भर्खरै :

पाठ्यवस्तुुमा समायोजन तोडियो २२० दिन विद्यालय खुल्नुपर्ने मान्यता

काठमाडौँ, ३० भदौ । कुनै वर्ष नेपाल बन्द वा हड्तालका कारण लामो समय विद्यालय बन्द हुने स्थिति भएमा शैक्षिक क्षति हुने विश्लेषणहरू गरिएकामा कोरोना महामारीको बढ्दो जोखिमले सो मान्यतामा नीतिगतरूपमै आमूल परिवर्तन ल्याइदिएको छ । वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने प्रचलित शिक्षा ऐन र नियमका कानुनी मान्यता परिवर्तन भई वैकल्पिक प्रणालीको सिकाइले मान्यता पाई पाठ्यवस्तुमा समायोजन भएको छ ।
शिक्षण सिकाइ र अभ्यासमा यो उपक्रम सूचना र सञ्चार प्रविधिको सहज पहुँच भएका विश्वका अन्य मुलुकमा नवीन नभए पनि नेपालमा अभिभावक, विद्यार्थी र शिक्षकका लागि नौलो र चुनौतीपूर्ण बनेको छ । सरकारले वैकल्पिक सिकाइ प्रणालीमा विद्यार्थीको न्यूनतम सिकाइलाई सुनिश्चितता गर्ने गरी ‘कोभिड—१९ महामारीमा सिकाइ सहजीकरणका लागि पाठ्यवस्तुु समायोजन ढाँचा, २०७७’ जारी गरेपछि २२० र १९२ दिनका आधारमा शैक्षिकसत्रको मूल्याङ्कन गरिने परिपाटी एक प्रकारले तोडिएको छ ।
विद्यालयमा प्रत्यक्ष साक्षात्कार कक्षा हुन नसकी सिकाइ प्रणाली अवरुद्ध रहेकोे अवस्थामा प्रणालीलाई नियमित राख्न र विद्यार्थीको चालू शैक्षिक वर्षको क्षति हुन नदिन शिक्षा, विज्ञान तथा
प्रविधिमन्त्रीको अध्यक्षतामा रहेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णयका आधारमा ल्याइएको नयाँ ढाँचाले भदौ १९ गते स्वीकृत ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ को कार्यान्वयनमा थप सहज र अनिवार्य बनाउनेछ ।
वैकल्पिक विधि वा अन्य व्यक्तिको सहयोगबाट सहजीकरण गरिने पाठ्यवस्तुु छुट्याउने आधारसहित नमुना ढाँचा प्रस्तुत गरी सोका आधारमा विद्यालयले घरलाई शिक्षालय, रेडियो पाठशाला, टेलिभिजन शिक्षामा, भर्चुअल माध्यमका लागि सिकाइ सहजीकरण र मूल्याङ्कन योजना बनाउन सक्ने गरी विद्यालयमा प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञको समिति रहने व्यवस्था गरिएको छ ।
सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणना गराउने गरी नयाँ कोरोना महामारीको जोखिम बढिरहेकोले विद्यालय खुल्न नसकेको स्थिति र अन्य प्राकृति विपत्तिमा पनि यस प्रकारको वैकल्पिक सिकाइलाई मान्यता दिई चालू शैक्षिक सत्रमा विद्यार्थी अभिलेखीकरण (भर्ना), तथ्याङ्क सङ्कलन, निजी विद्यालयमा स्थानीय तहले तोकेबमोजिमको शुल्क लिन, पाठ्यभार सङ्कुचन गरी मूल्याङ्कनको विधि लागू गर्न स्थानीय तह र सम्बन्धित विद्यालयलाई यसअघि आग्रह गरिसकेको थियो ।
यसअघि गत जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी भई गत असार १ गतेदेखि वैकल्पिक प्रणालीको सिकाइ अनिवार्य कार्यान्वयन गरिएकोमा भदौ १९ गते नयाँ सिकाइ निर्देशिका ल्याइएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *