कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
काठमाडौँ, ७ असोज । नेपाल मजदुर किसान पार्टी तारकेश्वर नगर समितिको आयोजनामा पार्टीको सातौँ महाधिवेशनबाट पारित विधानको अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भन्नुभयो, “सङ्ख्या मुख्य होइन, सिद्धान्त र विचार मुख्य कुरा हो । ढुलमुले विचार र नीतिले देश नरहने व्यवस्था आउन सक्छ भन्ने इतिहास युगोस्लाभियाको पतनले स्पष्ट गर्दछ ।”
उहाँले भन्नुभयो, “बहानाबाजी बनाएर पार्टीको जिम्मेवारी पूरा नगर्नु पनि अनुशासन भङ् ग गर्नु नै हो ।”
“आँधीबेहरीमा हुर्केको नेतृत्वले मात्र पार्टी र देशको नेतृत्व गर्नसक्दछ । युवा हुँदैमा पार्टी र देशको नेतृत्व गर्नसक्छ भन्ने भनाइ गलत हो । पार्टी र देशको नेतृत्व सिद्धान्त र विचारमा परिपक्व नेताले मात्र गर्नसक्दछ ।” उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले विधानअनुसार पार्टी सदस्यहरूले आफ्ना अधिकारको प्रयोग गर्नुको साथै कर्तव्य पनि पूरा गर्नुपर्ने बताउनुभयो । ओली सरकार कोभिड – १९ को सङ्क्रमित बिरामीको उपचार गर्न पन्छिन खोजिएको र सङ्क्रमण रोकथाम, नियन्त्रण गर्न पूर्णतः असफल भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य नारायण महर्जन, वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल,, सविन महर्जन, रामलाल महर्जन, महेश्वर महर्जन र मन्दिरा महर्जनले पार्टी विधानबारे बोल्नुभएको थियो । कार्यक्रम आयोजक समितिका अध्यक्ष श्यामकुमार महर्जनको सभापतित्वमा भएको थियो ।
Leave a Reply