भर्खरै :

विवाह – एक दुःस्वप्न

रूपवती पुल्पुलिएर हुर्किएकी थिइन् । गाउँमा कान्छी छोरी धेरैजसो त्यसरी नै हुर्किएका हुन्थे । विवाह भयो । उनको विवाहित घरमा श्रीमान् र सासू–ससुरामात्र थिए । विवाहको १० वर्षमा सासू–ससुरा दुवै बिते । सबै घर रूपवतीले नै हेर्ने भइन् । त्यस अवधिमा एक छोरा र एक छोरी भए । सानो परिवार भएकाले उनकै खटनपटन चल्थ्यो । रूपवतीको श्रीमान् माध्यमिक तहको गणितका शिक्षक थिए तर सा¥है सिधा, सबैसँग मिलेरै बस्ने । महिनाको ३० हजारभन्दा बढी नै मासिक तलब थियो । छर–छिमेकले उनलाई ‘मार्साब’ भनी बोलाउँथे ।
छोराछोरी ठूला भए । छोरो एउटा सहकारी संस्थामा लेखापाल भयो र महिनामा १५–२० हजार कमाउँथ्यो । छोरी एउटा विद्यालयमा अङ्ग्रेजी शिक्षिका भइ । छोरी निजी स्रोतको तलब खाने भएकीले महिनाको २० हजार मात्र पाउँथि । रूपवतीको परिवारको आफ्नै घरको भुर्इँतलामा सानो खुद्रा पसल पनि थियो ।
छोरोले व्यवस्थापनमा स्नातक गरेपछि एउटा बैङ्कमा काम पायो । छोरोको उमेर २५ र छोरीको उमेर २३ पुगेको हुँदा बारम्बार विवाहको कुरो चलिरहेको थियो । एकदिन रूपवतीले श्रीमान्सँग आदेशकै भाषामा भनिन्– “छोरा–छोरीको विहा कस्तो घरमा गर्ने, कुन जातमा गर्ने म निर्णय गरूँला, तपाईँ चूप लागेर बस्नुस्, घरको बन्दोवस्त विद्यालयको गणित होइन !” मार्साबले ठट्टाको भाषामा बोल्यो– “लौ, छोरा–छोरी त तिम्रै हुन्, म दर्शक नै बनूँला होइन ?”
दुई चार दिनपछि रूपवतीले घोषणा गरिन्, “हेर बुढा, छोरोको विवाहको निम्ति सल्लाघारीको एउटा निजी प्राथमिक विद्यालयकी शिक्षिकासँग कुरो टुङ्गिसकेको छ । आमा–बाबु पनि भलाद्मी छन्, सानोठिमीका हन् । दाजु–भाइ व्यापारी हुन्, घरको बन्दोवस्त ठीकै छ । छोरीलाई बनेपाको एक होटलको मालिकको छोरोसँग कुरा मिलाएकी छु ।” मार्साबले लाचारीसाथ हत्केला पल्टाउँदै भने, “तिमीले अरूलाई वचन नै दिइसकेपछि के कुरा गर्ने ! भैगो ! बरु केटाकेटीसँग कुरा गरिसक्या हो ?” तिनले भनिन्, “हो, तिनीहरूको आपसमा भेटघाट पनि भइसकेको छ रे !”
xxx
घरमा विभिन्न रङ्गरोगन सुुरु भयो । छोराको कोठा र छोरीको दाइजोको निम्ति दराज र सोफासेटको बन्दोवस्त गरियो । साथै, एकपटक घरको रङ्गरोगन गरेपछि ५–१० वर्ष केही गर्न नपर्ने भन्ने कुरा थियो । भुईँमा पनि जाडो महिनाको निम्तिसमेत काम लाग्ने अलि राम्रै कार्पेट ओछ्याइयो ।
घरको शृङ्गारको निम्ति झन्डै ४ लाख रुपैयाँ खर्च गरियो । दोस्रो र तेस्रो तलामा कार्पेट बिछ्याउँदा एक डेढ लाख गइहाल्यो । रङ्गरोगन त्यत्तिकै महँगो भयो । दुवै तलामा कौच र टेबुलहरू राखिए । छोरा–छोरीको निम्तिमात्र फर्निचरमै ४–५ लाख रुपैयाँ खर्च गरियो । भोजपनि घरमा होइन ठूलै बैङ्क्वेटमा दिनै प¥यो ।
रूपवतीले छलफलको बीचैमा बोलिन्– “अलि–अलि देशी र विदेशी रमझमे झोल त राख्नैपर्छ नि ! जिन्दगीमा एक–चोटी हुने त हो विहा ! अर्को त २०–२५ वर्षपछि मात्रै हुने होला ! छोरा–छोरीका साथीभाइ, अफिस र स्कूलका स्टाफहरू बोलाउनै प¥यो ! तपाईँका विद्यालयका स्टाफ, यहाँका नातागोता र मेरो माइती खलक टुट्नै भएन, अनि ?” अन्तिम बोली बोलिन्, “५ लाख रुपैयाँभन्दा कम नहोला भनी मनमा राख्नुस् !” “लौ, हाम्रो बजेट नै त्यत्ति होला !’– मार्साबले लाचारी देखायो ।
विहाको भोजपनि सकियो । दुलही भित्र्याइयो, छोरीको बिदाइ भयो । अन्य रीतिथिति पनि सकिए ।
xxx
एक–दुई महिनासम्म छर–छिमेकी र चोकमा नयाँ बुहारी र छोरीको आवत–जावतबारे महिलाहरूबीच अनेक कुराकानी हुने नै भयो । मार्साबको विद्यालयको एउटा कक्षाका विद्यार्थी लिएर महाकाली नदीको भ्रमण गएको टोली फिर्ता भइरहेको थियो । चितवनको नारायणघाटमा काठमाडौँबाट हुइँकिएको लामो बसले विद्यालयको बसलाई हान्दा मार्साब बिते । केही छात्रछात्रलाई चोटपटक लाग्यो । मार्साबको घरपरिवार र विद्यालयमा हाहाकार मच्चियो ।
पशुपति आर्यघाटमा अन्तिम संस्कार सिध्याएर छोरा, आमा र नातागोता घर पुग्दा फर्निचरवालाले घरबाट फर्निचरहरू लगिरहेका थिए । कार्पेट वालाहरूले ओछ्याइएको कार्पेट नै उठाएर लगे । फर्निचर र कार्पेट वालाहरूको झन्डै एक–डेढ एक–डेढ लाख दिनुपर्ने बाँकी थियो । मार्साब इमानदार सिधा र सोझो भएको हुनाले टोलका दुष्टहरूले ‘मार्साबको धेरै साहु लागेको छ” भनी हल्ला फैलाएका रहेछन् । साहुहरूले एक वचनसम्म नसोधी सबै सामान उठाएर लगे ।
अप्ठेरो स्थिति बुझेर विद्यालयका स्टाफ र छरछिमेकी मार्साबको घरमा पुगेर सान्त्वना दिए । रूपवतीले भनिन्, “अलमलले पो दिन पाइनँ, पैसा नभएको त होइन नि !’’ रूपवतीले सान्त्वनाको निम्ति सबै आगन्तुकलाई धन्यवाद दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *