भर्खरै :

चिनियाँ खोप विकासोन्मुख देशलाई दिने सीको प्रतिबद्धता

पेइचिङ, २३ सेप्टेम्बर । चीनका राष्ट्रपति सी चिन फिङले सेप्टेम्बर २२ मा संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभामा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ ।
उहाँले मानव जातिले कोरोना भाइरससँग सङ्घर्ष गर्ने क्रममा विभिन्न मुलुकका जनताले आपसी सहयोग गरी भयङ्कर प्रकोपविरुद्ध मानव जातिको उत्साह, सङ्कल्प र माया देखाएर अँध्यारो समयमा उज्यालो प्रकाश छरेको बताउनुभएको छ । मानव जातिले अन्त्यमा कोरोना भाइरसलाई पराजित गर्ने र विश्व जनताले विजय प्राप्त गर्ने पनि उहाँले आफ्नो सम्बोधनमा व्यक्त गर्नुभएको छ ।
उहाँले सम्बोधनमा चीनले विभिन्न मुलुकसँग कोभिड–१९ प्रतिरोध तथा उपचारको अनुभवलाई बाँड्दै जाने, आवश्यक मुलुकलाई समर्थन र सहयोग गर्दै जाने, विश्व कोभिड–१९ प्रतिरोध गर्ने सामग्रीको आपूर्ति शृङ्खलाको स्थिरतालाई प्रत्याभूति गर्ने र सक्रियरूपमा कोरोना भाइरसको मूलको खोज तथा यसबारेको अध्ययन सम्बन्धमा निरन्तर भाग लिने बताउनुभयो । उहाँले चीनमा केही खोप तेस्रो चरणको क्लिनिकल परीक्षणमा प्रवेश गरेको र अध्ययन पूरा भएपछि विश्व सार्वजनिक उत्पादनको रूपमा विस्तार गरिनुका साथै प्राथमिकरूपमा विकासोन्मुख मुलुकलाई प्रदान गरिने बताउनुभयो ।
चीनले दुई वर्षमा दुई अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय उद्धार सामग्री प्रदान गर्ने वचनबद्धतालाई व्यवहारमा उतार्ने, कृषि, गरिबी न्यूनीकरण,शिक्षा, महिला तथा बच्चा र जलवायु परिवर्तन आदि क्षेत्रको अन्तर्राष्ट्रिय सहयोगलाई गहन पार्ने, विभिन्न मुलुकको आर्थिक सामाजिक पुनःउत्थानका लागि मद्दत गर्ने पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ ।
सीले चीन विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुक रहेको बताउँदै चीनले शान्तिपूर्ण, खुलापन, सहकार्य र संयुक्तरूपमा विकास गर्दै आएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “हामीले कहिले पनि प्रभुत्ववादको स्वीकार गर्दैनौँ, अरूमाथि आक्रमण गर्दैनौँ, आफू पृथक रहेर विकास गर्दैनौँ । तर, मुख्यरूपमा भित्री अर्थव्यवस्थाको विकास गर्दै अन्तर्राष्ट्रिय विश्व अर्थव्यवस्थामा नयाँ विकासको सम्भावना खोजेर विश्व आर्थिक विकास पुनरूत्थानका लागि प्रयास गर्ने उद्देश्य बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *