भर्खरै :

लेनिन कथा – ३३, अन्तिम बिदाइ र क्रुप्सकाया

(विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने गहकिलो एवम् प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मारिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
अघिल्लो अङ्कमा हामीले लेनिनको बढ्दै गएको रोग, उहाँको उपचारमा खटिएका डाक्टरहरूको डर, क्रुप्सकायाले लेनिनको जीवन रक्षामा गरिरहेको अथक प्रयास, लेनिनले मृत्युसँग गरिरहेको सङ्घर्ष साथै लेनिनको अकल्पनीय मृत्युबारे सविस्तार पढ्यौँ ।)
उभिनुहोस् साथीहरू !
इन्जिन नम्बर ‘ऊ–१२७’ ले गृहयुद्धताका अनगिन्ती लाल सैनिक र छापामारहरू चिनेको थियो । युद्ध अवधिभरि त्यसले सैनिक र हातहतियारहरू मोर्चामा पु¥याएको हुन्थ्यो । मोर्चाबाट घाइतेहरूलाई क्याम्पमा ल्याउँथ्यो । त्यसले दिनरात काम गथ्र्याे । श्वेत गार्डहरूका गोलाबारुदले त्यसलाई जर्जर बनाएको थियो । लडाइँ सकिँदै गर्दा त्यो एकदम बेकार भएको थियो ।
तर, सोभियत जनताले देशको अर्थव्यवस्था पुनःनिर्माण गर्न सुरु गरेपछि भने त्यसको सम्झना आयो । मजदुरहरूले रद्दी इन्जिनहरूको थुप्रोमा त्यसलाई भेट्टाए । उनीहरूले त्यसलाई मर्मत गरी पुनः काममा ल्याउने फैसला गरे ।
मर्मत सफल भयो । इन्जिन नम्बर ‘ऊ–१२७’ वर्कसपबाट नयाँ इन्जिनजस्तै चिरिच्याट्ट भएर निस्कियो । मर्मत गर्ने मजदुरहरू पार्टीका सदस्य थिएनन् । तैपनि उनीहरूले ओभरटाइमको समय खर्चेर तयार गरेको नयाँ इन्जिन कम्युनिस्टहरूलाई कोसेली दिए । लेनिनलाई त्यसको मानार्थ ड्राइभर घोषित गरे ।
लेनिनको निधन हुँदा यस इन्जिनलाई एउटा अत्यन्त शोकपूर्ण काम सुम्पियो । त्यस इन्जिनले लेनिनको पार्थिव शरीर गोर्कीबाट मस्को पु¥याउनुपर्ने भयो । रातभरि, दिनभरि र फेरि अर्को रातभरि आसपास र दूरदराजका गाउँबस्तीबाट मजदुर र किसानहरू आफ्ना प्रिय नेतासँग अन्तिम बिदाइ लिन गोर्की आइरहे ।
चिसो असाध्यै थियो । बेलाबेला बर्फिलो बतास चलिरहेको थियो । गोर्कीका पार्कहरूमा हावासँग हल्लिँदै गर्दा रुखका हाँगाबिँगा सिसाझैँ बज्थे । अग्लो भवनका सेता खम्बाहरू काला र राता कपडाहरूले बेरिएका थिए । हिउँमाथिका फूलहरूले वातावरण अझ विषादपूर्ण बनाइरहेका थिए ।
मजदुर, किसान, साथी र सरकारका सदस्यहरूले पार्थिव शरीर आफ्नो काँधमा उठाए । घरदेखि चार भेस्र्तको दुरीमा रहेको स्टेशनसम्म लिएर गए । त्यहाँबाट इन्जिन नम्बर ‘ऊ–१२७’ ले त्यसलाई मस्को पु¥याउनुपर्ने थियो ।
मात्वेइ कुज्मिच लुचिनले २१ वर्षदेखि रेल चलाइरहेका थिए । यसपालि ‘ऊ–१२७’ चलाउने जिम्मा उनलाई सुम्पिएको थियो । गाडी कतै नरोकिई अगाडि बढिरहेको थियो । लेनिनको अर्थी ठीक एक बजे मस्को पु¥याउनुपर्ने थियो ।
गोर्कीदेखि मस्कोसम्म बाटोभरि रेलमार्गका किनारमा मजदुर र किसानहरू लहरै उभिएका थिए ।
नजिकै पुग्नेबित्तिकै इन्जिनले लामो शोकपूर्ण हरन बजाउँथ्यो । मानिसहरू आफ्नो ठाउँमा अडिन्थे । निश्चल भई पटरीहरूमा उभिइरहन्थे । काँधमा काँध मिलाएर एकदम मौन रहन्थे । इन्जिन स्टेशनसम्म पुग्न पाउँदैनथ्यो र रोकिन्थ्यो । अनि ड्राइभरले केभिनबाहिर निस्केर मानिसहरूसँग भन्थे –
“साथीहरू ! लेनिन यस इन्जिनका मानार्थ ड्राइभर हुनुहुन्थ्यो । म कहिल्यै ढिलो हुने छैन भनी मैले उहाँलाई बचन दिएको थिएँ । आज मैले ठीक एक बजे मस्को पुग्नुपर्ने आदेश पाएको छु । मलाई बचन पूरा गर्न दिनुहोस् । लेनिनलाई दिएको बचन… ।”
यति भन्दै गर्दा उनका आँखाबाट बलिन्द्र धारा आँसु झर्थे । झुम्मिएका मानिसहरू पनि रोइहाल्थे र गाडीलाई बाटो छोडिदिन्थे ।
मस्को । साथीहरूले लेनिनको पार्थिव शरीर पुनः काँधमा उठाए । मस्कोको सडक हुँदै अघि बढे । मौन उभिएका हजाराँै मानिसको हुलको बीचबाट उनीहरूले उक्त शवलाई बिस्तारै ट्रेड युनियन भवनतर्फ लिएर गए ।
अचानक छतमाथिको आकाश गर्जियो । हवाईजहाज धेरै तलबाट उडिरहेका थिए र सेता परेवाजस्ता पर्चाहरू यताउता उड्न लागे । मानिसहरूले पर्चा समाते । लेनिनको बारेमा पढे ।
चोक–चोकका स्ट्यान्डहरूमा लेनिनको जीवनी बताउने पोस्टरहरू टाँगिएका थिए । लेनिन अत्यन्त विनम्र व्यक्ति थिए । आफ्नो बारेमा कसैलाई लेख्न दिँदैनथे । तर, उनी नरहेपछि भने मानिसहरूले उत्कण्ठापूर्वक लेनिनको महान् जीवनका सङ्क्षिप्त कहानीहरू पढिरहेका थिए । कठोर चिसो थियो । मस्कोका सडकमा ठाउँ–ठाउँमा आगो बलिरहेको थियो । दिनरात ट्रेड युनियनतिर मानिसहरूको अन्तहीन लस्कर लागिरहेको थियो । मानिसहरू केहीबेर अडिएर आगोनजिक आफूलाई तताउँथे, अनि हिँड्थे वा चिसोले नजमोस् भनी एकै ठाउँमा उभिएर खुट्टा फड्कारिरहन्थे । मानिसहरूको घुइँचो सुस्तरी अघि बढिरहेको थियो ।
लस्करमा मस्कोवासीहरू पनि थिए । देशका अन्य भागहरूबाट आएका मानिसहरू पनि थिए । रूसी, युक्रेनी, आर्मेनियाली, जर्जियाली, बेलारूसी, कजाखी… सबै थिए । धेरै विदेशी कम्युनिस्ट र मजदुरहरू पनि लेनिनको अन्तिम दर्शन गर्न आएका थिए ।
ट्रेड युनियन भवनमा लेनिनको शव फूलहरूको सागरमा डुबेको थियो । शोकधुन बजिरहेको थियो । मानिसहरूले चुपचाप शवलाई परिक्रमा गरिरहेका थिए ।
आइतबार, २७ जनवरीमा मस्कोको समयअनुसार चार बजे लेनिनको अन्त्येष्टि गरियो ।
लाल मैदानमा समाधि–भवन बनाइयो । भीषण जाडोमा तीन दिनसम्म खटेर त्यसलाई तयार पारिएको थियो । त्यसबेला यो भवन काठले बनाइएको थियो । पछि त्यस स्थानमा गे्रनाइट र सङ्गमर्मरको भव्य समाधि निर्माण गरियो ।
२७ जनवरीको बिहान । कलकारखानाहरू, सोभियत जनतन्त्रका विभिन्न सहर र विदेशी कम्युनिस्ट पार्टीहरूका अनगिन्ती प्रतिनिधिमण्डल लाल मैदानमा श्रद्धाञ्जली अर्पित गर्न आए । त्यहाँ बिहानैदेखि जनवरीको हिउँमय आकाशमुनि एक उँचो मञ्चमा राता झण्डाहरूले ढाकिएको लेनिनको शव राखिएको थियो ।
सलामी दिने सैनिकहरू अटल भई उभिए । लाल मैदान नै स्तब्ध भयो । विश्वकै पहिलो समाजवादी क्रान्तिका नेताको शवछेउबाट घोडचढी सेना सलामी दिँदै लम्कियो । त्यसको पछि–पछि आर्टिलरी सैन्यदलहरू पनि लेनिनलाई अन्तिम सलामी दिन आए । अनि मजदुरहरूको लस्कर लाग्यो । मञ्चनजिक पुग्दा उनीहरूले आफ्ना शोकध्वजा झुकाउँथे ।
ठीक चार बजे गाउँघर र सहरहरूमा रेडियोले फुक्यो, “उभिनुहोस् साथीहरू ¤ इल्यीचको शवलाई समाधिमा राखिँदै छ ।” कलकारखानामा मेसिनहरू रोकिए । सडकमा यातायात ठप्प भयो । टाउको झुकाएर मानिसहरू उभिए । विदेशमा मजदुरहरूले काम रोके । पाँच मिनेटसम्म सबै मौन रहे र कारखानाका हरन बजिरहे । रेलहरू पनि रोकिए । सागरमा हाम्रा जहाज अडिए । खेतबारी, गाउँघर, कलकारखाना, सहरबजार र हाम्रो मातृभूमिको आकाशमा शोकको सान्त्वनाविहीन ध्वनि अबेरसम्म गुञ्जिइरह्यो ।
लाल मैदानमा बर्फिलो बतास चलिरहेको थियो । शोकाकुल झन्डाहरू फर्फराइरहेका थिए । अनुहारहरूमा आँसु जमेका थिए ।
तोपहरूको गर्जनसँगै लेनिनलाई अन्तिम बिदा दिइयो ।
लेनिनको शव सदाको लागि समाधिमा राखियो ।
साँझ परिसकेको थियो । तर, मानिसहरूको हुल लाल मैदानमा लेनिनको स्मारकछेउ गुज्रिरहेको थियो… गुज्रिरहेको थियो ।
चेरी फुल्न थाले
वसन्तयाम सुरु भयो । गोर्की गाउँको पार्कमा चराचुरुङ्गी फर्किए । आफ्ना उल्लासपूर्ण चिर्बिरले रनबन घन्काउँदै नयाँ गुँड बनाउन थाले । पुराना गुँड मर्मत गर्न थाले । आकाशको उच्च र अथाह निलो बिस्तार झनै मनमोहक हुनथाल्यो । सानो तालमाथि पारदर्शी पखेटा भएका वनहाँसहरू सूर्यको किरणसँगै बयली खेल्न थाले ।
क्रुप्सकाया तालको किनारमा केहीबेर अडिइन् । उनले गोर्कीस्थित पार्कमा लेनिनका सबै प्रिय ठाउँ र गोरेटा चिनेकी थिइन् ।
तर, त्यहाँ लेनिनले देख्न नपाएको एउटा विशेष ठाउँ पनि थियो । क्रुप्सकायालाई यो ठाउँ असाध्यै मनपथ्र्यो । यसबेला उनी पुनः यहाँ आएकी थिइन् । उनी यहाँ राखिएको बेन्चमा बसिन् । घुँडामा चाउरिएका हात अड्याउँदै विचारमा हराउन थालिन् ।
यहाँ चेरी फुलिरहेका थिए । बोटहरू अहिले भर्भराउँदा थिए । तिनका हाँगाबिँगा लचिला, पातला, गाढा र चम्किला राता थिए ।
ती बोट पहिलोचोटि फुलिरहेका थिए । लेनिनले तिनलाई फुल्दै गरेको देख्न पाएका थिएनन् ।
पछिल्लो शरद्मा ग्लुखोभो फ्याक्ट्रीका मजदुरहरू लेनिनलाई भेट्न गोर्की आएका थिए । चिट्ठीपत्रबाहेक उनीहरूले कोसेलीको रूपमा फ्याक्ट्रीको बगैँचाबाट चेरीका बेर्नाहरू पनि ल्याएका थिए ।
लेनिन मजदुरहरूसँग भेटेर अति हर्षित भएका थिए ¤ उनका आँखा उल्लासले चम्किन थालेका थिए !
लेनिनसँग बिदा लिँदै गर्दा एक वयोवृद्ध मजदुरले भनेका थिए, “भ्लादिमिर इल्यीच, म आरन मजदुर हुँ । हजुरले सोचेझैँ हामीले सबथोक बनाउँनेछौँ ।” यति भनेर उनले लेनिनलाई कसेर अङ्गालोमा बेरेका थिए । उनीहरू अबेरसम्म त्यसैगरी उभिएका थिए । यी बुढा लोहारको माध्यमबाट लेनिन मानौँ सम्पूर्ण मजदुर वर्गलाई आफ्नो हार्दिक अभिवादन पठाइरहेका थिए र मजदुरले लेनिनलाई वचन दिएका थिए ।
“हामी वचन दिन्छौँ, इल्यीच, हाम्रा प्यारा इल्यीच !”
क्रुप्सकायाले ती मजदुरको शपथ दोहो¥याइन् । चेरीका बोटहरूमा मौरीहरू भुनभुनाइरहेका थिए ।
त्यसपछि धेरै वसन्तयाम, धेरै वर्षहरू बितेका छन् ।
गोर्कीस्थित पार्कमा चेरीका बोटहरू झाँगिएका छन् ।
लेनिनले स्थापना गरेको राज्य पनि हुर्केर शक्तिशाली भएको छ । लेनिनले स्थापना गरेको पार्टी पनि धेरै प्रौढ भइसकेको छ ।
बीचमा कठिनाइ र विपत्तिका वर्षहरू पनि आए । तर, मातृभूमिले सबै कुरा सहन गरिन् । हाम्रो सोभियत सङ्घ, अझ बलियो, शक्तिशाली र सुन्दर हुँदै गइरहेको छ । आज हाम्रो देशका सुदूर इलाकाहरूमा समेत ‘इल्यीचका बत्तीहरू’ बल्छन् । देशमा असङ्ख्य बिजुलीघर, कलकारखानाहरू, सामूहिक र राजकीय फर्म, नयाँ सहर, विद्यालय, क्लब, नाटकघर र अन्तरिक्ष केन्द्रहरू छन् ।
लेनिनले यी सबै देख्न पाउँदा हुन् त ! वा देख्न सक्दा हुन् त, उनी भन्थे –
“नरोकिनू, नअडिनू । अहिल्यै सबथोक हासिल भएको छैन । हाम्रो लक्ष्य साम्यवाद हो ।”
साम्यवाद । साम्यवाद न्याय हो । सत्य हो । सबैको भलोका लागि सबैले गर्ने श्रम हो । नयाँको खोजमा अगाडि, निरन्तर अगाडि बढ्ने निर्भय बाटो हो । सुन्दर, उदात्त र सुखी जीवनको हाम्रो सपना हो ।
लेनिनले हामीलाई यही सपना साकार पार्ने मार्ग देखाएका थिए ।
अनुवाद ः माधव अधिकारी
– समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *