भर्खरै :

विद्यार्थी, पाठ्यपुस्तकमा सीमित नहुनोस् !

भक्तपुर, १५ असोज । वागीश्वरी माध्यमिक विद्यालयमा यस वर्ष कक्षा ११ मा अध्ययन गर्न आएका नवप्रवेशी विद्यार्थीका लागि बिहीबार अनलाइनमार्फत स्वागत तथा अभिमुखीकरण कार्यक्रम भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले हरेक व्यक्तिले एउटा न एउटा विषयमा दक्षता हासिल गर्नुपर्ने बताउनुभयो । उहाँँले नक्कल गरेर पास हुनुको कुनै अर्थ नभएको र त्यसले देश र जनतालाई हानि पु¥याउने बताउनुभयो ।
घुस दिएर गोल्ड मेडल पाउने व्यक्ति पदमा पुगेमा त्यसबाट देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्ने उहाँले बताउनुभयो । विद्यार्थीले कोर्सबुकमा मात्र सीमित नभएर अन्य विभिन्न विषयका पुस्तकमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीको मूल्याङ्कन आजैबाट सुरु भएको प्रस्ट्याउनुभयो । उहाँले देशको आवश्यकता पूरा गर्न सबै विषय त्यत्ति नै महत्वपूर्ण भएको औँल्याउनुभयो ।
उहाँले ठेकेदारहरूको मनोमानीका कारण देशले एउटा रासायनिक मल कारखाना पनि स्थापना गर्न नसक्दा मलविनाको धान बाली गर्नुपरेको विचार व्यक्त गर्नुभयो । ठेकेदार र सीमित व्यापारीको दबाबमा परी उपत्यकाका सीमामा कडाइ गर्न नसक्दा उपत्यकामा कोरोनाको भयावह स्थिति आइपरेको उल्लेख गर्दै उहाँले सरकारको अकर्मण्यताकै कारण देश बर्बादीतर्फ गइरहेको स्पष्ट पार्नुभयो ।
उहाँले राजनीतिशास्त्र अध्ययन गर्ने विद्यार्थी कम भएकाले देशमा राजनीतिलाई भ्रष्टाचारको अखडा बनाएको स्पष्ट पार्नुभयो ।
वागीश्वरी मावि कक्षा ११ र १२ का संयोजक ज्ञानसागर प्रजापतिले विद्यार्थीले एउटा विषयमा अठोट लिएर पढ्नुपर्ने र विशेषज्ञता हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले सबै सङ्काय र विषय त्यत्ति नै महत्वपूर्ण भएकाले आफ्नै मेहनत गरी पढ्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले सभापतित्व ग्रहण गर्दै वागीश्वरी माविलाई नमुनाकै रूपमा राख्न नवआगन्तुक विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले कोरोना भाइरस सङ्क्रमणको यो स्थितिमा विद्यार्थीलाई वैकल्पिक प्रविधिको प्रयोग गरी पढाउन लागेको स्पष्ट पार्नुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीलाई नयाँ जोश र जाँगरका साथ अघि बढ्न जोड दिनुभयो । विद्यार्थीले आलोचनात्मक सोचको विकास गर्नुपर्ने, सृजनात्मक हुनुपर्ने, एकआपसमा सञ्चार भइरहनुपर्ने र सहयोगात्मक भावनाका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा सहायक प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *