भर्खरै :

नियमित काम र कोरोना सङ्क्रमण

लकडाउनको समयमा भाइरस नियन्त्रणको लागि सरकारले आवश्यक पहलकदमी नगर्दा दिनप्रतिदिन सङ्क्रमण बढिरहेको छ । केही दिनको खुकुलोले कोरोना भाइरस आज काठमाडौँ उपत्यकामा भयावह भइरहेको छ ।
सधैँझैँ पार्टीको कामको सिलसिलामा भदौ १९ गते पनि पार्टी कार्यालय गएँ । दिनभर कार्यालय बसेर साँझ घर फर्कें । सामाजिक सञ्जालमा नेमकिपा सचिव प्रेम सुवाललाई कोभिड–१९ पोजेटिभ भएको खबर आयो । तत्कालै उहाँलाई फोन गरेँ । फोनमा उहाँले पोजेटिभ भनेको छ, रिपोर्ट आएको छैन भन्नुभयो । उहाँसँग भदौ ११ गते भेटघाट भएपछि सम्पर्कमा नगए पनि कन्ट्याक्ट टे«सिङ्गमा पर्ने हो कि भनेर सोही दिनदेखि आफू अलगै बसेँ ।
भदौ २३ गते जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंहमा स्वाब दिएपछि घर फर्कें । २५ गते साथीहरूले रिपोर्ट आयो कि भनेर फोन गर्नुुभयो । त्यसदिन मलगायत ४ जनाको रिपोर्ट आउन बाँकी रहेको र आएका सबैको नेगेटिभ भन्ने खबर आयो । मेरो स्वास्थ्यमा कुनै समस्या नभएकोले नेगेटिभ आउनेमा ढुक्क थिएँ । भोलिपल्ट डा. रत्नसुन्दर लासिवाले रिपोर्ट पोजेटिभ भएको खबर दिनुभयो । उहाँले स्वास्थ्यको बारेमा सोध्नुभयो । कुनै लक्षण र समस्या नभएकोले घरमै सुरक्षित रहन सुझाव दिनुभएअनुसार आइसोलेसनमा बसेँ ।
कुनै लक्षण नभएकोले केही डर भएन । नियमित कामको सिलसिलामा मैले धेरैलाई भेटघाट गरेको थिएँ । मेरै कारण सङ्क्रमण बढ्ने हो कि भन्ने चिन्ता लाग्यो । केही साथीहरूलाई फोन गरेँ । लक्षण केही नभएकोले परीक्षण गर्नु नपर्ला कि भन्ने जवाफ आयो ।
घरमा एउटामात्र शौचालय भएकोले प्रयोगपछि आफैँले सफा गर्ने र परिवारबाट नियमित क्लोरिङ्ग छर्की निसङ्क्रमण गरियो । रिपोर्ट आएको ५ दिनपछि भदौ ३० गते सूर्यविनायक नगरपालिकाबाट ट्रेसिङको लागि स्वाब सङ्कलन भयो । मसहित परिवारका १५ जनाले स्वाब दिए । असोज १ गते बेलुका ४ बजे सबैको रिपोर्ट नेगेटिभ भएको म्यासेज आयो । स्वाब दिएको ९ दिनमा म सङ्क्रमणमुक्त भएकोले सामाजिक सञ्जालमार्फत सबैलाई जानकारी गराएँ ।
स्थानीय सरकारको जिम्मेवारी
कोरोना सङ्क्रमण नियन्त्रणमा तीनै तहका सरकारको उत्तिकै जिम्मेवारी रहन्छ । घरसँगै स्थानीय सरकार भएकोले सङ्क्रमितहरूले बढी आशा गर्नु स्वाभाविक हो । सङ्घीय सरकारले आइसोलेसन व्यवस्था गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिइसकेको छ । सङ्क्रमणको स्थिति हेर्दा जिल्लाभरिका सङ्क्रमित राख्न बनाइएको भक्तपुर अस्पताल र बाँसबारीस्थित विद्युत् तालिम केन्द्रको आइसोलेसन स्थल भरिसकेको छ । सङ्क्रमित भएकाहरू घर बस्नुबाहेक अन्य विकल्प रहेन । यस्तो अवस्थामा स्थानीय सरकारको ध्यान नपुगेको महसुस भयो । सङ्क्रमण भएपछि नगरपालिकाबाट के कस्तो भयो भनी हेर्नुपर्नेमा राम्रै छ होला भनी फोनको भरमा रिपोर्टिङ्ग गर्ने कामले गर्दा सङ्क्रमण बढेको महसुस भयो । सङ्क्रमण पुष्टि भएपछि घरमै बसेको भए घरको अवस्था के कस्तो छ ? सङ्क्रमित र परिवारले अनुशासन पालना गरेको छ कि छैन ? टोल छिमेकीले कस्तो व्यवहार गरेका छन् ? सो विषयमा स्थानीय सरकारले ध्यान नदिएको देखिन्छ ।
काठमाडौँ उपत्यकामा ५ सयभन्दा बढी सङ्क्रमित व्यक्ति सम्पर्कभन्दा बाहिर रहेको समाचार छ । उनीहरूको अवस्था कस्तो छ, कसैलाई थाहा छैन । स्वाब सङ्कलन गर्दा नाम, उमेर, ठेगाना, सम्पर्क नं स्पष्ट नलेख्दा सङ्क्रमण पुष्टि भएपछि बेखबर भएका हुन् । एकजनाको गल्तीले सङ्क्रमण बढ्न सक्नेतर्फ सचेत नभएको देखियो ।
अर्को कुरा फलानो मान्छे कन्ट्याक्ट टे«सिङ्गमा प¥यो भनेपछि कोरोना सङ्क्रमण भएको जस्तो हल्ला गर्ने र व्यवहार पनि उस्तै गर्ने, टोल छिमेकीले सहयोग नगर्दा परिवारकै सदस्य किनमेलमा जानुपर्दा सङ्क्रमण फैलिने डर बढेको छ । भक्तपुर नगरपालिकाले प्रत्येक वडामा स्वयम्सेवक परिचालन गरेर जनचेतना र अन्य सहयोगको काम गरेजस्तै सबै स्थानीय सरकारले त्यसो नगर्दा केही स्थानमा सङ्क्रमण बढेको पाइयो ।
सरकारको काम
एक दुईजना सङ्क्रमित हुँदा ४ महिना लकडाउन गर्ने सरकारले सयौँ सङ्क्रमण हुँदा खुकुलो ग¥यो । सोही कारण आज देशभर दैनिक हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । निषेधाज्ञा उद्योगपतिहरूको प्रभावमा परेर हटाइयो । सार्वजनिक यातायात सञ्चालन भएपश्चात् आ–आफ्नो काममा जानुपर्ने जाने नै भए । सङ्क्रमित व्यक्ति स्वाब दिएको मितिले १४ दिनसम्म आइसोलेसनमा बस्ने र कुनै लक्षण नभए बिनापरीक्षण काममा जानसक्ने सरकारको निर्णयले सङ्क्रमण बढ्ने खतरा छ ।
म बसोबास गर्ने वडा सूर्यविनायक १० का एक सङ्क्रमितको सामान्य ज्वरोबाहेक अरू कुनै लक्षण छैन । १४ दिनको होम आइसोलेसनपछि काममा फर्कन उसको दोस्रो परीक्षण भयो । दोस्रोमा पनि पोजेटिभ भएको छ । २० दिन भयो अब परीक्षण गर्ने वा नगर्नेमा ऊ अलमल छ । सरकारले भनेजस्तै बिनापरीक्षण सङ्क्रमित बाहिर जाँदा सङ्क्रमण बढेमा के सरकारले त्यसको जिम्मेवारी लिने हो ? यो त मेरो घर छेउको एकमात्र घटना हो । लकडाउनको समयमा भारतबाट आएका नेपालीलाई बिनापरीक्षण घर पठाउँदाको नतिजा आज भयावह भइरहेको हो । परीक्षणबिना नै काममा फर्कन हुन्छ भन्नु नियन्त्रण गर्न नसकिने आत्मग्लानि हो ।
१० दिनको एकान्तवास
दिनभर घरमै बस्ने बानी नभएको हुँदा दैनिकी कसरी बिताउने भन्ने भयो । बिहान खाली पेटमा गुर्जो पानी, त्यसपछि चियानास्ता दैनिकी बन्यो । अनलाइन समाचार पढ्ने बानी भयो । पढ्न बाँकी ‘चिलीमा फासीवादको प्रतिरोध’ र चैतन्य मिश्रले लेख्नुभएको ‘पुँजीवाद र नेपाल’ पुस्तक पढेँ । पुँजीवाद के हो र नेपालमा पुँजीवादको असर कस्तो हुन्छ बुझ्ने मौका पाएँ । पुस्तकले पुँजीवादको विकाससँगै साम्राज्यवादको रूप लिएपछि मानव अधिकारको नाममा विभिन्न देशमा भएको सैनिक हमला किन र केका लागि भन्ने प्रस्ट बुझियो । नेपालमा विकासका नाममा वैदेशिक लगानी भिœयाउँदा नवउदारवाद झागिँदै जानेबारे नेपाल मजदुर किसान पार्टीको धारणा बुझ्न थप सजिलो भयो ।
हाम्रो जिम्मेवारी
कोभिड–१९ को औषधि तयारीका लागि विभिन्न देशका वैज्ञानिकहरूको प्रयास जारी छ । औषधि तयार नभएसम्म रोकथामको लागि सबै नागरिक अनुशासित भई दैनिकी चलाउनु पर्दछ । सरकारले अस्पतालमा भर्ना हुने बिरामीको लागि औषधिमूलोको काम गर्ननसक्ने अवस्था आउनेछ भनिरहेको छ । यस्तो समयमा प्रत्येक नागरिकले अर्को नागरिकलाई समेत सङ्क्रमित व्यक्ति हो कि भनी शङ्काले हेर्ने र सङ्क्रमण हुन नदिने उपाय अपनाउनु पर्दछ ।
प्रत्येक हप्ता बस्ने गरेको नियमित बैठक सङ्क्रमण बढ्ने डरले त्यस हप्ता बस्न सकेन । सचेतना सबैमा हुनु आवश्यक छ । यसका लागि घर, परिवार, टोल, वडा हुँदै नगरस्तरमा जनचेतना पुग्नुपर्दछ । यस विषयमा स्थानीय सरकारले पहल गर्दैन भने हामी आफैँ सचेत भई हाम्रो जिम्मेवारी निर्वाह गर्नु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *