भर्खरै :

इराक, अफगानिस्तानबाट थप अमेरिकी सैनिक फिर्ताको तयारी

वासिङ्टन, २४ भदौ (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक थप कटौती गर्ने तयारी गरेको अमेरिकी वरिष्ठ अधिकारीहरूले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले इराकका बारेमा बुधबार र अफगानिस्तानका बारेमा केही दिनभित्रै सैनिक कटौतीको घोषणा गर्ने ह्वाइट हाउसका ती अधिकारीले बताए ।
इराकी प्रधानमन्त्री मुस्तफा अल–काधेमीसँग गत अगस्टमा भएको भेटवार्तामा पनि राष्ट्रपति ट्रम्पले इराकबाट अमेरिकी सैनिक फिर्ता हुने बताएका थिए तर उनले सैनिक फिर्ताको मिति भने घोषणा गरेका थिएनन् ।
पछिल्लो समय इराकभित्र अमेरिकी सैनिकमाथि लक्षित गरी इरान समर्थित लडाकुहरूले आक्रमण तीव्र बनाएका छन् भने इराकमा तैनाथ करिब ५ हजार अमेरिकी सैनिकलाई हटाउनुपर्दछ भन्ने इराकी जनमत पनि बढ्दो छ ।
इराकबाट सन् २०११ मा अमेरिकी सैनिक फिर्ता भए पनि अमेरिकी राजदूतावासको सुरक्षार्थ भन्दै केही सैनिक रहेका थिए ।
केही वर्षपछि इस्लामिक स्टेटविरुद्धको युद्धमा इराकी फौजलाई मद्दत गर्न भन्दै थप अमेरिकी सेना इराक पठाइएको थियो ।
अफगानिस्तानमा हाल ८ हजार ६०० अमेरिकी सैनिक तैनाथ छन् । अफगानिस्तानमा युद्धरत तालिबान समूह र अमेरिकी सरकारबीच गत फेब्रअरीमा भएको सम्झौता बमोजिम करिब पाँच हजार अमेरिकी सैनिक कटौती गरिएको थियो ।
अमेरिकी रक्षा मन्त्रालयले गत अगस्टमा अन्तर–अफगान शान्ति वार्तामा प्रगति भएमा अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको सङ्ख्या पाँच हजारभन्दा कम गरिने जनाएको थियो ।
एक्सिओसलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपती ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचन अगाडि नै सैनिक सङ्ख्या कटौती गरी ४ हजारदेखि ५ हजारमा सीमित गरिने बताएका थिए ।
अमेरिका–तालिबान सम्झौताबमोजिम अफगानिस्तानबाट आगामी सन् २०२१ भित्र सबै विदेशी फौज फिर्ता हुनुपर्नेछ । त्यसका निम्ति तालिबान समूहले सुरक्षा प्रत्याभूति दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *