भर्खरै :

सङ्क्रमितको सङ्ख्या बढ्दै, मर्नेको सङ्ख्या घट्दै

जेनेभा, २२ सेप्टेम्बर । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कले बितेका सात दिनमा संसारमा नोबेल कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढे पनि मर्नेको सङ्ख्या भने ओरालो लागेको छ । संयुक्त राष्ट्र सङ्घीय स्वास्थ्य नियोग डब्ल्युएचओले सोमबार दिएको जानकारीअनुसार अघिल्लो साताको तुलनामा बितेको साता संसारभर सङ्क्रमितको सङ्ख्या ६ प्रतिशतले बढेको छ । तर, मर्नेको सङ्ख्या भने ओरालो लागेको सङ्गठनले जनाएको छ । गत साता भाइरस सङ्क्रमित झन्डै ३७ हजार ७ सय मानिसको निधन भयो । अघिल्लो साताको तुुलनामा यो १० प्रतिशतले कम हो ।
पछिल्लो तथ्याङ्कअनुसार संरा अमेरिकाका मर्नेको सङ्ख्या उल्लेख्य सङ्ख्यामा घटेको छ । अमेरिकामा मर्नेको सङ्ख्या २२ प्रतिशतले घटेको छ भने अफ्रिकामा १६ प्रतिशतले घटेको छ ।
अमेरिकामा मर्नेको सङ्ख्या यति घटे पनि अझै संसारमा मर्नेमध्ये आधा त्यही देशका छन् । कोलोम्बिया, मेक्सिको, इक्वेडर र बोलिभियामा पनि मर्नेको सङ्ख्या घटेको छ ।
युरोपका विभिन्न देशमा भने सङ्क्रमणको दोस्रो उभार आएको छ । अघिल्लो साताको तुलनामा गत साता युरोपमा २७ प्रतिशतले सङ्क्रमण बढिरहेको छ ।
फ्रान्स, रुस, स्पेन र बेलायतमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।
यसैबीच संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभामा बोल्दै डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानमले दोस्रो विश्वयुद्ध यता संसारले सामना गरेको सबभन्दा ठूलो चुनौती कोभिड–१९ महामारी भएको बताएका छन् ।
“हामीलाई संयुक्त राष्ट्र सङ्घ किन चाहिन्छ भन्ने कुरा अरू कुनै पनि कुराले भन्दा कोभिड–१९ को महामारीले अझ छर्लङ्ग बनाएको छ”, उनले भने ।
महासभामा उनले तीन बुँदाको सुझाव पेश गरे । पहिलो, महामारीले हामीलाई दीगो विकास लक्ष्य हासिल गर्न हाम्रा प्रयासलाई दोब्बर गर्न उत्साहित गर्नुपर्छ । कुनै पनि बहानामा त्यो लक्ष्यबाट हामी चुक्नु हुन्न ।
दोस्रो, फेरि अर्को महामारी आउन सक्ने भएकोले आजैबाट त्यसको पूर्वतयारी थाल्नुपर्छ ।
तेस्रो, रोगको पहिचान, उपचार र खोपमा समतामूलक पहुँचको निम्ति हामीले सम्पूर्ण शक्ति लगाएर प्रयास गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *