भर्खरै :

कोभिड–१९ रोकथामको निम्ति सिद्धि गणेश साकोसद्वारा रु. २० लाख सहयोग

भक्तपुर, १९ असोज । भक्तपुरमा कोरोना भाइरस (कोभिड– १९) रोकथाम र नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले गर्दै आएको काममा सहयोगस्वरूप सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले प्रकोप व्यवस्थापन कोषमा १९ लाख ९८ हजार ५ सय ४९ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिलाई सिद्धि गणेश सहकारी संस्थाका अध्यक्ष राजन लाखाले सोमबार एक समारोहबीच सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले नगरपालिकाको आह्वानलाई स्वीकार्दै यसअघि पनि सिद्धि गणेश सहकारी तथा अन्य सङ्घ–संस्थाहरूबाट अमूल्य साथ र आर्थिक सहयोग प्राप्त भएकोमा धन्यवाद ज्ञापन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषको आम्दानी तथा खर्चलाई पारदर्शी ढङ्गले नगरपालिकाको वेभसाइट ‘भक्तपुर खबर डटकम’ र नपाको प्रकाशन ‘भक्तपुर मासिक’ मार्फत सार्वजनिकीकरण गर्दै आइरहेको बताउनुभयो ।
कोषमा जम्मा भएको रकमबाट सङ्क्रमितहरूको लागि आइसोलेसन केन्द्रका साथै नगरवासीहरूको सेवा कार्यमा सहयोग पुगेको बताउँदै उहाँले भक्तपुरको विकास निर्माणमा केही ढिलाइ भए तापनि कोरोना नियन्त्रण र रोकथामको लागि भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी आवश्यक व्यवस्थापनमा जोड दिइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले दसैँको अवधिमा जात्रामा हुलहुज्जत नगरी सामान्यरूपमा सम्पन्न गर्न नगरपालिकाले दसैँसँग सम्बन्धित विभिन्न जात्राका सरोकारवालाहरूसँग चरणबद्धरूपमा छलफल कार्यलाई अगाडि बढाइरहेको जानकारी दिनुभयो । उहाँले आफू मातहतका सहकारी संस्थाका सदस्यहरूलाई यस वर्षको दसँैमा भीड नगरी सामान्यरूपमा मनाउन आ–आफ्नो क्षेत्रबाट सहयोगको लागि आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष राजन लाखाले सिद्धि गणेश सहकारी संस्था समुदायमा आधारित सहकारी संस्था भएको बताउँदै संस्थाको ‘समुदाय विकास कोष’ को रकम नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन व्यवस्थापनको लागि सहयोगस्वरूप प्रदान गर्ने सञ्चालक समितिले निर्णय गरेको बताउनुभयो । उहाँले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सहकारी संस्थाहरूको भूमिकाबारे प्रस्ट पार्दै आगामी दिनमा यो रोग सङ्क्रमण रोकथामको लागि नगरपालिकासँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले हालै प्रकाशनमा ल्याएको २०७२ सालको भूकम्पबाट भत्केका र क्षति पुगेका सम्पदाहरूको सङ्क्षिप्त विवरणसहित नगरपालिकाले हालसम्म सम्पन्न गरेका र निर्माणाधीन केही सम्पदाहरूको विवरण समेटिएको ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तक र नगरपालिकाका केही प्रकाशनहरू अध्यक्ष लाखालाई प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *