिहासको जगमा बनेको पूर्वी एसियाली राजनीतिको विशिष्ट चरित्र आधुनिकतासँगै केही हदसम्म थप बलियो बनेको छ । उपनिवेशवादविरुद्धको विचारको आवश्यकता कम भएसँगै परम्परागत वंशजको मनोवृत्ति पुनरावृत्ति भएको छ । पूर्वी एसियामा सबैभन्दा कम परिवर्तन भएको, कम प्रभाव परेको क्षेत्र परिवारको मूल्य मान्यताले यस क्षेत्रको राजनीतिलाई आकार दिने महत्वपूर्ण भूमिका खेलेको कारण त्यहाँको राजनीतिक विशिष्टतामाथि प्रहार गर्न झन्डै असम्भव बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *