हो चि मिन्ह र अफ्रिका – ५
- जेष्ठ ५, २०८३
“येनान पुग्नुअघि मेरो राजनैतिक विचार कतिको पिछडिएको थियो भन्ने कुरो तपाईँलाई थाहै छ । त्यसबेला मेरो दिमाग पुँजीवादी विचारले भरिएको थियो । बैठक र व्यक्तिगत विचार विमर्शमा कामरेडहरूको निरन्तर आलोचनाले मेरो चरित्र र विचारमा ठूलो परिवर्तन आइरहेको महसुस गर्र्दै छु ।”(डा. कोटनिसले डा. बसुलाई लेखेको पत्रबाट)
डा. कोटनिसको जन्म १० अक्टोबर १९१० मा भारतको शोलापुर सहरको एक सम्पन्न परिवारमा भएको थियो । उहाँको पूरा नाम द्वारकानाथ शान्ताराम कोटनिस थियो । पछि उहाँ महान् स्वतन्त्रता सेनानी डा. कोटनिसको नामले प्रसिद्ध हुनुभयो ।
कोटनिसका मातापिता ज्यादै दयालु स्वभावका थिए । त्यसैले कोटनिसको बाल्यकाल सुखमय थियो । ४ वर्षको उमेरमा कोटनिसलाई स्कूल भर्ना गरियो । अध्ययनमा लगनशील र परिश्रमी हुनाले परीक्षामा उहाँ प्रथम हुनुहुन्थ्यो ।
उहाँ सानै छँदा शोलापुर सहरमा प्रायः सङ्क्रामक रोग फैलिएको थियो । यसबाट बच्नको लागि सहरवासीहरू सहरबाहिर छाप्रो बनाएर बस्ने गर्दथे । कोटनिसको परिवारको पनि यही हालत थियो । सङ्क्रामक रोगबाट हुने दुर्दशा देखेर उहाँ ज्यादै दुःखी बन्नुहुन्थ्यो । त्यसैबेलादेखि कोटनिसमा देश र जनताको सेवा गर्ने भावना पैदा भयो । यसै भावनाबाट पे्ररित भएर उहाँले चिकित्सा शास्त्रमा स्नातकको डिग्री हासिल गर्नुभयो । सन् १९३७ मा उहाँले एउटा अस्पतालमा आवासीय चिकित्सकको रूपमा काम गर्नुभयो ।
सन् १९३८ मा एसिया, अफ्रिका र युरोपमा युद्धको आगो दन्किरहेको थियो । जर्मनी, इटाली र जापानी फासिस्टहरू स–साना देशहरूमा आफ्ना हिंस्रक पञ्जा फैलाइरहेका थिए, तर जहाँ दमन भयो त्यहाँ प्रतिरोध युद्ध पनि भएको थियो । यसबाट चीन पनि अछुतो थिएन । त्यहाँका जनता चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा प्रतिरोध युद्धमा उत्रेका थिए ।
चीनमा भइरहेको प्रतिरोध युद्धको पक्षमा भारतीय जनताले पनि आन्दोलन चलाए । न्यायप्रेमी कोटनिस पनि त्यस आन्दोलनतिर आकर्षित हुनुभयो । चीन पनि भारतजस्तै एउटा गरिब देश थियो । त्यहाँका जनता स्वतन्त्र जनवादको लागि लडिरहेका थिए । जापानको विरुद्धमा चिनियाँ जनताले चलाएको युद्ध सबै उत्पीडित राष्ट्रहरूको लागि प्रोत्साहन र प्रेरणाको स्रोत हो भन्ने कुरा कोटनिसलाई थाहा थियो ।
सन् १९३७ नोभेम्बर २७ मा चीनको आठौँ स्थल सेना चिनियाँ कम्युनिस्ट पार्टीअन्तर्गतको सैनिक दलका कमान्डर इन चिफले भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता जवाहरलाल नेहरूलाई एउटा पत्र पठाए । उक्त पत्रमा चिनियाँहरूप्रति सहानुभूति राख्ने भारतीय जनतालाई प्रतिरोध युद्धको स्थिति अवगत गराउन र चिनियाँ जनताको लागि चिकित्सा सहयोग गर्न अनुरोध गरिएको थियो । भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीको ५२ औँ अधिवेशनबाट चीनलाई चिकित्सा दिने प्रस्ताव पारित भयो । चिकित्सा सेवा दलका सदस्य चुन्नको लागि एक समिति गठन गरियो । कोटनिसले पनि समितिको नाममा निवदेन दिनुभयो । निवेदनमा उहाँले चिनियाँ जनताको मुक्तिको लागि केही सहयोग गर्ने प्रबल इच्छा व्यक्त गर्नुभयो । समितिमा प्राप्त पत्रहरूमध्ये उहाँको पत्र ज्यादै मर्मस्पर्शी थियो । डा. कोटनिस चीन सहायता चिकित्सा सेवा दलमा चुनिनुभयो ।
सन् १९३८ को अगष्ट महिनाको अन्त्यमा दलका सदस्यहरू बम्बईमा भेला भए र ती सदस्यहरूमा दलका नेता डा. अटल, उपनेता डा. एम, चोल्कर, डा. डी. मुखर्जी, डा. बि.के बसु र डा. कोटनिस गरी जम्मा पाँच जना थिए । १ सेप्टेम्बर १९३८ मा भारतीय चीन सहायता चिकित्सा दल ब्रिटिश जहाज पी.एन्ड ओ. लाइनर एस.एस. राजपुतानाबाट चीनको लागि उड्यो । उक्त जहाजमा दुई जना चिनियाँ यात्रीहरू पनि थिए । तिनीहरूबाट कोटनिसले केही चिनियाँ भाषा सिक्नुभयो ।
भारतजस्तो उष्ण क्षेत्रबाट गएका ती डाक्टरहरूलाई त्यहाँको जाडो र हिउँ वर्षा ज्यादै असह्य भयो । तापनि, उनीहरू निरन्तर उत्तरतिर बढ्दै गए । येनानमा तिनीहरूको भव्य स्वागत भयो । त्यतिबेला माओ त्सेतुङ पनि येनानमै हुनुहुन्थ्यो । उहाँले भारतीय चिकित्सा दलका सदस्यहरूसित भेट्नुभयो ।
चिनियाँ जनताको जापानविरोधी युद्धमा मद्दत दिन जानेलाई सर्वप्रथम सत्तारुढ पार्टी कोमिन्ताङसँग सम्पर्क राख्नुपर्दथ्यो । यो पार्टी र यसको सरकार गएगुज्रेको थियो ।
भारतीय चीन सहायता चिकित्सा दललाई रेडक्रस सोसाइटीको १५ औँ मेडिकल टीममा भर्ना गरियो । ६ दिनपछि दलका सदस्यहरू चाङ सा हुँदै उहान पुगे । उहानलाई कोमिन्ताङले प्रतिरोध युद्धको केन्द्र बनाएका थिए । त्यस ठाउँ चिकित्सा दल जम्मा १५ दिनमात्र बस्यो । त्यस छोटो अवधिमा नै उनीहरूले कोमिन्ताङको प्रतिरोध युद्धको ‘सक्कली’ अनुहार देखे ।
त्यसैबेला जनतामा सम्माननीय चाउ एन लाई, तुङ पिउ र चेन यी पनि उहानमै हुनहुन्थ्यो । सेप्टेबर ३० मा तुङ पिउ र चेन यीद्वारा भारतीय चिकित्सा दलका सदस्यहरूको सम्मानमा एउटा रात्रीभोजको आयोजना गरियो । यो अवसरलाई डा. कोटनिसले ज्यादै महत्वपूर्ण ठान्नुभयो । उहाँले कोमिन्ताङ र कम्युनिस्टको बीचमा तुलना गर्नुभयो । यसैगरी अक्टोबर ७ मा एक पत्रकार सम्मेलनमा चाउ एन लाइलाई पनि भेट्नुभयो ।
अक्टोबर अन्ततिर जापानीहरूको आक्रमणको कारणले कोमिन्ताङ क्वाङचाओ र उहान छाडेर गए । साथमा भारतीय चिकित्सा दल पनि उहान सहरबाट हट्नुप¥यो । गोली, बारुद र बम वर्षा त दालभात खानुजस्तै भइसकेको थियो । चिकित्सा दलका सदस्यहरूलाई यसबाट उत्पन्न हुने कठिनाइ सहनुभन्दा अर्को केही विकल्प थिएन । उहानमा २६ दिन बस्दा ज्यादै कममात्र बिरामीहरू आएका थिए किनभने घाइते सैनिकहरू ल्याउने जहाजहरू जापानी विमानको बमवारीको शिकार भएका थिए । साथै जापानी सैनिकहरू अगाडि बढिरहेका थिए । आक्रमणकारीहरूको विरुद्ध खुला सङ्घर्षमा मद्दत दिन चिकित्सा दलका सदस्यहरूले सर्वसम्मतिबाट येनान जाने इजाजत दिन माग गरे तर कोमिन्ताङ सरकारले बेवास्ता ग¥यो । योजनाविरोधी सरकारलाई चीनमा आउने विदेशी मित्रहरू यसरी राष्ट्रिय सरकार (कोमिन्ताङ) को सत्ता उखेल्न चाहने कम्युनिस्टहरूतिर झुक्न थाले भने साँच्चिकै गडबड त हुने होइन भन्ने डर थियो । जब दलका सदस्यहरू मन्त्रालय विभाग तथा अधिकारीहरूको घर धाउन थाले, ती अधिकारीहरूले भौगौलिक स्थिति, हावापानी र वातावरणको भेद देखाई रोक्न खोजे । भारतीय चिकित्सा दल येनानतर्फ प्रस्थान ग¥यो । त्यसबेला भारतबाट उहाँका पिता शान्ताराम कोटनिसको देहावसानको दुःखान्त खबर आयो । डा.कोेटनिसले आफ्नो दुःख दबाउनुभयो । उहाँका पिताले उहाँलाई इमानदार बन्न र मातृभूमि र जनतालाई माया गर्न सिकाउनुभएको थियो ।
भारतजस्तो उष्ण क्षेत्रबाट गएका ती डाक्टरहरूलाई त्यहाँको जाडो र हिउँ वर्षा ज्यादै असह्य भयो । तापनि, उनीहरू निरन्तर उत्तरतिर बढ्दै गए । येनानमा तिनीहरूको भव्य स्वागत भयो । त्यतिबेला माओ त्सेतुङ पनि येनानमै हुनुहुन्थ्यो । उहाँले भारतीय चिकित्सा दलका सदस्यहरूसित भेट्नुभयो ।
सन् १९३९ नोभेम्बर ४ मा डा. कोटनिस पूर्वी शानसीको अग्रीम मोर्चातिर जानुभयो । हिउँको कारणले गर्दा शानसी गइरहेका यात्रीहरूलाई कहीँ कुप्रिनुपर्दथ्यो त कहीँ घस्रनुपर्दथ्यो । यसरी निरन्तर हिँडिरहनाले कोटनिस बिरामी हुनुभयो । तीन दिनपछि फेरि बाटो लाग्नुभयो । बाटोको ठाउँ–ठाउँमा जापानी आक्रमणकारीहरूसँग मुठभेद भयो । युद्धका यी कठोर परिस्थितिहरूबाट डा. कोटनिस अझै दृढ हुनुभयो ।
सन् १९३९ मा अटल र बसुको साथमा डा. कोटनिसले उश्याङ काउन्टीका आठौँ स्थल सेनाका कमान्डर इन चिफ चु तेहलाई भेट्नुभयो । चुतेहले चिकित्सा दलका यी भारतीय डाक्टरहरूलाई हालै निधन भएका डा. नर्मन बेथुनको बारेमा बताउनुभयो ।
नर्मन बेथुन एक क्यानेडियन डाक्टर हुनुहुन्थ्यो । सन् १९३६ मा जर्मनी र इटालियन फासिस्टहरूले स्पेनमा आक्रमण गर्दा उहाँले मोर्चामा गई फासिस्टविरोधी जनताको सेवा गर्नुभयो । सन् १९३६ मा चीनको जापानी आक्रमणविरोधी युद्ध सुरू भएपछि उहाँ चीनको मुक्त क्षेत्रमा आइपुग्नुभयो । चीनमा उहाँले लगभग २ वर्षसम्म काम गर्नुभयो । एकजना घाइते सैनिकको अपरेसन गर्दा उहाँको रगतमा विष फैलियो र सन् १९३९ सेप्टेम्बर १२ का दिन हुपेई प्रान्तमा उहाँको देहावसान भयो । कमान्डर चु तेहले डिसेम्बर २४ मा डा. बेथुनको स्मृतिमा आयोजित शोकसभामा भाग लिन डा. कोटनिस, अटल र बसुलाई आमन्त्रण गर्नुभयो । डा. कोटनिसले डा. बेथुनको प्रतिमा अगाडि बसेर मौन श्रद्धाञ्जली अर्पण गर्दा बेथुनको आदर्श उदाहरणको अनुकरण गर्ने प्रतिज्ञा गर्नुभयो ।
उश्याङको अग्रीम मोर्चाको जीवन येनानको भन्दा कठोर थियो । कार्यक्रमअनुसार उहाँहरू १२९ नं. को डिभिजनको युनिटमा सम्मिलित हुनुभयो । उक्त डिभिजनअन्तर्गत डा. कोटनिस जुन–जुन गाउँमा जानुहुन्थ्यो ती गाउँहरूको स्थिति ज्यादै भयानक थियो । घाइते जनता र सैनिकहरू डाक्टरलाई पर्खिरहेका हुन्थे । कोही अङ्गभङ्ग भएका थिए भने कोही मृत्युलाई पर्खिरहेका थिए । आश्चर्यको कुरो के थियो भने ती घाइते सैनिकहरूको अनुहारमा दुःख पटक्कै थिएन । सबैको अनुहार चम्किलो थियो ।
सन् १९४० को आरम्भमा चिनियाँ कम्युनिस्ट पार्टीको विरोध गरिरहेका प्रतिक्रियावादीहरूले शानसीको अग्रीम मोर्चामा दलबलसहित हमला गरे । यस स्थितिको फाइदा उठाएर जापानी आक्रमणकारीहरूले दक्षिणको मोर्चा कब्जा गरी १२९ नं. को डिभिजनलाई भगाउने कुचेष्टा गरे । फलतः घमासान लडाइँ भयो, विश्राम गर्ने मौका पाइएन । निरन्तर काम गरिरहँदा कोटनिसको आँखा दुख्न थाल्यो । उहाँ बेला–बेलामा पानी पिउनुहुन्थ्यो र फेरि काममा लाग्नुहुन्थ्यो । लडाइँ जारी नै रह्यो । गोलीको वर्षा र थकाइको पर्वाह नगरी डा. कोटनिस ४६ घण्टासम्म घाइते सैनिकहरूको अपरेसन गर्नमा व्यस्त हुनुभयो ।
अप्रिलको आरम्भमा डा. कोटनिस ह्वाङडो नदीको उत्तरी इलाकामा पुग्नुभयो । त्यहाँ बसेर डा. कोटनिसले धेरै प्रगति गर्नुभयो । उहाँ स्थानीय किसानहरूसँग मिलेर कहिले कहाँ जानुहुन्थ्यो त कहिले कहाँ । एकदिन जापानीहरूको रेल कब्जा गरी त्यसमा भएको हातहतियार कब्जा गरी फर्कँदा डा. कोटनिसले बसुलाई भन्नुभयो, “बसु ¤ यही त्यो मानव पर्व हो, जसको प्रशंसा कमान्डरहरू गर्दछन् र यदि जनतालाई सङ्गठित गरेको खण्डमा त्यो पहाडमा असीम शक्ति निहीत रहेको हुन्छ ।”
डा. कोटनिसले अहिलेसम्म सेवा नै धर्म हो भन्ने कुरा बुझिसक्नुभएको थियो । उहाँ गाउँमा गई घाइते सैनिकहरूको उपचारबाहेक बाटोमा आउँदा जाँदा कुनै रोगी जस्तो फेला प¥यो भने तुरून्तै सोधपुछ गर्दै उपचार गरिदिनुहुन्थ्यो । उहाँको आदर्श भावनाले चिनियाँहरूलाई ज्यादै प्रभावित पारेको थियो । चिनियाँहरूले उहाँको प्रशंसामात्र गरेनन् अति लोकप्रिय डा. बेथुनसँग तुलना गर्न थालेका थिए ।
यी दुई डाक्टरहरूको प्रसिद्धि टाढा टाढासम्म फैलिसकेको थियो । चिनियाँ जनताको लागि प्रेरणादायी कुरा थियो, डा. बेथुनको निधनको तत्कालै, पछि भारतबाट डा. कोटनिस आउनुभयो । उनीहरू भन्थे, “हाम्रा सहायताको लागि जब विदेशबाट साथीहरू लगातार आउँदै छन् भने जापानी आक्रमणकारीहरूलाई डा. कोटनिसकी दिदी ९२ वर्षे मनोरमा कोटनिस पराजीत गर्नमा हामीले किन चिन्ता लिने ?”
सन् १९४० अगष्ट १७ मा डा. कोटनिस कुकुङ गाउँमा सर्नुभयो । सेप्टेम्बरमा लायेवानमा लडाइँ छेडिएपछि कोटनिस एउटा चिकित्सा दल लिएर तेस्रो उपक्षेत्रमा जानुभयो र बेथुन मेडिकल स्कूलको प्राध्यापक बन्नुभयो ।
केही समयपछि डा. कोेटनिस वेथुन अन्तर्राष्ट्रिय शान्ति अस्पतालको निर्देशक पदमा नियुक्त हुनुभयो । उहाँ हरेक बिरामीको राम्रो हेरविचार गर्नुहुन्थ्यो । कुनै कर्मचारी वा बिरामीले गल्ती गरिहाले पनि रिसाउनुहुन्नथ्यो बरु सम्झाउने गर्नुहुन्थ्यो ।
उन् १९४१ नोभेम्बर २५ मा डा. कोटनिसले नर्सिङ अध्यापिका क्वो छिङलानसँग विवाह गर्नुभयो ।
डाक्टरहरू निःस्वार्थी हुनुपर्छ । जो मानिस सक्रिय र निःस्वार्थी हुँदैन त्यो कहिल्यै पनि डाक्टर बन्न सक्दैन । अनि बिरामीहरूप्रति भ्रातृभाव राखेर व्यवहार गर्नुपर्छ । डा. कोटनिस यस्ता गुणहरूमा सम्पन्न हुनुहुन्थ्यो । त्यसैले त उहाँ चिनियाँहरूबाट आमाजस्तो विशेष सम्मानित र आदर्शयुक्त नामले पुकारिनुभयो । सन् १९४१ मा डा. कोेटनिसले आफू छारे रोगको शिकार भइरहेको थाहा पाउनुभयो । तर, उहाँ निरास र हतास हुनुभएन । उहाँ बिरामीहरूको उपचार गर्न शत्रुले लुटेर गएको गाउँ–गाउँ डुल्नुहुन्थ्यो । ती गाउँमा खानाको नाममा कोदो, गिट्ठा,भ्याकुर र जडिबुटीबाहेक केही बाँकी थिएन । संसारमा सबभन्दा मीठो पानी र सबभन्दा स्वादिष्ट चिज नुन हो । योद्धाहरू सपनामा पनि चिच्याउँथे , “निर्देशक कोटनिस हामीले नुन पायौँ ।’ यसरी हिँड्दा हिँड्दै डा. कोटनिस ज्यादै थाक्नुहुन्थ्यो र समय–समयमा बेहोस हुनुहुन्थ्यो ।
यस अवस्थामा जिम्मेवार अधिकारीले २ वटा निर्देशन जारी गरे । पहिलो, कोटनिस घरघरमा उपचार गर्न जानुहुनेछैन र दोस्रो, कोटनिसलाई बिरामीहरूलाई दिइने सुविधा दिइनेछ ।
डा. कोटनिसले यस निर्देशन अनुरोधसाथ अस्वीकार गर्नुभयो । एकजना डाक्टरले
बिरामीहरूको सेवा गर्नैपर्छ, त्यो उसको कर्तव्य हो । उहाँ बिरामीहरूको घरघरमा गई नै रहनुभयो ।
डा. कोेटनिसले रातदिन अरूको भलाइमात्र सोच्नुभयो । सन् १९४२ को जून महिनादेखि उहाँलाई छारे रोगले बारम्बार छोप्न थाल्यो । डा. कोटनिस स्वयं एक डाक्टर भएकाले छारे रोगको बारेमा राम्रो जानकारी थियो तर पनि उहाँको एउटै इच्छा थियो अन्तिम साससम्म क्रान्तिको लागि सङ्घर्ष गरिरहने । छारे रोगले गर्दा उहाँ पानी खानको लागि एउटा चम्चासम्म उचाल्न नसक्ने अवस्थामा पुग्नुभयो ।
यस्तो दयनीय हालतमा जिम्मेवार अधिकारी र सैनिक कमान्डरहरूले कोटनिसको लागि हङकङ, भारत वा अन्य कुनै मुलुकमा उपचार गर्न पठाउने निधो गरे । तर, कोटनिसले सबैको आग्रहलाई सादरपूर्वक अस्वीकार गरिदिनुभयो । अन्तमा उहाँकी श्रीमती क्वो, छिङलानले पनि यो कुरा उठाइन् । डा. कोटनिसले भन्नुभयो, “तिमीले ठिक्कै भन्यौ क्वो यदि म उपचार गर्न गइनँ भने मेरो मृत्यु अवश्यम्भावी छ । जनतालाई फासिस्टहरूको छायाँबाट मुक्त पार्ने सङ्घर्षमा यदि मेरो मृत्यु भई नै हाल्यो भने भारतीय जनता खुसी हुनेछन् । उनीहरूले गर्व गर्नेछन् । तिमी, म र हाम्रा भावी सन्तान पनि खुसी हुनेछौँ, किनभने मैले मानव जातिको सबैभन्दा उत्कृष्ट ध्येयको लागि आफ्नो जीवन बलिदान गरेको हुनेछ ।” यसपछि क्वो छिङलानले फेरि आग्रह गर्न सकिनन् ।
४ वर्षको अटूट सेवाको फलस्वरुप सन् १९४२ मा डा. कोटनिस चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य बन्नुभयो । उहाँको उदात्त आकाङ्क्षा पूरा भयो । पार्टी सदस्य बनेपछि कोटनिसमा नयाँ जोश र उमङ्ग भरियो । शिक्षाको आवश्यकतालाई पूरा गर्न उहाँले ‘शल्यशास्त्रको परिचय’ भन्ने किताब लेख्न थाल्नुभयो । २३ अगष्टको दिन कोटनिस दम्पत्तिको छोराको जन्म भयो । कोटनिसलाई छारे रोगले छोप्ने र बेहोस हुने क्रम बढ्दै गयो । उहाँ होसमा आउने बित्तिकै किताब लेख्न बस्नुहुन्थ्यो ।
पटक–पटक बेहोस भएर ओठ टोक्नाले ओठबाट रगत बगिरहेको हुन्थ्यो । तर, पनि आफ्नो किताब पूरा गर्न कोटनिसले भएभरको शक्ति लगाउनुभयो । ‘शल्य शास्त्रको परिचय’ पछि उहाँले ‘व्योरेवार शल्यशास्त्र’ भन्ने किताब लेख्न थाल्नुभयो, जुन किताब अधुरै रह्यो ।
सन् १९४२ डिसेम्बर ४ को रातमा पनि कोटनिसको कलम कापीमा दगुरिरहेको थियो तर अचानक कलम थामियो र उहाँ भुइँमा लड्नुभयो । १० मिनेटपछि होसमा आउँदा डा. कोटनिसले अनेक सुरपरिचित अनुहारहरू देख्नुभयो । कोटनिस आफ्नो लागि अरूले समय बर्बाद गरेको चाहनुहुन्नथ्यो । त्यसैले सकिनसकी हल्लाउँदै कम्पित स्वरमा भन्नुभयो । “कामरेडहरू…. काम….. गर्न …. जानुहोस् । घाइते….. सैनिक…. हरू …. तपार्इँ…… लाई …. पर्खि….. र ….. हे …… छन् ।” यसपछि उहाँले केही बोल्न सक्नुभएन । प्रत्येक १५–१५ मिनेटको फरकमा उहाँ बेहोस हुँदै जानुभयो । उहाँलाई सक्दो उपचार गरियो तर केही सीप लागेन । भोलिपल्ट सन् १९४२ डिसेम्बर ९ को बिहान भारतीय स्वतन्त्रता सेनानी डा. कोटनिसले चीनको हुपेई प्रान्तको उश्याङ काउन्टीमा सदाको लागि आँखा चिम्लनुभयो । त्यसबेला कोटनिस केवल ३२ वर्षको हुनुहुन्थ्यो ।
साभार – पञ्चायत वर्ष ६, अङ्क ३
Leave a Reply