भर्खरै :

अझै रोकिएनन् सभा समारोह, बढाउँदै छ जोखिम

पाँचथर, ४ असोज । निर्वाधरूपमा चलिरहेका ठूलो सङ्ख्यामा मानिस भेला हुने सभा तथा समारोहले कोभिड–१९ सङ्क्रमणको जोखिम बढाएको छ । बन्दाबन्दी ‘लकडाउन’ खुल्नुका साथै व्यापार, व्यवसाय, होटल–रेष्टुराँ, लामो दुरीका सवारी साधन सञ्चालनमा आए पनि सरकारले सबै प्रकारका सभा, समारोह, भेलामा रोक लगाइरहेकै छ ।
यससम्बन्धी सूचना जिल्ला स्तरमा जिल्लास्थित प्रशासन तथा स्थानीय तहहरूले नियमितरूपमा जारी गरिरहेकै छन् । ठूलो सङ्ख्यामा मानिस भेला हुने कार्यक्रमबाट कोरोना सङ्क्रमण फैलन खतरा अत्यधिक हुने जनाउँदै सरकारले सभा, समारोह, भेलामा रोक लगाएको हो । यस्ता अत्यावश्यक काममा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरूपमा पालना गर्न सरकारी निकायहरूले सुझाइरहेका छन् । तर, पाँचथरमा सभा, समारोह, भेलालगायत कार्यक्रम रोकिएका छैनन् भने यस्ता कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बनसमेत हुनसकेको छैन ।
यहाँ राजनीतिक दलका गतिविधिहरू नियमितजस्तै सञ्चालित छन् । पार्टी प्रवेशदेखि भेला बैठकहरू चलिरहेकै छन् । जिल्लाका नेताहरू पार्टीका गतिविधिमा गाउँ–गाउँ पुगिरहेका छन् । दलका नेता कार्यकर्ताहरू कोरोना सङ्क्रमणको महामारीको पर्वाह नगरी चुनाव नजिकिए जसरी राजनीतिक गतिविधिमा व्यस्त छन् । बधाई, शुभकामना र श्रद्धाञ्जली व्यक्त गर्ने मुख्य उद्देश्य रहने विभिन्न कार्यक्रममा समेत आवश्यक पर्नेभन्दा बढी भीड जम्मा भइरहँदा सचेतना र सतर्कता अपनाइएको पाइँदैन ।
राजनीतिकभन्दा गैरराजनीतिक क्षेत्रका गतिविधिहरू झनै बाक्लो गरी भइरहेका छन् । व्यावसायिक, सांस्कृतिक, सार्वजनिक कार्यक्रम चलिरहेका छन् । यस्ता कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउने सवाललाई आयोजक र सहभागीहरूले प्राथमिकतामा राखेका छैनन् । लकडाउन खुलेयता “कोरोना सङ्क्रमणको महामारी रोक्ने दायित्व स्थानीय प्रशासन र सरकारको मात्रै हो” भन्ने सन्देश दिने गतिविधिहरू विभिन्न क्षेत्रबाट भइरहेका छन् । कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्तरमा आयोजना गरिने बैठक तथा समीक्षामा सतर्कता अपनाउने÷अपनाउन लगाउनुपर्छ भन्ने आवाज सशक्तरूपले राख्ने व्यक्तिहरू नै यदाकता स्वास्थ्य सुरक्षाका मापदण्डहरू ख्याल नगरी विभिन्न कार्यक्रम आयोजना गर्ने तथा सहभागी हुने गरेका देखिन्छन् । ठूलो सङ््ख्यामा हुने भेला तथा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नभए पनि सुरक्षा निकायले यस्ता गतिविधि रोक्न सकेको छैन ।
यही असोज १ गतेदेखि सवारी साधन सञ्चालनमा आएपछि लामो समयदेखि गाउँ–घर फर्कन नपाएकाहरू काठमाडौँ तथा तराईका जिल्लाहरूबाट जिल्ला फर्कंदै छन् । विशेषतः तराईका जिल्लासँगको दैनिक सम्पर्कले यहाँ सङ्क्रमणको जोखिम बढिरहेको छ । जिल्लाभित्रै २० जनाभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ । तर, जोखिमको तुलनामा सावधानी र स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बनको अवस्था अत्यन्तै कमजोर हुँदा एकै पटक धेरै व्यक्तिमा सङ्क्रमण फैलन खतरा बढेको यहाँका स्थानीयवासीको गुनासो छ । स्थानीय प्रशासनले “प्रत्येक व्यक्ति सचेत भएमात्रै महामारी नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने” भन्दै थप सचेतना अपनाउन सार्वजनिक सूचनामार्फत आग्रह गरिरहेको छ । नागरिक स्तरमा पाँचथर उद्योग वाणिज्य सङ्घले उपभोक्ताहरूलाई भौतिक दुरी पालना तथा मास्कको प्रयोग अनिवार्य गर्न सदरमुकामकेन्द्रित सचेतनामूलक गतिविधि गर्दै आएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *