भर्खरै :

हार्नेहरूको साँचो इतिहास ‘कर्ण’ महाकाव्यबारे

महाकाव्यलाई पूर्वीय र पाश्चात्य जगतकै सबैभन्दा पुरानो साहित्यिक विधा मानिन्छ । कविताको सबैभन्दा सानो रूपगत आयाम मुक्तक हो भने ठूलो महाकाव्य हो, जसलाई श्रव्यकाव्यअन्तर्गत पनि राखिन्छ । महाकाव्यमा जीवन र जगतको विराट पक्षको काव्यात्मक प्रस्तुति हुन्छ । पूर्वमा वाल्मीकिको ‘रामायण’ र व्यासको ‘महाभारत’ तथा पश्चिममा होमरको ‘इलियड’ र ‘ओडिसी’लाई सबैभन्दा पुरानो महाकाव्य मानिन्छ । ‘रामायण’ र ‘महाभारत’ लाई इसापूर्व ५०० भन्दा अगाडिका ग्रन्थ मानिन्छन् । पूर्व र पश्चिमका यिनै आदि महाकाव्यलाई आधार मान्दै यसका सिद्धान्त र मान्यता विकास गर्दै अन्य महाकाव्य रचित भएको पाइन्छ ।
महाकाव्य रचनाको निम्ति आठ सर्ग (खण्ड) भन्दा बढी सर्ग आवश्यक हुन्छ । महाकाव्य पद्य र गद्य दुवै विधाको प्रयोग गरी लेखिन्छ । पद्यमा लेखिएको महाकाव्यमा विभिन्न छन्दको प्रयोग गरिएको हुन्छ । वर्ण र मात्राहरूको गेय (गाउन योग्य) व्यवस्थालाई नै छन्द भनिन्छ । गद्यको नियम व्याकरण हो भने पद्यको नियम छन्दशास्त्र हो । नेपाली साहित्यमा छन्द पच्चिस प्रकारका छन् ।
नेपाली साहित्यको पहिलो महाकाव्य भानुभक्तको ‘रामायण’ (१८९८–१९१०) लाई मानिन्छ । यो पनि वाल्मिकीद्वारा लिखित ‘अध्यात्म रामायण’बाट अनुदित वा भावानुवाद हो । यसको प्रकाशन वि.सं. १९४२ मा भएको थियो । पहिलो मौलिक महाकाव्य सोमनाथ सिग्देलको ‘चन्द्र चरित’ (१९७६–१९८६) लाई मानिन्छ । जुन शासक स्तुतिमा आधारित छ । सर्वाधिक उत्कृष्ट महाकाव्य देवकोटाको ‘शाकुन्तल’ (२००२) मानिन्छ, जसको विषयवस्तु र कथावस्तु महाकवि कालिदासको ‘अभिज्ञान शाकुन्तलम्’ नाटकमा आधारित रहेको बताइन्छ । पहिलो मौलिक सामाजिक महाकाव्यको रूपमा देवकोटोले ६० घण्टामा तयार गरेको ‘सुलोचना’ (२००२) लाई लिइन्छ । त्यसपछि थुप्रै महाकाव्य नेपाली साहित्य क्षेत्रमा रचना गरिएका छन् ।
यसैबीच राजा, महाराजा वा असामान्य व्यक्तित्वलाई काव्यको नायक खडा गर्ने साहित्यको परम्परालाई पछ्याउँदै साहित्यकार नवराज लम्सालद्वारा लिखित ‘कर्ण’ महाकाव्य (२०६६) पढ्ने अवसर प्राप्त भयो । पद्य र गद्य दुवै विधामा रचित पच्चिस सर्गमा विस्तारित ‘कर्ण’ भूमिका र लेखकीय समेत गरी २८३ पृष्ठको छ । जसमा एउटा गजलसहित १४ प्रकारका छन्दको प्रयोग गरिएको छ ।

नवराज लम्साल


भनिन्छ– इतिहास जित्नेहरूले लेख्छन् । हार्नेहरूले पनि इतिहास लेख्न पाउने छुट भइदिएको भए आज इतिहासका धेरै नायकहरू खलनायक भइसकेका हुन्थे अनि धेरै खलनायक नायक भइसकेका हुन्थे । साहित्यकार लम्साल आज तिनै हार्नेहरूको साँचो कथा लिएर आएका छन् ‘कर्ण’ मार्फत । ‘महाभारत’ र त्यसका पात्रहरूको विषयमा जुन दृष्टिकोण वा मूल्य मान्यता स्थापित थियो, त्यसको धार परिवर्तन गर्दै एउटा नयाँ मूल्यमान्यता स्थापित गर्न खोज्दै छन् – साहित्यकार लम्साल । ‘महाभारत’ युद्ध दरबारका दुई भाइबीचको अंशबण्डाको निहुँमा भएको लडाइँ थियो तर यसलाई धर्म र न्यायका निम्ति भएको ‘महान् युद्ध’ भनी परापूर्वकालदेखि प्रचार गरिएको छ । अहिलेसम्म धर्मका नाममा कति छली भए ? त्यसको एउटा अकाट्य प्रमाण बन्न सक्छ ‘महाभारत युद्ध’ अनि प्रमाणित गर्ने सूत्र हुनसक्छ ‘कर्ण’ महाकाव्य । अहिलेसम्म सत्पात्रका रूपमा उभ्याइका पाण्डवलाई छली–ढोङ्गी अनि ‘भगवान’ को रूपमा उभ्याइएका कृष्णलाई छलकपटका योजनाकार र सामन्ती चरित्रका नाइकेको रूपमा उभ्याउन खोजेको यस महाकाव्यले यस्ता पात्र प्रयुक्त काव्य वा साहित्यलाई आलोचनात्मक दृष्टिकोणले हेर्न घच्घच्याउने पक्का छ ।
मान्छेको मूल्य तोक्नु छ भने कर्णलाई उत्तम नायकको रूपमा उभ्याउन सकिने दावी काव्यकारको छ । कर्णलाई एक आदर्श, आस्था अनि उत्तम पुरूषको रूपमा चित्रण गरिएको छ । संसारमा उदाहरणीय व्यक्ति कर्णलाई मान्छन् । कर्णलाई देवताहरूभन्दा माथिको देवता मान्दै काव्यको निम्ति चुनेको भाव व्यक्त गर्छन् ‘सर्ग एक’ को प्रस्तावनामा–
‘मेरो कर्ण तिमीलाई काव्यभित्र सजाउँछु
भनिने देउताभन्दा माथिकै देव पाउँछु ।
यस सर्गमा इतिहासले हार्नेजति सबैलाई सधैँ कर्ण र जित्नेजतिलाई युधिष्ठिरको रूपमा उभ्याएकोमा काव्यकार लम्सालको विमति छ ।
मानव समाज विकासको क्रमसँगै व्यक्तिगत सम्पत्तिको विकास भएपछि राज्यको उत्पत्ति हुन्छ । सामन्तवादी वा शोषणमा आधारित राज्यव्यवस्था टिकाउन नै धर्मलाई हतियार बनाइन्छ । सर्ग दुईमा काव्यकार लेख्छन् –
स्वर्ग–नरक वा भोलि–पर्सिको भय वा भ्रम
भ्रमकै भरमा चल्छ सामन्ती राज्यको क्रम ।
कुन्ती राजा यदुवंशकी चेली शूरसेनकी छोरी पृथा हुन् । शूरसेनले आफ्ना अनन्य मित्र (फुपाज्यू) कुन्तीभोज राजालाई निः सन्तान भएका कारण आफ्नो सन्तान समर्पण गरेका हुन्छन् । त्यसकारण पृथा कुन्ती बन्छिन् ।
कर्णलाई जन्माएर तर मातृत्व मारेर नदीमा बगाउन लगेको दृष्य र त्यसरी नवजात शिशु त्याग्नुपर्नाको कारण यस सर्गमा वर्णित छ । दूर्वासा ऋषिले दिएको मन्त्रद्वारा सूर्यलाई डाकी आपूmलाई सुम्पने कुन्ती लोकलज्जा लुकाउन आपूmले जन्माएको बालक नदीमा विसर्जन गर्ने निर्णयमा पुग्छिन् । कुन्तीको विवशता चित्रण गर्दै अझ पनि लोकलज्जाको डरले वा जबरजस्ती करणीमा परी मातृत्वको हत्या गर्न विवश कैयौँ कुन्तीहरू रहेको भाव व्यक्त गर्छन् कवि ।
यस सर्ग तीनमा प्रयुक्त केही हरफले वर्तमान नेपालको पनि चित्रण गरेझैँ लाग्छ । गरिब जबसम्म देशमा हुन्छन्, छाप्रामा ती बस्छन्, डर त्रासमा बाँच्छन्, तिनका निमित्त राज्य वा दरबारको कुनै अर्थ छैन । नत राज्यका निम्ति तिनको कुनै मूल्य छ –
भोकै बस्नेहरूलाई के अर्थ दरबारको ?
कहीँ निर्भय क्वै छैन के अर्थ दरबारको ?
जीवनभर निः सन्तानको पीडामा रहेका र लडाइँको समयमा राजपरिवारको रथ तान्ने अधिरथले त्रिवेणीमा स्नान गर्दा बगाइएका कर्ण र बाकस भेट्छन् र त्यसको खुशी आफ्नी पत्नी राधासँग साट्छन् । नयाँ मानिसको रूपमा आफ्नो नायकलाई उभ्याउने जमर्काे काव्यकार यहीँ (सर्ग–चार) बाट गर्छन् –
खोजी पौरख पूर्णता सफलता यै आँगनीमा बस
द्यौता बन्नु हुँदैन बन्नु छ तिमी एउटा नयाँ मानिस ।
सर्ग ५ मा कर्णको बालापन, उनको हुर्काइ–बढाइ, शिक्षा–संस्कारको प्रसङ्ग छ । साथीभाइमाझ प्रिय उनी बाल्यकालदेखि छेस्का टिपी वाण बनाई खेल्थे । कर्णले पढ्ने र धनुर्विद्या सिक्ने इच्छा व्यक्त गरेपछि अधिरथ कर्णलाई द्रोणाचार्यकहाँ लान्छन् । गुरु दक्षिणाको लागि आफै बिकेर भएपनि मूल्य चुकाउने वचन दिन्छन् । तर, गुरु द्रोणाचार्यले सूतपुत्र भएर राजपुत्रसँग पढ्न चाहेको भनी रिसाएर अपमान गर्छन् । द्रोणाचार्यले शिक्षार्थीमा विभेद गर्छन् । अहिले पनि शिक्षालयमा यस्ता विभेद कायमै छ । दलित जातका विद्यार्थीलाई अलग्गै राख्ने, एउटै भाँडामा पानी खान नदिने गरेको समाचार बरोबर आउँछन् ।
द्रोणाचार्यको विभेद र आफ्ना पिताको अपमान सहन नसक्ने कर्ण बोल्छन्–
जनता पौरखी हुन्छन् राजा गर्दछ शोषण
राजाका यी भरौटे हुन् बकबके छुद्र भाषण ।
तर, कर्णमा जे जसरी पनि आफ्नो ज्ञानको तृष्णा मेटाइछाड्ने दृढसङ्कल्प हुन्छ ।
द्रोणाचार्यको विभेदपछि कर्ण परशुरामले युद्धशील्प वा युद्ध नीति सिकाउने महेन्द्राचल जान्छन् र आफूलाई ब्राम्हण भनी झूट बोल्दै शिक्षा लिन्छन् किनकी, परशुराम पनि ब्राम्हणहरूलाई मात्र शिक्षा दिने गुरु हुन्छन् । कर्णको प्रतिभाबाट निकै प्रभावित परशुराम युद्धनीति सिकाउँछन् –
कूटनैतिक सम्पर्क सूत्र अघि बढाउनू
गणिका, विषकन्या वा द्रव्यलोभी खटाउनू !
कर्णले झूट बोलेको परशुरामले थाहा पाउँछन्, कर्णले ज्ञान प्राप्तिको लागि झूट बोलेको स्वीकार्छन् । जनताले पनि हक अधिकार, न्याय पाउनुपर्ने र त्यसैको निम्ति सङ्घर्षरत रहेको बताउँछन् । दरबार र झुपडीबीचको समानता खोज्ने, जात र विभेदविरुद्ध उभिने कर्ण जन्म जुन जातमा भएपनि उसलाई कर्म वा सङ्घर्षले स्थापित गराउनेमा विश्वास गर्छन् र तिनै स्थापितहरू नै मान्छेका मनमा रहने बताउँछन् । अग्रगति मन नपराउनेविरुद्ध नै समाजमा द्वन्द्व हुने तर्क कर्णको छ । तर, परशुराम जुनसुकै उद्देश्यको लागि होस् भूmट बोल्नु गलत भएको ठह¥याउँछन्, कर्णप्रति क्रोधित हुन्छन् । झूटले सत्य मास्ने, जनतामा भ्रम र भय ल्याउने र झूटले नै स्थान पाउने तर्क गर्छन् । कर्ण पनि परशुरामको तर्कप्रति विमति जनाउँछन् । कसलाई पढाउने, कसलाई जिताउने भन्ने निर्णय द्रोणाचार्य र परशुरामजस्ता केहीले गर्न नपाउने विचार कर्णको छ । कर्णदेखि औधी रिसाएका परशुरामले युद्धको अन्तिम समयमा सिकेका सबै विद्या बिर्सेर चेतनाशून्य भएको अवस्थामा मारिने ‘श्राप’ दिन्छन् । परशुरामको रिस र श्रापलाई पनि गुरुवचन मानी सम्मान प्रकट गर्छन् कर्ण र रणमैदानमा आफ्नो मृत्युलाई गुरुभेटी चढाएको सम्झन आग्रह गर्छन् ।
सर्ग आठमा दीक्षान्त समारोहको चर्चा छ । हस्तिनापुर राज्यमा धनुर्विद्या वा परीक्षामा उत्कृष्ट हुनेले राज्य सञ्चालनयोग्य हुने परम्पराअनुसार पाण्डव र कौरवबीच प्रतिस्पर्धाको चर्चा छ । दीक्षान्त समारोहलाई दाजुभाइहरूबीच एक–अर्कामा हुर्कँदै गरेको वैरभाव साँध्ने अवसरको रूपमा वर्णन गरिएको छ –
यो दीक्षान्त समारोह मात्र दीक्षान्त हैन यो
भूसको अग्निझैँ भित्र सल्केको वैरभाव हो ।
राज्यको साक्षीमात्र होइन, राज्यका हरेक गतिविधिमा जनताको सहभागिता हुनुपर्ने तर्क राख्दै कर्ण उक्त दीक्षान्त समारोहमा आउँछन् । राजसी ठाँटका विरुद्ध झुपडीको तर्फबाट पहिलो पटक उभिने कोही थियो त ती कर्ण थिए । उनी हस्तिनापुरको सामु पहिलो चुनौती बनी उभिन्छन् । आफ्नो विद्वता सबै दरबारमा चढाउने, दरबारको चाप्लुसी गर्ने सबैका लागि कर्ण हाँक बनेर उभिन्छन् । कर्णलाई अर्जुनले हाँक दिँदै अपमान गर्छन् तर कर्ण अर्जुनलाई लड्नको निम्ति ललकार्छन् ।
कर्ण आफ्नो अस्तित्व जोगाउन मर्न र मार्न तयार हुन्छन् । कर्ण र अर्जुनको वार्तालापमा द्रोणाचार्य, धृतराष्ट्रलगायत चूप हुन्छन् भने कौरव पक्ष केही खुशी देखिन्छ र कर्णलाई समर्थन गर्छ तर कुन्ती मुर्छा पर्छिन् । अर्जुनलाई दरबारको आडमा हैन आफ्नै आँटमा लड्न चुनौती दिन्छन् कर्ण । कृपाचार्यले कर्णको अपमान गर्छन्–
बाउको नाम के तेरो आमाको नाम हो कुन
नामैसम्म नजान्नेले ताक्न खोज्दछ अर्जुन !
दुर्याेधनले कर्णको क्षमताको प्रशंसा गर्छन्, क्षमतालाई नै महाधन बताउँछन् र कर्णसँग मित्रताको हात बढाउँछन् । राजखानदानको हुनुपर्ने आचार्य र गुरुहरूका कुरालाई जवाफ दिँदै उनले कर्णलाई अङ्गदेशको राजा घोषणा गर्छन् । कर्णले पनि दुर्याेधनको मित्रता स्वीकार्दछन् र जीन्दगीभर प्राण छोडेपनि साथ नछाड्ने वचन दिन्छन् । जन्मले होइन चेतनाले राज्य चल्ने र देशमाथि जनताको हक लाग्ने बताउँछन् कर्ण । भीमसेनले पनि तल्लो जातको भनी कर्णको अपमान गर्छन् । नवौँ सर्गको अन्त्यतिर जनता जागेको दिन राज्य नरहने तर्क छ –
भन्नै मात्र तिमी खुशीसँग बसी यो राज्य पेवा भन
तिम्रो राज्य रहन्न हेर जनता जागा भएको दिन ।
सर्ग दसमा जनताको लागि, झुपडीका गरिबको लागि राज्य भन्दै अनेक रूप र बहानामा चल्ने राज्य संस्थाको विषयमा चर्चा छ । राज्य चलाउनेमा अहङ्कार पलाए त्यही अहङ्कारले सकिने उल्लेख गर्दै अहङ्कारी राज्य निरङ्कुशताको पर्याय हुने तर्क छ । त्यस्तो निरङ्कुश राज्यले योग्य अयोग्य आफै घोषणा गर्ने काममा लाग्ने दृष्यको वर्णन छ । त्यस्तो राज्य जनताको रगत र पसिना खाई बाँच्ने व्याख्या छ । यद्यपि, कर्णजस्तो ज्ञान, क्षमता र चेतनाले युक्त जनतालाई राज्यले चपाउन नसक्ने तथा कर्ण बाँचे राज्यको लागि चुनौती बाँचिरहने उल्लेख छ । पक्कै पनि राज्यकै कमी कमजोरीले कर्णहरू जन्मन्छन् जो परिवर्तनका आरम्भ हन् । समयले सबै कुराको टुङ्गो लगाउने निष्कर्ष यसमा छ । केही हरफमा महाभारतको भूमिको नेपालीकरण पाइन्छ ।
सर्ग एघारमा युद्धको तयारीबारे उल्लेख छ । कुन्तीले कर्णसहित आफ्ना पाँच छोरा मारिएको र दुर्योधन राजा भएको सपना देख्छिन् । सपनाभन्दा पनि सम्भावित विपना ठान्दै चिन्तित कुन्ती एकमनले सबैको असलियत खोलिदिने सोच्दा आफू पनि नाङ्गिने विगतको सम्झनाले तर्सन्छिन् ।
कर्ण आफ्नी आमालाई जबरजस्ती गर्भाधान गराउने सूर्यलाई बा भन्न नपाएको गुनासो गर्छन् र आफ्नो क्षमताकै कारण आफू मारिने सम्भावना पनि सोच्दछन् । दासमनोवृत्ति तथा कुनै पनि कुरामा अडान लिन नसक्ने पाण्डवहरूभन्दा बोली र निर्णयमा सशक्त अहङ्कारी दुर्योधन सही सम्झन्छन् । समयलाई आफ्नो दास बनाउन चाहने कर्ण आफ्नी आमाको लाचारीप्रति आक्रोशित छन् र भविष्यहीन आफू वर्तमानमै बाँच्ने प्रण गर्छन् । आफ्नी आमा र बाबाको गोपनियता खोली हस्तिनापुरको राजा बन्नुभन्दा सङ्घर्षद्वारा नयाँ युगको बस्ती बसाउन चाहन्छन् उनी । जन्मने बित्तिकै नदीमा बगाइएको कर्ण मृत्युपछि पनि त्रिवेणीमै बग्न चाहन्छन् तर बाकसभित्र होइन पाण्डव विरूद्धको युद्धमा धनुषसहित । (सर्ग–बाह्र)
जीवनको अनेक आयामदेखि असमञ्जसमा रहेका कर्णलाई भेट्न कृष्ण आँउछन् र उनलाई हस्तिनापुरको जेठो छोरो भएकाले राजा बन्ने अधिकार रहेको बताउँछन् । युद्ध र नरसंहार रोक्ने चाह व्यक्त गर्छन् अनि कर्णलाई आफ्नो वास्तविकता राज्यसमक्ष राख्न उक्साउँछन् । कर्णको वास्तविकता भीष्म, विदुर र कुन्तीलाई थाहा भएको बताउँदै सत्य सार्वजनिक गर्न अनुमति माग्छन् । कर्णको जिन्दगीलाई भाग्यको खेल बताउँदै सम्झाउन खोज्छन् तर कर्ण असहमति जनाउँदै भन्छन् –
सोध्न बाँकी सयौँ प्रश्न नसोधीकन खात छन्
ढुकुटी चुस्न चाहन्नँ पौरखी दुई हात छन् ।
कृष्णको सोच र उद्देश्यलाई तुच्छ बताउँदै आफू धन सम्पत्तिको लोभी–लालची नभएको र राज्यविना बाँचेका जनतासँगै बाँच्न चाहेको बताउँछन्, कर्ण । कर्णले आफू किनिन र बेचिन तयार नभएको तर्क गर्दै कृष्णको प्रस्ताव ठाडै अस्वीकार गर्दा कृष्ण लाचार भई निस्कन्छन् । यस सर्ग (तेह्र) मा केही संस्कृत श्लोकहरू पनि छन् । सलल बगेका पाठकलाई यसले केहीबेर अड्काउनेछ । अर्थ पादटिप्पणीमा राखिदिएको भए अझ उत्तम हुने थियो ।
पाँच पाण्डवलाई सत्तालोभी चित्रण गर्दै सर्ग चौधमा दुर्योधन युद्धविना कुनै भूमि कसैलाई नदिने मनसायमा भएपछि युद्ध हुने निश्चित हुन्छ । तर, शत्रुको विशाल घेरा देखेर पाण्डव र कृष्ण तर्सन्छन् भने पाण्डव युद्ध लड्न चाँहदैनन् । युद्धको निम्ति पाण्डवलाई फकाई राजी बनाउँछन् कृष्ण । अर्जुन अझपनि आफ्नालाई मार्न तयार हुन्नन् । यता भीष्म र कर्णबीच युद्धको तयारीलाई लिएर विवाद हुन्छ ।

कर्ण राज्य र जनताबीचको दूरी कम गर्न वा जनताको हक अधिकार समानताको लागि युद्ध होस् भन्ने चाहन्छन् । जनताको चेतना वृद्धिको लागि युद्ध लड्नुपर्ने चाहना कर्णको छ । नयाँ युद्धले जनतालाई पनि राज्यको नीति निर्माण तहमा ल्याउनुपर्ने जिकिर छ । जात होइन श्रमको आधारमा उच्च मूल्याङ्कन र सम्मान होस् भन्ने चाहन्छन् उनी । तर, कर्णको सम्पूर्ण कुरामा दुर्योधन चेतनाशून्य भई ढुङ्गासरि उभिन्छन् ।

आफ्नै सन्तान एक अर्काको मृत्युको कारण बनेर युद्धमा होमिन लागेको विषयले कुन्तीलाई विक्षिप्त बनाउँछ । (सर्ग पन्ध्र)
सर्ग सो¥हमा कुन्ती र कर्णको भेट र संवाद छ । कुन्तीले आफ्नो विगत र कर्णलाई बगाउनुपर्नाको विलाप छ, बगाएपछिको पीडा व्यक्त छ । उनी युद्ध छोडेर पाण्डवका जेठा दाजु र राज्य रोज्न कर्णलाई आग्रह गर्छिन् । यसबाट पनि कुन्तीले राजसुख भोग्न मातृसुख त्यागेको बुभ्mन सकिन्छ । कुन्ती बलात्कृत भएकी थिइन् वा सहमतिमै सूर्यसँग सम्बन्ध स्थापित भो भन्नेमा अघिल्ला सर्गसँग यो सर्ग बाझिएको महसुस पाठकलाई हुन्छ कुन्तीलाई अरूको निम्ति होइन आफ्नै निम्ति बाँच्न कर्णको अनुरोध छ । व्यक्तिगत स्वार्थको लागि आफू नबाँचेको तर्क छ । काख नपाएको आफूलाई मनमा नराख्न कर्णको आग्रह छ । कुन्तीको सम्पूर्ण दुःखको कारण स्वयम् उनी नै भएको तथ्य राख्छन् कर्ण । नारी हुँदैमा सबै दासता, दुःख सहनुपर्छ भन्ने मान्यता त्याग्नु पर्ने र विद्रोहमा उत्रनुको विकल्प नरहेको कर्णको तर्क छ र सबै दुःखको कारण दरबारविरुद्ध उभिन आह्वान छ–
आगो नबालीकन हुन्न तातो
छ नारी तिम्रो पनि रक्त रातो !
युद्धको लागि अन्तिम युद्ध मन्त्रणासभा हुन्छ । अर्जुन र पाण्डवलाई मारेर राज्य आफ्नो बनाउने प्रण गर्छन् दुर्योधन । दुर्योधनलाई आफ्नै पिता र वरिपरिका आफन्तको विश्वास नगर्न र आफूलाई सारथी बनाउन सुझाव छ कर्णको । युद्ध दुःखी गरिब जनताको निम्ति लड्न सुझाव दिन्छन् । राज्य श्रम शोषणको केन्द्रमात्र हुन नहुने तर्क गर्दै गरिबले दुर्योधनको विजयको लागि मात्र हो भने किन लड्ने भनी प्रश्न गर्छन्, सर्ग सत्रमा–
झुप्रोले किन लड्ने हो–महायुद्ध तिमीसँग
तिम्रो विजयमा अर्काे युद्ध लड्न तिमीसँग ?
कर्ण राज्य र जनताबीचको दूरी कम गर्न वा जनताको हक अधिकार समानताको लागि युद्ध होस् भन्ने चाहन्छन् । जनताको चेतना वृद्धिको लागि युद्ध लड्नुपर्ने चाहना कर्णको छ । नयाँ युद्धले जनतालाई पनि राज्यको नीति निर्माण तहमा ल्याउनुपर्ने जिकिर छ । जात होइन श्रमको आधारमा उच्च मूल्याङ्कन र सम्मान होस् भन्ने चाहन्छन् उनी । तर, कर्णको सम्पूर्ण कुरामा दुर्योधन चेतनाशून्य भई ढुङ्गासरि उभिन्छन् ।
सर्ग अठारमा युग कसैको पेवा नहुने, युग पसिनाको र पसिना युगको हुने उल्लेख साहित्यकार गर्छन् । दाजुभाइबीच अंशबण्डाको लागि भएको महायुद्धको १५ दिनको वर्णन छ, यस सर्गमा । यस अवधिमा द्रोणाचार्य मारिन्छन् र भीष्म घाइते हुन्छन् । कौरब पक्ष सेनापतिविहीन हुन्छ । आगामी रणनीतिबारे बैठक बसिन्छ । जनता र दरबारबीच गहिरो खाडल निर्माणमा प्रमुख भूमिका खेल्नेमध्ये एक द्रोणाचार्यका छोरा अश्वत्थामाले आफ्ना बाबुको विभेदमा परेका उही कर्णलाई आगामी युद्धको प्रधान सेनापति बनाउन वा त्यही दरबारको रक्षा गरिदिन याचना गर्छन्, कर्णले स्वीकार्छन् ।
तर, राज्यविरूद्ध लड्न राज्यकै मतियारहरूलाई सघाउने कर्णको निर्णय नै गलत छ, जनतालाई राज्यविरूद्ध एकगठ नगरी उनले सोचेजस्तो जनताको दरबार कसरी ठडिन्थ्यो र ? सर्ग उन्नाइसको हरफ पनि भन्छ –
मालिकहरूको लडाइँ
मालिकहरूको इष्र्या र अहङ्कार
मालिकहरूकै जीतहार
कौवालाई बेल पाकेर न हर्ष न विस्मात् !
यस सर्गमा युद्धभूमिको विभत्स दृष्य चित्रण छ । चेतना र विवेकको भन्दा हतियारको मूल्य बढेको व्याख्या छ । युद्ध रोक्ने मनसाय नभएका तर युद्धको बखान सुन्न लालायित धृतराष्ट्र र यति हुँदासम्म पनि आँखामा पट्टि बाँधिराख्ने गान्धारीहरू पनि युद्धका कारक रहेको स्पष्टोक्ति छ ।
युद्ध भूमिबाट युधिष्ठिर भाग्छन्, अर्जुन पनि सँगसँगै भाग्छन्, अर्जुनको सामथ्र्यमाथि प्रश्न उठाई कर्णलाई नमारेको भन्दै युधिष्ठिर अर्जुनसँग रिसाउँछन् । कर्ण र अर्जुन आमनेसामने हुन्छन् । कृष्णले चलाखी गरी शङ्ख फुकेर युद्ध स्थगन गर्छन् र अगामी युद्ध थेग्न नसकिने परिकल्पना गर्छन् । कर्णले नकुललाई प्राणदान दिएका हुन्छन् ।
सर्ग बीस गद्यमा लेखिएको छ । युद्ध मैदानमा पाण्डव पक्षको उत्साह हराएको तर कर्णको उर्जा अझ तेजिलो भएको स्थितिको चित्रण छ । भीष्म पनि घायल छन्, प्राण पर्खँदै छन् । कर्णपुत्र वृषसेन रणमैदानमा उत्रन्छन्, पराक्रम देखाउँछन् । आफ्नो छोरो अभिमन्यु मारिँदा साक्षी बस्ने कर्णप्रति बदलाभाव राख्दै अर्जुनले वृषसेनलाई वाण प्रहार गरी मार्छन् । जसरी कर्ण दृढ अडान राख्ने सुरवीर हुन् त्यसरी नै दृढता देखाउने अभिमन्युलाई कलिलो उमेरमै चक्रव्युहमा फसाएर मारेको अन्य साहित्यमा पढ्न पाइन्छ । सुरक्षाको वाचा दिएर चक्रव्युहमा पठाउने पाण्डवहरू नै अभिमन्युको असली हत्यारा भएको पनि बताइन्छ । अभिमन्यु कसरी मारिए त्यसको पनि वर्णन यस काव्यमा भइदिएको भए राम्रो हुन्थ्यो ।
आफ्नो छोरो मारिएपछि क्रोधित कर्ण र अर्जुनबीच घमासान युद्ध हुन्छ । मित्रता र कर्तव्य पालनाका लागि कर्ण युद्धमा रहेको वर्णन छ । पसिनाको कमाइ खाने र दरबारको भागबण्डा चाहने दुई विपरीत स्वार्थको लडाइँ वा सत्ताप्राप्तिका लागि लड्ने २ पक्ष (कौरव÷पाण्डव) र सत्यको निम्ति लड्ने (कर्ण) बीचको त्रीकोणात्मक सङ्घर्षको रूपमा पनि ‘महाभारत युद्ध’ लाई लिन सकिन्छ । कुन्तीले पाँच छोराको प्राणदान माग्दा दिएको वचनमा अडिग छन् कर्ण । तर, वीरता र करूणाको सन्तुलन बनाइराख्न निकै पीडा हुन्छ कर्णलाई । मान्छेको लासका बिस्कुन सुकाएर सत्ताप्राप्तिको सपना कोरलिरहने युधिष्ठिरका कारण लडाइँ लम्बिरहन्छ । पटक–पटक लडाइँको मैदान छाडी भागेका पाण्डवहरूलाई प्रहार नगर्ने कर्णदेखि दुर्योधन अचम्भित र शसङ्कित हुन्छन् । हार्न नजानेका दुर्योधनले आफ्नो हारसँगै राज्यहिंसा टुङ्गिने कल्पना गर्छन् तर युद्धमै होमिने प्रण गर्छन् । युद्ध हारेपनि जितेपनि मित्रता हार्न नचाहेका दुर्योधन कर्णले विश्वासघात नगर्नेमा पुनः विश्वस्त हुन्छन् र आफू जसरी पनि राजा हुने सङ्कल्प गर्छन् । दुर्योधनका लागि जे गर्न पनि तयार कर्ण अर्जुनलाई मार्नु नै युद्धको मुख्य अंश रहेको र अरूलाई मार्नुको अर्थ नरहेको भाव व्यक्त गर्छन् सर्ग एक्काइसमा –
हाँगाहाँगा जति काट जराले रूख बाँच्दछ
अर्जुन नमरेसम्म फेरिन्न युद्धको मुख ।
सर्ग बाइसमा पाण्डव युद्ध हारिन्छ भन्ने मानसिकतामा हुन्छन् तर कृष्ण जितिने पुष्ट्याइँ गर्छन् । विश्वासघात, जालझेल, छल, गरेर भएपनि युद्ध जित्ने भरोसा दिलाउँछन्, युद्धमा न्यायको रूप नखोज्न आग्रह गर्छन् । वीरता र तागतले मात्र कर्ण नमारिने कृष्णको तर्क छ । सारा अन्याय सहेर चट्टानझैँ कर्ण कसैसँग नहार्ने वीर पुरुष भएको कृष्णको चित्रण छ । युद्धमा क्षमतावान्लाई मार्न षड्यन्त्र नै गर्नुपर्ने तर्क छ । कृष्णका हरेक चालबाजी मान्न तयार पाण्डव उनलाई देवता मान्छन् । राजाहरूका मतियारको रूपमा चित्रण दैवी आवरणको चतुर मान्छेको रूपमा कृष्णको व्याख्या छ । पाउ ३५ (हुनुपर्ने ३६) मा पद चाप शब्दको सट्टा पद चिन्ह भइदिएको भए उपयुक्त हुने थियो ।
कृष्णको सोचविपरीत कसैलाई मारेर वा व्यक्तिगत हत्याले सामन्ती संस्कार र सोच अन्त्य नहुने कर्णको विचार छ । कर्ण मान्छे होइन उसको प्रवृत्ति मार्न चाहन्छन् । हस्तिनापुरको सत्ता र सत्ताधारीबारे सर्ग तेइसमा साहित्यकार लेख्छन् –
आँखा नदेख्ने धृतराष्ट्र
मन नदेख्ने तिनका सन्तान
शरीर रोगी पाण्डु
मनरोगी तिनका सन्तान
सबैको टुपी रिङाउने
चतुर कृष्ण
ठूलो देशको राजदूतले
सानो देशको सत्ता हलचल गरेजस्तो ।
यी हरफ पढिरहँदा विस्तारवादी नीति लिएको भारतका राजदूतहरूले नेपालका सरकार र शासक दलहरूलाई पारेको प्रभावको सम्झना गराउँछ । सिंहदरबार र बानेश्वर वा प्रमुख सरकारी निकायहरूमा भारतीय दूतावासबाट एक फोन आउँदा त्यहाँका कामकारबाहीमा गतिरोध उत्पन्न भएको भुक्तभोगीहरू बताउँछन् ।
यस सर्गमा पनि महाभारत युद्धको विभत्स चित्रण र दृष्य वर्णन छ । अश्वत्थामालगायत सबको भागभाग हुन्छ, नकुल मारिन्छन् । अर्जुनसँग आफ्नी आमा मारिँदाको बदला लिन अश्वसेन (नाग) कर्णलाई आफूलाई वाणमा राखी प्रहार गर्न भन्छन् र आफूले अर्जुनलाई मार्न सहयोग गर्न चाहेको बताउँछन् । तर, जालझेल होइन आफ्नै क्षमताले लड्ने दृढता व्यक्त गर्दै कर्णले उक्त प्रस्ताव अस्वीकार गर्छन् । अश्वसेन कर्णको इमानप्रति श्रद्धा व्यक्त गर्दै फर्कन्छन् । तर, विक्षिप्त अर्जुनले अश्वसेनलाई तीन टुक्रा पार्छन् । कर्णको चरित्र र युद्धको स्वरूपमा घाम र जूनजत्तिकै अन्तर भएको व्यक्त छ ।
क्षितिजमा फैलिएको मैदान रगतले भिजेको छ, रगत र मासुको गन्धले काग–गिद्धहरू नै अस्वस्थ भइसकेको ‘महाभारत युद्ध’को परिदृष्य छ । भनिन्छ यस युद्धमा विश्वको ८० प्रतिशत जनसङ्ख्या सखाप भएको थियो ।
हिलाम्य र चिप्लो भुईँमा कर्णको रथ कोल्टे पर्छ, रथको पाङ्ग्रा निकाल्न कर्ण हतियार राखेर तल ओर्लन्छन् । यसरी ओर्लन पाउनु युद्धको आचारसंहितामा पर्ने हुँदा पनि निहत्था कर्णमाथि प्रहार गर्न अर्जुनलाई कृष्ण इसारा गर्छन् । तर, अन्यायी प्रहार गर्न नसक्ने अर्जुनको भनाइ भएपनि कृष्णको इसारामा चल्न बाध्य अर्जुनले अन्त्यमा निहत्था कर्णलाई पछिल्तिरबाट प्रहार गर्छन्, कर्ण घाइते हुन्छन् । घाइते कर्णको मुखबाट ‘आमा’ शब्द निस्कन्छ तर कुन आमा उनी आफै अनभिज्ञ छन्– कुन्ती या राधा ¤ एउटै युद्धमा एक आमाको पराजय र अर्को आमाको विजय सायद संसारकै पहिलो घटना भनी व्यक्त गर्छन्, साहित्यकार ।

जात, कूल, थरको आधारमा नभई सीपका आधारमा मान्छेलाई पुज्नुपर्ने तर्क गर्दै कवि अत्याचारविरूद्ध सयौँ युद्ध कलमरूपी हतियारद्वारा गर्ने उद्घोष गर्छन् । यसले अन्य साहित्यकारहरूलाई पनि उत्साहित गर्ने नै छ ।

महाभारत युद्ध १८ दिनसम्म चल्छ । घाइते कर्ण अर्जुनलाई न्यायको लागि भन्दै अन्यायपूर्ण लडाइँ लडेको र सामथ्र्य देखाउन नसकेको प्रश्न गर्छन् । युद्ध युद्ध नै बिर्सेर हत्याको तहमा झरेको कर्णको गुनासो छ । छल गरेर जितेको युद्धको गरिमामाथि नयाँ पुस्ताले प्रश्न गर्ने भनाइ छ । युधिष्ठिर राजा हुँदैमा जनताको दुःख अन्त्य नहुने तर्क छ । त्यसो त कौरव पक्षले जित्दा पनि स्थिति त्यस्तै हुने थियो । अर्जुनलाई हिंसा छाडी जनविश्वास जित्न आग्रह छ । कर्णको मृत्युसँगै युद्ध समाप्तिको शङ्ख बज्छ ।
सर्ग चौवीसको उपर्युक्त हरफले नेपालको कथित जनयुद्ध र त्यसपछिको समयको पनि झल्को दिन्छ –
सत्ताको युद्ध भो व्यर्थ जनता दुक्खमै बसे
दुक्खमै जनता बाँच्छन् सपना भूईँमा खसे ।
सर्ग पच्चिस वा अन्तिम सर्गमा उपसंहार छ । महाभारतकालीन समयलाई अहिलेको युगसँग दाँज्छन् कवि । आज पनि लाखौँ कर्ण अनि त्यस्तै राज्यसत्ता रहेको भाव पोख्छन् –
त्यही राज्य अघोरी छ –अन्याय अपराध छ
जहाँ सामन्ती संस्कार पूरै राज्य अङ्गाल्दछ ।
नेपालका राजनीतिक शासक दलहरूलाई लेखकको आग्रह छ–
चारतारा तथा सूर्य हथौडा हँसिया सुन
तिम्रा कर्महरू के छन् पढ जाँच स्वय्म चिन ।
तर, यी सबै पार्टी महाभारतका पाण्डव र कौरवका नेपाली संस्करण हुन् भन्दा फरक नपर्ला ¤ जसलाई जनसुख होइन मात्र सत्तासुख चाहिएको छ । सूर्य, हँसिया हथौडा अर्थात् अहिलेको नेकपा पनि सामन्ती सोच भएको पुँजीवादी पार्टी नै हो । आज यहाँ न्यायको निम्ति लड्ने कर्णहरू मारिइँदै छन् अनि मार्नेहरू दरबार पस्दै छन्, कविले भनेझैँ –
तिमी कर्णहरू सारा मारेर नबसे कतै
मृत्युको रङ टेकेर दर्बार नपसे कतै ।
जात, कूल, थरको आधारमा नभई सीपका आधारमा मान्छेलाई पुज्नुपर्ने तर्क गर्दै कवि अत्याचारविरूद्ध सयौँ युद्ध कलमरूपी हतियारद्वारा गर्ने उद्घोष गर्छन् । यसले अन्य साहित्यकारहरूलाई पनि उत्साहित गर्ने नै छ ।
महाकाव्यमा सबैभन्दा छोटो सर्ग एघारौँ हो भने सबैभन्दा लामो सर्ग नवौँ रहेको छ । सर्ग ५, ७, १६, २०, २२ र २३ मा पाउ क्रम सङ्ख्या मिलेको छैन । सङ्ख्या नमिलेको हो वा पाउ नै छुटेको, पाठक अलमलमा पर्नेछन् । मुद्रा राक्षसले सताएकै छ, वर्ण विन्यास अझ मिलाउन सकिन्थ्यो । व्यक्तिगत मूल्य रू.२५० र संस्थागत रू.५०० अहिलेको बजारभाउअनुरूप ठीकै होला । क्षमताले उठ्न खोज्ने हर युगका कर्णहरूप्रति समर्पित यस महाकाव्यले साहित्य जगतमा एउटा नयाँ आयाम थपेको मान्न सकिन्छ । पठनीय महाकाव्य ‘कर्ण’ को निम्ति साहित्यकार लम्साललाई धेरै–धेरै धन्यवाद !

One response to “हार्नेहरूको साँचो इतिहास ‘कर्ण’ महाकाव्यबारे”

  1. Bindu Hamal says:

    मीठो बोली बोल्ने मान्छे सबै असल हुन्छन् भन्न सकिँदैन ।
    मीठो …!
    हो !साच्चिकै सहि श्रमको आधारमा मान्छेलाई हेरिनुपर्छ ।
    कर्ण !

Leave a Reply

Your email address will not be published. Required fields are marked *