भर्खरै :

ह्वाइट हाउसमा विष भएको खाम

वाशिङ्टन, २० सेप्टेम्बर । संरा अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा शनिबार निकै घातक विष राखिएको एउटा खाम हुलाकमार्फत प्राप्त भएको अमेरिकी सरकारले जनाएको छ । अधिकारीहरूले सो खाम क्यानाडाबाट आएको देखिएको बताएका छन् ।
क्यानाडाको द रोयल क्यानाडियन माउन्टेड पुलिस (आरसीएमपी) को नामबाट सो चिट्ठी ह्वाइट हाउसमा पठाइएको बताइएको छ ।
आरसीएमपीका प्रवक्ताले संरा अमेरिकाका सङ्घीय अनुसन्धान व्युरोले ह्वाइट हाउसमा प्राप्त शङ्कास्पद पत्रबारे अनुसन्धानमा सहयोग गर्न आग्रह भएको पुष्टि गरेका छन् ।
आरसीएमपीले भनेको छ, “खाममा प्राप्त वस्तुबारे एफबीआईले अनुसन्धान गरिरहेको छ । प्राप्त खबरअनुसार त्यसमा रिसिन नामको घातक वस्तु थियो ।”
ह्वाइट हाउस पुग्नुअघि नै अमेरिकाको सरकारी हुलाकबाट सो खाम बरामद गरिएको थियो ।
सोबारे एफबीआईलाई सोधिएको प्रश्नको उत्तर दिँदै संरा अमेरिकी गुप्तचर सेवा र संरा अमेरिकी हुलाक अनुगमन सेवासँग मिलेर एफबीआईले सो खामबारे अनुसन्धान गरिरहेको बताएको छ । खामले हाल अमेरिकामा कुनै प्रकारको आतङ्क नफैलिएको उसले बताएको छ ।
ह्वाइट हाउस र संरा अमेरिकी गुप्तचर सेवाले सो विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ ।
प्राकृतिकरूपमा क्यास्टरको बीउमा पाइने यो विष जैविक हतियारको रूपमा पनि प्रयोग हुने गर्छ । रिसिन विषको सेवा गरे ३६ देखि ७२ घण्टामा त्यो व्यक्तिको मृत्यु हुन्छ । त्यसको कुनै पनि औषधि अहिलेसम्म प्राप्त भएको छैन ।
संरा अमेरिकी सरकारी अधिकारीहरूको नाममा रिसिन विष भएको खाम प्राप्त हुने घटना यो पहिलो भने होइन । यसअघि पनि धेरैचोटि यसरी खाम प्राप्त हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *