भर्खरै :

देशमा वैज्ञानिक समाजवाद आवश्यक

नेपालमा राजतन्त्रात्मक व्यवस्था छैन । कानुनतः नेपालको राजनीतिक व्यवस्था गणतन्त्रात्मक छ । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भए पनि देशमा पूर्णतः राजतन्त्रात्मक पद्धति अन्त्य भएको छैन । व्यवस्था गणतन्त्रको भए पनि सामन्ती चिन्तन र सामन्तका शेषहरू बाँकी छन् । राजतन्त्र अन्त्य भएको १२ वर्ष बित्यो । तर, पनि यहाँ राजतन्त्रात्मक सामन्ती चिन्तनका क्रियाकलापहरू भइरहेका छन् । सर्प मरे पनि सर्पको पुच्छर चलिरहन्छ भनेझैँ देशमा राजतन्त्र पक्षधर शक्तिहरू क्रियाशील हुन थालेका छन् । उनीहरू फेरि संवैधानिक राजतन्त्रात्मक व्यवस्थाको खाँचो औँल्याउँदै छन् । राजासहितको मुलुक देशको लागि खाँचो छ भन्दै राजतन्त्र पक्षधर शक्तिहरू हिन्दू नेपालको नारा अघि सार्दै छन् ।
राजावादी भए पनि अलग अलग पार्टी खोलेका प्रकाशचन्द्र लोहनी, पशुपति रामशेर जवरा र कमल थापाको नेतृत्वमा रहेको पार्टी एक भएपछि ती दलका नेताहरू देशमा संवैधानिक राजतन्त्रको पक्षमा उभिएका छन् । आज तिनै नेताहरू कम्युनिस्ट पार्टीको विरोधमा जुटेका छन् । कुनै पनि दलले राजनीतिलाई पैसा कमाउने र राज्यको सम्पत्तिमा आँखा गाड्ने काम गर्छ भने त्यसको विरोध गर्नुपर्छ । कम्युनिस्टको नाउँमा, गणतन्त्रको नाउँमा नयाँ राजाहरू देखापर्छन् भने, नयाँ सामन्तहरू जन्मिन्छन् भने त्यसको विरोध गर्नुपर्छ । कम्युनिस्टको नाउँमा पुँजीवादी राजनीति गरेर जनतालाई धोका दिन्छ भने विरोध गर्नुपर्छ । माक्र्सवाद, लेनिनवाद र समाजवादको नाउँमा कम्युनिस्टविरोधी गतिविधि गर्छ, कम्युनिस्टको नाउँमा कम्युनिस्टको सिद्धान्त र विचार उल्लङ्घन गर्छ भने विरोध गर्नुपर्छ । जनताको स्वार्थ छोडेर व्यक्तिगत या गुटगत राजनीतिक गर्छ र स्वार्थ खोज्छ भने विरोध गर्नुपर्छ । तर, कुनै दल विशेषको कमजोरी, गलत क्रियाकलापको आधारमा अन्य कम्युनिस्ट दललाई पनि त्यही आँखाले हेर्नु ठीक होइन । सबै कम्युनिस्ट पार्टी पुँजीवादी बाटोमा लागे भन्नु औँलाले घाम छेक्ने प्रयासजस्तै हुनेछ ।
माओवादको नाउँमा माओवादीले १७ हजार नेपालीको सफाया गर्यो भनेर, सत्तारुढ दलका नेताहरूले पदको निम्ति होडबाजी गरे भनेर, देशको ढुकुटी रित्याउँदै मनपरी गर्न लागे भनेर कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार ठीक छैन, कम्युनिस्ट पार्टीले पनि आखिर सामन्त, पुँजीपति, जमिनदार, भ्रष्टाचार, कमिसनखोर र कालाबजारीको पक्षपोषण गर्छ भनेर झूटको खेती गर्नु अर्को भूल हो, त्यो दृष्टिदोष हो । बरु, संसारमा राजतन्त्रको बदनाम हुँदै छ, राजतन्त्रात्मक सरकार पतन हुँदै छ । राजतन्त्र र पुँजीवादको ओरालो लाग्दै छन् । संसारमा कम्युनिस्ट पार्टी र कम्युनिस्ट सरकारको उदय हुँदै छ । वामपन्थी, प्रगतिशील, देशभक्त र कम्युनिस्टको सरकारले देशमा संसारलाई चकित पार्ने काम गरिरहेका छन् । क्युवा, प्रजग कोरिया, चीन, बोलिभिया, भियतनाम आदि मुलुकले जनताकेन्द्रित रहेर शासन गरे, जनताकोे रोजीरोटी, बास र खानपिनको निम्ति राम्रो व्यवस्था गरे । त्यसकारण नेपालमा संवैधानिक राजतन्त्र, पुँजीवाद होइन समाजवादी गणतन्त्र आवश्यक छ । वैज्ञानिक समाजवाद आवश्यक छ । देशको विकास गर्न र जनताको जीवन सुनिश्चित बनाउन वर्गसङ्घर्षबाट प्राप्त कम्युनिस्ट पार्टीको सरकार आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *