भर्खरै :

‘कम्युनिस्ट’ हरुको उद्देश्य आमूल परिवर्तन

नेकपा र नेकपाको सरकार यतिबेला मन्त्रिमण्डल हेरफेरमा केन्द्रित छन् । नेकपाका एक थरी सांसदहरू मन्त्री जाला कि भन्ने चिन्तामा छन्, मुख अँध्यारो पार्दै छन् भने अर्का थरी सांसदहरू मन्त्री पाउने आशामा खुशी देखिएका छन् । आशाको किरण छाएका सांसदहरूको अनुहार खुसी हुनु स्वाभाविक हो भने चिन्तामा डुबेका मन्त्रीहरूको अनुहार मलिन हुनु पनि स्वाभाविक हो । मन्त्री हुनुलाई नै उनीहरू जीवनको सार्थक ठान्छन्, राजनीति गर्दाको सफलता ठान्छन् । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई उमेरको कारण पछिको प्रतिनिधिसभाको निर्वाचनमा होइन अहिले नै प्रधानमन्त्री बनाउनुपर्छ भनी उचाल्ने बुद्धिजीवीहरू पनि छन् । उनीहरू पार्टीको अध्यक्ष नभइकन प्रम बन्न पाउँदैनन् भन्ने कुरा भुल्छन् । पदको आशामा नेताहरू सिद्धान्त, विचार, नीति नियम, प्रक्रिया, नैतिकता र चरित्र भुल्छन् भनेको यही हो ।
कम्युनिस्टहरू सिद्धान्त र विचारको राजनीति गर्छन् । उनीहरू सङ्कीर्ण विचारका हुँदैनन् । जातिवादी राजनीति गर्दैनन् । देश र जनता भुलेर दलगत र व्यक्तिगत स्वार्थको राजनीति गर्दैनन् । अनियमितता, भ्रष्टाचार र कमिसनबाट टाढा रहेका हुन्छन् । नातागोता पोस्ने, पदको दुरूपयोग गरी अकुत सम्पति कुम्ल्याउने राजनीतिमा भुल्दैनन् । सिद्धान्त र विचार आत्मसात गरेर सङ्गठनको गतिविधिमा लागेका हुन्छन् । गाउँ घरका जनताको मर्का बुझ्ने, कार्यकर्ता र जनतालाई सिद्धान्तनिष्ठ बनाउने र वर्गसङ्घर्षको तयारी गर्ने बाटोमा अग्रसर हुन्छन् । मन्त्री बनेर देश र जनताको सेवा गर्ने कुरा फलाक्दैनन् । सिद्धान्त र विचार छोडेर पद र पैसामा भुल्ने सांसद र मन्त्रीहरू जति हेरफेर भए पनि देश र जनताप्रति समर्पित भएर काम गर्दैनन् । सिद्धान्त र विचार भुलेकै कारण अहिलेका जागरुक घनश्याम भुसालजस्ता मन्त्रीहरूले खोइ के नै गर्नसके ?
पार्टीको काम नेता र कार्यकर्ता पोस्ने होइन । पार्टीका नेता तथा कार्यकर्तालाई चरित्रवान बनाउने, देशभक्त बनाउने, देश र जनताको सेवामा लगाउने, इमानदारीपूर्वक, निःस्वार्थपूर्वक राजनीति गर्ने काममा पार्टीले प्रशिक्षित गर्ने हो । पार्टीले माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई देशको माटो सुहाउँदो उपयोग गरी देशमा आमूल परिवर्तनको बाटो तयार गर्ने हो । नेता, कार्यकर्तालाई सिद्धान्तनिष्ठ बनाउने हो, जनतालाई सचेत र सङ्गठित गर्ने हो । भ्रष्टाचार, कमिसन, कालाबजारी, अनियमितताविरुद्ध जागरुक बनाउने हो । असल, चरित्रवान, देशभक्त, इमानदार नागरिक तयार गर्ने हो । पैसा कमाउनु, पदमा पुग्नु, ऐसआराम भन्ठानी राजनीति गर्नु धोकाको राजनीति हो । सत्तारुढ दलले दलको सिद्धान्त र विचार थाती राखेर गरिरहेको राजनीति यस्तै खालको हो । गलत दिशा निर्देश गरेर देशमा कसरी परिवर्तन हुन्छ ? कसरी सुखी नेपाली र समृद्ध नेपाल बन्छ ?
कम्युनिस्टहरूको उद्देश्य आमूल परिवर्तन गर्नु हो । तर, आमूल परिवर्तन अहिल्यै हुँदैन । त्यही कारण पार्टी र सरकारले जनतालाई सचेत र सङ्गठित गर्नुपर्ने हो, जनतालाई तयार गर्दै जानुपर्ने हो । सत्तारुढ दल नेकपाका नेता, मन्त्री र सांसदहरूले कतिको जिम्मेवारी पूरा गरिरहेका छन् ? नेकपाको मन्त्रिमण्डलको बैठक, नेकपाको सचिवालय र स्थायी समितिको विषयमा नेता, मन्त्री र सांसदहरूबीच बहस भएको छ कि छैन ? आत्मसमीक्षा गर्नुपर्छ । कम्युनिस्ट पार्टीले कम्युनिस्ट नेता, मन्त्री र सांसदहरूले त्यो जिम्मेवारी पालना गरिरहेका छैनन् भने देशमा कसरी कम्युनिस्ट आन्दोलन अघि बढ्छ ? कसरी कम्युनिस्ट पार्टी बलियो हुन्छ र आमूल परिवर्तनमा टेवा पुग्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *