भर्खरै :

प्रजग कोरियासहित जनस्वास्थ्य सहकार्यको प्रस्ताव

सोल, २३ सेप्टेम्बर । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले प्रजग कोरियासहित जनस्वास्थ्य सम्बन्धित उपक्षेत्रीय सहकार्यको प्रस्ताव गरेका छन् ।
“अन्तर्राष्ट्रिय समुदायले कोरिया प्रायःद्वीप वरपरका विषयलाई थप समावेशी अन्तर्राष्ट्रिय सहकार्यको आँखाले हेर्ने विश्वासका साथ म सङ्क्रामक रोग नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी उत्तरपूर्वी एसियाली सहकार्यको प्रस्ताव गर्छु जसमा प्रजग कोरियासहित चीन, जापान, मङ्गोलिया र दक्षिण कोरिया सहभागी हुनेछन्”, संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभामा मुनले भने ।
गत अगस्ट महिनाको अन्त्यतिर आयोजित कोरिया मजदुर पार्टीको बिस्तारित पोलिटव्युरो बैठकमा प्रजग कोरियाका नेता किम जङ उनले पार्टीका सबै अधिकारी, सार्वजनिक सुरक्षा र रक्षा निकायलाई कोभिड–१९ को प्रतिरोधलाई अझ सघन बनाउन र महामारीविरोधी अभियानलाई चुस्त बनाउन आग्रह गरेका थिए ।
राष्ट्र सङ्घको महासभामा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले कोरिया प्रायःद्वीपमा युद्ध अन्त्यको लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको निम्ति आग्रह गरे ।
“यो वर्ष कोरिया युद्ध भएको ७० औँ वर्ष हो । कोरिया प्रायःद्वीपमा अझै झुलिरहेको अवरोध पन्छाउने समय आएको छ । युद्ध पूर्णतः र असल प्रयोजनको लागि समाप्त हुनुपर्छ”, उनले भने ।
उनले भने, “कोरिया प्रायःद्वीपमा अझै शान्ति बन्ने क्रममा छ र त्यसले अवरुद्ध आशा जगाउन मद्दत गर्नेछ ।” यसैबीच संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र सङ्घको महासभामा दिएको भाषणमा प्रजग कोरियाको विषय उल्लेख गरेनन् । राष्ट्रपति भए यता उनले राष्ट्र सङ्घको महासभामा दिएका चारवटै भाषणमा उनले प्रजग कोरियाको कुरा प्राथमिकताका साथ उठाएका थिए ।
गत वर्षको महासभामा ट्रम्पले प्रजग कोरियालाई आणविक निःशस्त्रीकरणको लागि आग्रह गर्दै त्यसो गरे प्रजग कोरिया विकास र समृद्धिको असीमित क्षमतातर्फ अघि बढ्ने बताएका थिए ।
प्रजग कोरिया र संरा अमेरिकाबीच आणविक निःशस्त्रीकरणसम्बन्धी पछिल्लो वार्ता गत वर्षको फेब्रुअरीमा भियतनामको राजधानी हनोईमा भएको थियो । हनोईमा किम र ट्रम्पबीचको वार्ता बिनानिस्कर्ष टुङ्गिएको थियो ।
गत सेप्टेम्बर २ मा दक्षिण कोरिया र संरा अमेरिकाका उच्च आणविक मामिला प्रतिनिधिबीच कोरिया प्रायःद्वीपको विषयमा फोन वार्ता भएको थियो । दुई जना प्रतिनिधिबीच सो वार्तामा पूर्ण आणविक निःशस्त्रीकरण र पूर्ण शान्तिपूर्ण समाधानको अवस्था बनाउने विषयमा कुरा भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *