भर्खरै :

गरिबलाई मात्र होइन धनीलाई पनि छोड्दैन कोरोनाले

भक्तपुर नगरभित्र कोरोना सङ्क्रमित बढ्दै गएको समाचार छ । सङ्क्रमितहरूको भनाइमा भजन, भोज र मन्दिरबाट कोरोना फैलिएको प्रस्ट छ । निषेधाज्ञाको प्रचारप्रसार हुँदा पनि धनी किसानका महिलाहरूका बिनामास्क मन्दिर जाने क्रम रोकिएको छैन । तिनीहरूले मन्दिर जानुलाई ‘फेसन शो’ को रूपमा लिएका छन् । त्यसले कोरोना सङ्क्रमित थप हुने सम्भावना छ ।
निषेधाज्ञा भनिएको छ, तर ट्रक, ट्रिपर, मोटरसाइकल आदि वाहनहरू चालू छन् । यसमा व्यापारिक गाडीहरू धेरै छन् । ठूल–ठूला व्यापारीको मनमा होला, कोरोना गरिबलाई लाग्ने रोग हो । व्यापारी वर्गको बीचमा भ्रम फैलाइएको देखिन्छ । तर, वास्तविकता त्यो होइन । विनोद चौधरीजस्ता उद्योगपति, व्यापारीहरू कोरोना भाइरसको सिकार भए । अरू पनि छन् । रक्सी खाने पैसावाल मानिसहरू पनि धेरै सङ्क्रमित छन् । रक्सी र चुरोटले तिनीहरूको फोक्सो कमजोर भएको हुनाले उनीहरुमा सङ्क्रमण बढ्दो छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतीश मोर र चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउन माग गर्दै छन् ।
राति ९–१० बजेदेखि ३ बजेसम्म राजमार्गमा मात्र होइन आवास क्षेत्रमा समेत व्यापारिक गाडीहरूले जनतालाई सुत्न दिएका छैनन् ।
निजी क्षेत्रका यी अध्यक्षहरूले जनताको टोलटोलमा गएर खुकुलो भएपछि कोरोना बढ्छ भनी सम्झाउनु पो पर्छ ।
काठमाडौँ उपत्यका सानो छ तर घना जनसङ्ख्या छ । भारतबाट ट्रकहरूमात्र आएको होइन मान्छे पनि ओसारेका छन् । त्यसकारण कोरोना भाइरस काठमाडौँमा बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो बनाउने माग गर्नेहरूमा नेपाली काङ्ग्रेसका केही नेता र निजी क्षेत्रका केही अध्यक्षहरू हुन् ।
चिकित्सकहरूको सल्लाहभन्दा विपरीत कुरा गर्ने निजी क्षेत्रका साहु–महाजनका कार्यालयमा गएर जनताले उसको रहस्य बुझ्नु आवश्यक छ ।
भारतमा पनि २४ घण्टाभित्र ८०÷९० हजार सङ्क्रमितहरू देखिएका छन् । यस्तै हो भने अर्को महिनादेखि भारतमा हरेक दिन १–१ लाख सङ्क्रमित हुने सम्भावना धेरै छ । नेपालसँग खुला सिमाना भएकोले त्यसको असर नेपालमा पनि पर्छ ।
होटल, रेष्टुराँ र भट्टी
यसरी व्यापकरूपमा कोरोना फैलिएको हुँदा होटल, रेष्टुराँ र भट्टीमा पनि नगरपालिकाले बरोबर निरीक्षण गर्नु आवश्यक छ । निरीक्षण गर्नुको अर्थ सरसफाइ ठीक छ कि छैन, काम गर्ने मानिसको सफा, लुगा, मास्क छ कि छैन आदि हेर्नु आवश्यक छ । साथै खानेकुरा बासी हो कि हैन, भाँडाकुँडा माझ्ने ठाउँ सफा छ कि छैन, साबुन वा सरफ के प्रयोग गरिएको छ राम्ररी हेर्न आवश्यक छ ।
खाना खुवाउँदा वा चिया दिँदा दुरी कायम भएको छ कि छैन हेर्नुपर्छ । होटल, रेष्टुराँ र भट्टीले यी माथिका कुरा ध्यान दिए कोरोना फैलिनबाट रोक्न सहयोग पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *