फर्कनेको होइन, बिदेसिनेको लर्को
- भाद्र १०, २०८३
देशको लागि आवश्यक रासायनिक मल ल्याउन नसकेको कारण नेकपाको नेतृत्वमा बनेको सरकारको बदनाम भयो, कृषिमन्त्रीको त राजीनामा माग नै भयो । कृषिप्रधान देशमा रासायनिक मल ल्याउन नसक्ने नालायक कृषिमन्त्री किन लाज पचाउँदै मेचमा आसीन छन् भनी विरोध पनि भयो । रासायनिक मल ल्याउन नसक्नुमा सरकार र कृषिमन्त्री नै जिम्मेवार छन् । मल ल्याउनेतर्फ ध्यान नगएकै कारण यो समस्या देखिएको हो । पदको निम्ति पार्टीलाई चेतावनी दिनसक्ने, आन्तरिक कलहमा अल्झिरहन भ्याउने नेता, मन्त्री र सांसदहरू समयमै मल ल्याउनेतर्फ किन ध्यान पु¥याउँदैनन् ? मलको ठेक्का लिएका शैलुङ इन्टरप्राइजेज प्रालि ललितपुर र होनिको मल्टिपल प्रालिले समयमा मल नल्याएपछि घच्घच्याउने काम कृषिमन्त्रीले किन गर्दैनन् ? नेमकिपाले चार दसकदेखि नेपालमै रासायनिक मल कारखाना खोल्न माग गर्दै आए पनि सत्तासीन दलका नेता र मन्त्रीले बेवास्ता गरेका कारण प्रत्येक वर्ष मलको समस्या भइरहेको छ । विगतको वर्षभन्दा यो वर्ष झन् मल आउन ढिलाइ भएको छ ।
समयमा मल राख्न नपाएपछि धान उत्पादन स्वाभाविकरूपमा घट्छ । धानको बाला लाग्ने समय पुग्दा पनि मल नपाउनु देशकै दुर्दशा हो । यतिबेला ठेक्का लिएको कम्पनीले धोका दियो भनेर सरकारले बङ्गलादेशबाट मल लिने तयारी गरेको छ । तर, बङ्गलादेशबाट मल आयात गरे पनि धेरै ढिलो भइसकेको छ । उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्ने बेला उल्टो उत्पादन घटाएर देशलाई कहिलेसम्म खाद्यान्नमा परनिर्भर बनाइरहने हो ? सरकार र कृषिमन्त्रीको इज्जत जोगाउन के कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडले समयमा युरिया मल आपूर्ति नगरेका दुईवटा कम्पनीको धरौटी जफत गरी कालोसूचीमा राख्ने कानुनी प्रक्रिया अघि बढाएको होइन ? शैलुङ र होनिको कम्पनीको सबै सम्झौता खारेज गरेर धरौटी रकम जफत गर्न लागेको हो ? धक्का परेपछि, बदनाम भएपछि, कृषिमन्त्रीको राजीनामा मागसँगै व्यापक विरोध भएपछि मात्र कारखाना खोल्न सम्भाव्यता अध्ययन कार्यदल गठन गर्ने हो ?
कार्यदल गठन गरेर जनताको विरोध सेलाउने हो कि ! कार्यदलले गरेको अध्ययन, अनुसन्धान र खोजीनीतिपछि रासायनिक मल कारखाना खोल्न सुरसार नै कस्ने हो ? कार्यदल गठन गरेर गरिएको अध्ययन र अनुसन्धानको प्रतिवेदन दराजमा थन्काइराख्ने त होइन ? कतै अध्ययन, अनुसन्धान गर्दा गर्दै यो सरकारको आयु नै सकिने हो कि ? किसानको पिर मर्का बुझेर रासायनिक मल कारखाना खोल्न कृषिमन्त्रीको तडारुकता जरुरी छ । मल कारखाना स्थापना भए यो देशकै निम्ति ठूलो आम्दानीको स्रोत हुनेछ । यसले किसान र देशकै निम्ति ठूलो फाइदा हुन्छ ।
Leave a Reply