भर्खरै :

इसानद्वारा अभिभावकसँग सहयोगको अनुरोध

भक्तपुर, १० असोज । कोभिड–१९ को महामारी र राज्यको नालायकीको कारण देशको शिक्षा क्षेत्र अन्योल र अराजकताको शिकार भएको छ ।
अभिभावकको शुल्कको भरमा सञ्चालन हुने संस्थागत विद्यालयका सञ्चालकहरू सरकारको अस्पष्ट र अन्योलपूर्ण सूचना तथा वक्तव्यको कारण अलमलमा छन् । परीक्षा हुने हो कि होइन, शैक्षिक वर्ष नै खेर जाने हो कि आदि विषयमा स्पष्ट जानकारी नहुँदा अभिभावक पनि विद्यालयले निर्धारण गरेको शुल्क बुझाउन अलमल गरिरहेका छन् । धनीका सन्तान पढ्ने महँगा विद्यालयले वैशाखदेखि नै पर्याप्त शुल्क उठाई कक्षा सञ्चालन गरिरहेको तर सरकारले कुनै कारबाही गरेन ।
सामान्य जनताका छोराछोरीलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता बोक्ने विद्यालयहरूको सङ्गठन संस्थागत विद्यालय सङ्घ नेपाल
(इसान) ले विद्यालय सञ्चालनको निम्ति सहयोग गर्न अभिभावकसँग अनुरोध गरेको छ ।
सरकारले असोज दोस्रो हप्तासम्ममा विद्यार्थी भर्ना, नामाङ्कन र अभिलेखीकरण सक्नुपर्ने निर्देशन जारी गरेअनुसार अभिभावकसँग शुल्क उठाउने योजना बनाएको इसानका अध्यक्ष प्रेमजन थापाश्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आ–आफ्नो विद्यालयमा शुल्क बुझाई यही असोज १५ गते बिहीबारभित्र विद्यार्थी भर्ना, नामाङ्कन र अभिलेखीकरण गराउन अनुरोध गरेका छौँ । अभिभावकको साथ रहने नै छ ।”
अध्यक्ष थापाश्रेष्ठले भन्नुभयो, “नेपाल सरकार शिक्षा मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थी शिक्षण सिकाइ निर्देशिका–२०७७’ जारी गरेअनुसार नियमित अनलाइन कक्षा सञ्चालन गर्दै आएका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *