भर्खरै :

सङ्कटको बेला मन्त्री र अधिकारीहरू कमाउधन्दामा

रोगभन्दा भोकको पिरले नेपाली युवा विदेशमा आफ्नो पसिना बेच्न बाध्य छन् । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको असरले विश्व श्रम बजार सुस्ताएपछि भारतलगायत अन्य देशबाट नेपालीहरू फर्कनेको लर्को लागेको छ । गत चैत ११ गतेदेखि देशव्यापी लकडाउनका कारण सरकारले केही दिन सीमा नाका बन्द गरेको थियो । भारतबाट महिनौँ पैदल हिँडेर नेपाली युवाहरू निकै दुःख, कष्ट सहँदै आफ्नो देश फर्किए । स्वदेश फर्किएका ती युवाहरूलाई बिनापरीक्षण घर जान दिँदा आज कोरोना सङ्क्रमण भयावह भयो । सरकारले ४ महिनाको लकडाउनमा नियन्त्रणका लागि कुनै ठोस कदम चालेन । उल्टै नियन्त्रणको नाममा निषेधाज्ञा जारी भयो । लकडाउन र निषेधाज्ञाले काम गरी खाने जनताले काम नपाउँदा बेखर्ची भयो । आफ्नो परिवार पाल्नसमेत धौ धौ भएपछि सुदूरपश्चिमका हजारौँ युवा कामको लागि पुनः भारत गइरहेका छन् ।
नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम निकै तामझामका साथ सुरु ग¥यो । श्रमिकलाई आजीवन पेन्सन दिने भनी सामाजिक सुरक्षा कार्यक्रम लागू ग¥यो । हालै श्रमिक सूचना बैङ्क पनि स्थापना गरिएको छ । यी सबै युवाहरूका लागि काम दिन बनाइएका कार्यक्रम हुन् । तर, घोषित कार्यक्रम नारामा मात्र सीमित हुँदा युवाहरूले काम पाएनन् ।
हालसम्मका सरकारले आफ्नै देशमा काम नदिँदा ७० लाख युवाहरू वैदेशिक रोजगारीको नाममा विदेशिन बाध्य छन् । विश्वका ११० देशमा कार्यरत नेपाली युवाहरूको पसिना सरकारका नेता र उच्च अधिकारीहरूको लागि कमाउधन्दा बनेको छ ।
विदेशमा सात महिनादेखि काम नपाएका युवाहरूले स्वदेश फर्कनका लागि नेपाल सरकारलाई गुहारिरहेका छन् । सरकार युवाहरूलाई स्वदेश फर्काउने नाममा विभिन्न चलखेलमा लागेको छ । स्वदेश फर्कने युवाहरूलाई हवाई भाडा दोब्बर लिइनुका साथै होटल बसाइमा कमिसन खाइरहेको चर्चा छ ।
सीमित म्यानपावर कम्पनीलाई मात्र कामदार पठाउन मिल्ने गरी सिन्डिकेट लाद्ने काममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री आफँै लागेको समाचार छ । कोरोना फैले पनि कतार सरकारले रोजगारी खुला गरेकोले कामदार आपूर्ति गर्ने आपूर्तिकर्ता र कतार भिसा सेन्टरका सञ्चालक हेम गुरुङसँग मिलेर कामदार आपूर्तिको नाममा मन्त्री आफँै कमाउधन्दामा लागेको हुँदा ‘….लाई भन्दा देख्नेलाई लाज’ भएको छ । पुँजीवादी पार्टीका सांसदहरू मन्त्री बन्नका लागि किन मरिहत्ते गर्छन् भन्ने कुरा यस घटनाबाट स्पष्ट हुन्छ । वार्षिक १ लाखभन्दा बढी कामदार आपूर्ति गर्दा कति कमाइन्छ ? मन्त्री आफैँले हिसाब राख्छन् होला । भनिन्छ, सिंहदरबार र बालुवाटार ठगहरूको घेरामा पर्दै गइरहेको छ ।
साउदी अरबमा सात महिनादेखि काम नपाएका नेपालीहरू स्वदेश फर्कन नेपाल सरकारलाई गुहारिरहेका छन् । तर, सरकार सुने नसुनेझैँ गरिरहेको हुँदा सरकारको राजिनामा माग गर्दै गत आइतबार उनीहरूले दूतावास अगाडि नाराबाजी गरे । युवाहरू भोक र रोगले पीडित बन्दै गएपछि विकल्प नपाएर सडकमै नाराबाजीमा उत्रेका हुन् । १२ हजारभन्दा बढी युवाहरू आफ्नै खर्चमा नेपाल फर्कन चाहन्छन् । तर, सरकारका मन्त्री तथा अधिकारीहरू विमान चार्टरको नाममा कमाउधन्दामा लागेकाले दूतावास र नेपाल सरकारकै विरोध भयो ।
उता लेवनानको बेरुतमा भएको विस्फोटनपछि अलपत्र र कामविहीन नेपाली युवाहरूले स्वदेश फर्कनका लागि सरकारलाई गुहारिरहेका छन् । सरकार कानमा तेल हालिरहेको अवस्था छ । त्यहाँ पनि नेपाली युवाहरूले भएर स्थानीय सञ्चारमाध्यममार्फत यस्तै आवाज उठाइरहेका छन् ।
भिसा अवधि सकिएका र कामबाट निकालिएका कतार, यूएई, कुवेतलगायतका नेपाली युवाहरूको दुःख पनि उस्तै छ । सरकारले स्वदेश फर्कनको लागि विमान चार्टरको अनुमति दिइरहेको छैन । यी र यस्ता विषयमा नेपाल सरकारका मन्त्री र अधिकारीहरू कमिसनमै लागेका पछिल्ला उदाहरण हुन् ।
सरकारले यस वर्ष दुई लाख युवाहरूलाई रोजगारी दिने भनी प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि रु. ११ अर्ब ६० करोड छुट्याएको छ । ५० लाखलाई तालिम दिने नाउँमा १ अर्बभन्दा बढी बजेट विनियोजन गरियो । स्वदेश र विदेशबाट फर्किएका ८ लाख युवाहरूलाई रोजगारी दिन विभिन्न शीर्षकमा बजेट विनियोजन गरे पनि बेखर्ची युवाका लागि सरकारले न काम दिनसक्यो न राहत । सरकारले विनियोजित बजेटबाट कसरी आफू र आफ्ना आसेपासेको पेट भर्ने ध्याउन्नमै छ ।
६ महिनासम्मको यस अवधिमा सरकारले कोरोना र कमिसनको ‘क’ बाहेक अरु उच्चारण नै गरेन । सरकारले केही नगरेपछि सुदूरपश्चिमका युवाहरू मरे उतै (भारत) मरौँला, बाँचे परिवार पालौँला भनी दैनिक सयौँको सङ्ख्यामा सीमानाका पुग्दै छन् । सीप र जाँगर भएका पौरखी हातहरूलाई नेपालमै काम दिनुपर्छ । सरकारले काम दिएको भए कोरोनाको महामारी भएको भारतमा कामका लागि नेपालीहरू जाँदैनन् ।
भारतसँगको खुला सीमाकै कारण नेपालमा कोरोना सङ्क्रमण बढेको हो । सीमा नाका कडाइ गरी आवतजावत बन्द गर्नुपर्छ । नेपालीहरूलाई कृषि र घरेलु उद्योगका काममा स्वदेशमै रोजगारी दिनेतर्फ सरकार लाग्नुपर्छ । कोभिड–१९ ले अमेरिकापछि भारत भयावह अवस्थामा छ । भारतकै कारण नेपालमा पनि सङ्क्रमण भयावह नबन्ला भन्न सकिन्न । अतः सरकार कमाउधन्दा छोडेर नेपालीको जीवन बचाउने काममा लाग्नु आवश्यक छ । होइन भने काम गरी खाने जनताको बलले यस्तो सरकारलाई पाखा लगाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *