भर्खरै :

अन्तर्राष्ट्रिय जगतमा एक्लियो संरा अमेरिका

तेहरान, २० सेप्टेम्बर । संरा अमेरिकाले संयुक्त राष्ट्र सङ्घका सबै स्थायी सदस्यहरूलाई लत्याएर एकपक्षीयरूपमा इरानविरुद्ध सबै राष्ट्र सङ्घीय नाकाबन्दी पुनः थोपर्ने घोषणा गरेको छ । वाशिङ्टनको सो कदमलाई इरानले अस्वीकार गर्ने घोषणा गरेको छ । साथै वाशिङ्टनका नजिक मानिएका सहकर्मी देशहरूसहित अन्तर्राष्ट्रिय जगतले पनि इरानमाथि नाकाबन्दीको अब कुनै कानुनी आधार नभएको बताएका छन् ।
अशिष्ट कूटनीतिज्ञको रूपमा बदनाम संरा अमेरिकी विदेशमन्त्री माइक पम्पेओले एक वक्तव्य जारी गरी इरानमाथि अमेरिकाले थोपरेको नाकाबन्दीको पालना नगर्ने देशले सजाय भोग्नुपर्ने धम्की दिएका छन् । सन् २०१५ मा संरा अमेरिका, चीन, जापान, रुस, युरोपेली सङ्घ, इरानलगायत संसारका प्रमुख छ शक्तिले इरानको आणविक कार्यक्रमबारे बहुपक्षीय सम्झौता गरेका थिए । सम्झौतापछि इरानमाथि थोपरिएका सबै नाकाबन्दी फिर्ता गरिएको थियो । तर, दुई वर्षअघि ट्रम्प सरकारले एकपक्षीयरूपमा सो सम्झौताबाट आफू फिर्ता हुने घोषणा गर्दै इरानमाथि शिलशिलाबद्ध नाकाबन्दी थोपर्न थालेको हो ।
आगामी महिना म्याद सकिने इरानमाथिको हतियारसम्बन्धी नाकाबन्दीलाई निरन्तरता दिने घोषणा गर्दै पम्पेओले इरानमाथि आणविक विकास र पुनःप्रशोधनसँग सम्बन्धित गतिविधिमा लगाइएको रोक राष्ट्र सङ्घका सबै देशले पालना गर्नुपर्ने चेतावनी दिए । इरानमाथि बालास्टिक मिसाइल परीक्षण र विकास, आणविक तथा मिसाइलसँग सम्बन्धित प्रविधिको ओसारप्रसारमाथि लगाइएको नाकाबन्दी पनि पालना गर्न पम्पेओले सबै देशलाई धम्की दिएका छन् ।
“यदि इरानविरुद्धका यी नाकाबन्दी पालना गर्न सदस्य देशहरू तयार नभए ती देशमाथि संरा अमेरिकाले आन्तरिक संयन्त्र परिचालन गरी गर्ने कारबाही भोग्न उनीहरू तयार हुनुपर्नेछ”, पम्पेओले भने ।
तर, संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्का चार स्थायी सदस्यसहित अन्तर्राष्ट्रिय समुदायले वाशिङ्टनको सो कदमको कुनै वैधानिक आधार नभएको बताएका छन् । संरा अमेरिका इरान आणविक सम्झौताबाट फिर्ता भइसकेको हुनाले अब उसलाई यस्तो निर्णय गर्ने कुनै आधार नभएको उनीहरूको भनाइ थियो ।
संरा अमेरिकाको सो कदमको विरोधमा इरानका राष्ट्रपति हस्सन रोहानीले आइतबार देशवासीको नाममा प्रत्यक्ष टीभी प्रसारणबाट सम्बोधन गर्दै इरानमाथि नाकाबन्दी थोपर्ने संरा अमेरिकाको दबाबसामु बलियो अडान लिएकोमा विश्व शक्तिहरूलाई बधाई दिए ।
उनले इरानको कूटनीतिक इतिहासमा आइतबारको दिन सदा स्मरणीय हुने बताए । उनले संरा सङ्घीय नाकाबन्दी पुनः थोपरेर संरा अमेरिकाले आफ्नो अपमान गर्न खोजेको भन्दै त्यसको इरानबाट उचित जवाफ दिइने बताए ।
“आज हामी इरानविरुद्ध संरा अमेरिकी ‘अधिकतम दबाब’ राजनीतिक र वैधानिकरूपमा संरा अमेरिकाको ‘अधिकतम एक्ल्याई’ मा परिणत भएको देख्दै छौँ”, रोहानीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *