काठमाडौँ, ११ जेठ । प्रेस सेन्टर नेपालले ‘कृष्ण सेन इच्छुक स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’बाट बेपत्ता पत्रकार एवम् तत्कालीन ‘सिन्धुली पोष्ट साप्ताहिक’का सम्पादक चित्रनारायण श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
सेन्टरको आज बसेको पुरस्कार छनोट समितिको बैठकले बेपत्ता ‘कलम योद्धा’ श्रेष्ठका लागि उनकी जीवनसङ्गिनी सावित्रा श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छनोट समितिका संयोजक ओम शर्माले जानकारी दिनुभयो ।
सेन्टरले १५ औँ कृष्ण सेन इच्छुक स्मृति दिवसका अवसरमा यह िजेठ १३ गते आयोजना हुने विशेष कार्यक्रममा पुरस्कार प्रदान गर्ने जनाएको छ । सेन्टरको सचिवालयको बैठकले पुरस्कार छनोटका लागि सेन्टरका उपाध्यक्ष ओम शर्माको संयोजकत्वमा उपाध्यक्ष बलराम थापा र सचिव मनोज घर्ती मगर सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो ।
कमलामाई–९, ढुङ्ग्रेबास (साबिक), सिन्धुली निवासी ‘सिन्धुली पोष्ट’ साप्ताहिकका तत्कालीन सम्पादक श्रेष्ठलाई प्रहरीले २०५७ जेठ १७ गते सर्लाहीको हरिवनबाट गिरफ्तार गरेको थियो । उहाँ हालसम्म बेपत्ता हुनुहन्छ ।
सेन स्मृति दिवस संयुक्त रुपमा
पत्रकार एवम् साहित्यकार सहिद ‘इच्छुक’को १५ औँ स्मृति दिवस प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन र प्रेस सोसाइटीले संयुक्त रुपमा मनाउने भएका छन् । सेन्टरको बुधबारको बैठकले सेन स्मृति दिवस संयुक्त रुपमा मनाउन अन्य सङ्गठनसँग छलफल गर्ने निर्णय गरेको थियो ।
‘हामी हिजो पनि सँगै थियौँ, आज पनि सेनले देखाएको बाटोमै छौँ,’ सेन्टरका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्यले भन्नुभयो, “सेन स्मृति दिवस संयुक्त रुपमा मनाउने भएका छौँ । यो हामी सबैका लागि खुसीको कुरा हो ।” उहाँले प्रदेश र जिल्ला शाखामा पनि संयुक्त रुपमा मनाउन सुझाव दिइएको जानकारी गराउनुभयो । रासस
Leave a Reply