भर्खरै :

कोरोना रोकथामको लागि प्रभावकारी कदम चाल्न काभ्रे प्रजिअलाई ज्ञापन

काभ्रे, २५ भदौ । नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिका उपाध्यक्ष पुण्यशोभा तुसुजू श्रेष्ठको नेतृत्वमा बिहीबार काभ्रेको जिल्ला प्रशासन कार्यालय पुगेको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसमक्ष कोभिड– १९ को महामारी प्रभावकारी रोकथाम तथा व्यवस्थापनका लागि आवत जावत कडाइका साथ नियन्त्रण गर्न ज्ञापनपत्र बुझाएको छ ।
कोभिड– १९ को महामारी रोकथामका लागि काभ्रेपलाञ्चोक जिल्लामा पनि लकडाउनसहित सामाजिक सुरक्षाको अनेक उपाय अवलम्बन गरिए तापनि सङ्क्रमण क्रमिक रुपमा बढ्दै गएको छ ।
उपत्यका प्रवेश गर्ने नाका साँगाको सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूमा कोरोना सङ्क्रमण देखिने क्रम बढ्दो भएको र सुरक्षाकर्मीपछि स्वास्थ्यकर्मी सङ्क्रमणको उच्च जोखिममा रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
भदौ २४ गते सम्ममा जिल्लाभरका विभिन्न स्थानमा ९२ जना पुरुष र ७२ जना महिला गरि जम्मा १६४ जना सङ्क्रमित ब्यक्ति रहेका छन् । बिरामी अस्पतालमा १३४ र घरमा ३० जना रहेका छन् । हाल काभ्रेभन्दा बाहिर अस्पताल आइसोलेसनमा २३ जना रहेका छन् ।
हालसम्म काभ्रे जिल्लामा कोभिड–१९ सङ्क्रमणबाट ३ पुरुष र २ महिला गरि ५ जनाको मृत्यु भएको छ, जसमध्ये २ पुरुष र १ महिला अन्य जिल्लाका रहेको अध्यावधिक विवरणमा जनाइएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा भनिएको छ, “पटक पटकको लकडाउनले पनि सङ्क्रमणको क्रम बढ्दै गएको र समुदायमा समेत सङ्क्रमण फैलिएको देखिन थालेकोले लकडाउनले मात्र समस्या समाधान हुने नदेखिएको र यसको मुख्य कारण अव्यवस्थित आवतजावत नै भएको देखिन्छ । जसले गर्दा सिमा नाकाका सुरक्षाकर्मी देखि स्वास्थ्यकर्मी र अन्य पेशाका मानिसहरूमा समेत सङ्क्रमण फैलिँदै गएको छ । तसर्थ जिल्लास्थित राजमार्गको सम्पूर्ण राजमार्गमा आवत जावतलाई कडाइकासाथ नियमन र नियन्त्रण गर्न, गराउन नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समिति, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलको ध्यानाकर्षण गराउँदै श्रीमान प्रमुख जिल्ला अधिकारीज्यूसमक्ष ज्ञापनपत्र पेश गर्दछौँ ।”
नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार बैद्यले हस्ताक्षर गर्नु भएको ज्ञापनपत्र प्रदान कार्यक्रममा नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिका सहसचिव त्रिरत्न साय्मी र सदस्य पूर्णसिं वाइवाको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *