भर्खरै :

वातावरण जोगाउन सहकार्य आवश्यक: सी चिन फिङ

पेइचिङ, १५ असोज । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर ३० तारिखमा संयुक्त राष्ट्र सङ्घको जैविक विविधतासम्बन्धी शिखर सम्मेलनमा भिडिओमार्फत सम्बोधन गर्नुभएको छ ।
सम्बोधनमा राष्ट्राध्यक्ष सीले पर्यावरणको सुधारपछि सभ्यता समृद्ध हुनसक्नेमा जोड दिनुभयो । मानव र प्रकृतिबीच मेलमिलापपूर्ण व्यवहार गर्ने उपायको खोजी गर्नुपर्ने भन्दै राष्ट्राध्यक्ष सीले आर्थिक विकास र पर्यावरण संरक्षणको समन्वय आवश्यक भएको बताउनुभयो । एउटा समृद्ध, सफा र सुमधुर विश्वको निर्माण गर्नुपर्ने उहाँको धारणा थियो ।
सम्बोधनमा राष्ट्राध्यक्ष सीले विश्वको वातावरणीय खतराको चुनौतीको सामना गर्दा विभिन्न मुलुकहरू एउटै डुङ्गामा सवार भएकोमा ध्यान दिनुपर्ने भन्दै एकपक्षीयतावादले सबैको मन जित्न नसक्ने बताउनुभयो । उहाँले सँगै मिलेर सहकार्य गर्नु नै सही उपाय रहेकोमा जोड दिनुभयो ।
चीनले संयुक्त राष्ट्र सङ्घका अन्तर्राष्ट्रिय प्रणालीको दृढताका साथ संरक्षण गर्ने भन्दै अन्तर्राष्ट्रिय नियमको गम्भीरतासाथ पालना गर्ने उल्लेख गर्नुभयो । विश्व वातावरणीय संरक्षणस्तर माथि उकास्न सहयोग हुने विश्वास दिलाउनुभयो ।
राष्ट्राध्यक्ष सीले जैविक विविधता दिगो विकासको जग हुने उल्लेख गर्दै यो चीनको लक्ष्य र साध्य पनि हो भन्नुभयो ।
उहाँले नयाँ कोरोना भाइरस महामारी हामीलाई एकजुट भएर विकासपथमा लाग्न भनेको भन्दै जीवजन्तुको विविधता संरक्षणबारे छलफल गर्न आगामी वर्ष खुनमिङमा हुने कार्यक्रमको निम्ता दिनुभयो ।
चीनले आगामी वर्ष खुनमिङ सहरमा ‘जैविक विविधतासम्बन्धी सन्धि’का पक्ष राष्ट्रहरूको १५ औँ बैठकको आयोजना गर्ने भएको छ । अध्यक्ष मुलुकको हैसियतले जैविक विविधताको व्यवस्थापन र पर्यावरणीय सभ्यताको निर्माणसम्बन्धी अनुभव विभिन्न पक्षसँग बाँड्न चीन इच्छुक रहेको सीले औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *