भर्खरै :

ट्राफिक प्रहरी महाशाखाको काम अब अनलाइनबाट

काठमाडौँ, १९ असोज । केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरूको बढी भीडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै गत वर्षबाट महामारीको रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो ।
अब भने त्यो झन्झटबाट नागरिक मुक्त भएका छन् । महाशाखाले घरमै बसेर सबै समस्याका निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेपछि सर्वसाधारणका लागि ठूलो राहत मिलेको छ । अब नागरिकले हराएका कागजात र सवारी साधनसम्बन्धी निवेदन मोबाइल वा कम्युटरबाट एक क्लिकमै दिनसक्नेछन् ।
विगतदेखि नै प्रविधिमैत्री अभ्यासको थालनी गरेको महाशाखाले कोरोनाको सङ्क्रमण फैलिएपछि प्रविधिको उच्चतम प्रयोगतर्फ जोड दिएको पाइएको छ । कार्यालयमा भीडभाड हुने र रोगको जोखिम बढेपछि त्यसको नियन्त्रणका साथै ट्राफिक व्यवस्थापन चुस्त बनाउन उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी प्रविधितर्फ जोड दिन थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल बताउनुहुन्छ ।
महाशाखामा यही असोजमा हराएका कागजात र सवारी साधनबारे अनलाइनमार्फत निवेदन दिन सकिने गरी नयाँ सफ्टवेयरको विकास गरिएको हो । यसका लागि महाशाखाको वेबसाइट तचबााष्अ।लभउबउियष्अिभ।नयख।लउ मा गएर अनलाइन एप्लिकेसनमा क्लिक गर्नुपर्ने छ । त्यसभित्र ‘लस्ट डकुमेन्ट एप्लिकेसन’ र ‘लस्ट भेइकल एप्लिकेसन’ गरी दुई वटा अप्सन देख्नुहुनेछ । आफ्नो समस्याको आधारमा एउटा अप्सन छनोट गरी त्यसमा क्लिक गरेर निवदेन दिनसकिनेछ । नेपाली वा अङ्ग्रेजी दुवै भाषामा निवेदन दिन सकिने व्यवस्था छ । अनलाइनमा मागिएको विवरण भरेर पठाएपछि उक्त विवरण सोझै ट्राफिक प्रहरीको नियन्त्रण कक्षमा पुग्नेछ । त्यही विवरणको आधारमा प्रहरीले दर्ता गरी तत्काल खोजी कार्य सुरू गर्ने महाशाखाअन्तर्गत कम्प्युटर शाखाका प्रहरी निरीक्षक सुरेशकुमार थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनलाइन प्रणालीको अनुगमन र रेखदेखमा कम्प्युटर एडमिन शाखाले काम गर्नेछ । त्यही शाखामार्फत गुनासोकर्तालाई सूचना सम्प्रेषण हुन्छ । फेला परेपछि अनलाइनबाटै सूचना पुग्ने गरी सफ्टवेयरको विकास गरिएको छ, त्यही सूचनाको आधारमा सवारी वा कागजात धनीले आफ्नो सामग्री लैजान सक्नेछन् ।
असोज ५ गते हराएका सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब र सवारी इजाजतपत्रको सिफारिसको निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्थाको थालनी गरिएको र असोज १८ बाट भने हराएका सवारीको पनि अनलाइनबाटै निवेदन दिन सकिने गरी सफ्टवेयरको प्रयोग सुरू भएको छ । महाशाखाका अनुसार झन्डै १५ दिनको अवधिमा अनलाइनबाट एक हजार ५१२ वटा निवेदन प्राप्त भइसकेको छ ।
महाशाखाले प्रविधिलाई जोड दिँदै ट्राफिक व्यवस्थापनसम्बन्धीका अन्य विभिन्न गतिविधि अघि बढाएको थियो । महाशाखाकै समन्वयमा विगत ९ वर्षदेखि बिग्रिएर बसेको काठमाडौँ उपत्यकाको २४ स्थानका सञ्चालित प्रविधिमैत्री ट्राफिक बत्तीले सवारी आवागमनमा सहज पारेको छ । अन्य ११ स्थानका लागि काम भइरहेको महाशाखाले जनाएको छ ।
यस्तै सर्भिलेन्स भेइकल्स, राडर गन, बे्रथलाइजरको समेत अधिकतम उपयोग गरी ट्राफिक नियम उल्लङ्घन विरुद्धसमेत कारबाही जारी छ । भेइकलमार्फत ५५६ र राडर गनमार्फत एक हजार ७६४ सवारी साधनलाई कारबाही गरिएको छ । ब्रेथलाइजरको प्रयोग गरी २५ हजार बढी सवारी कारबाही गरेको महाशाखाले जनाएको छ ।
कतिपय अवस्थामा ट्राफिक प्रहरी देख्दा नियम मान्ने, नदेख्दा उल्लङ्घन गर्ने प्रवृत्ति थियो । त्यसको नियन्त्रणको उपाय थिएन । महाशाखामा जनशक्तिसमेत थोरै भएकोले समस्या परेपछि विगतदेखि नै सिसी क्यामराको श्रव्यदृश्य हेरेर कारबाही थालिएको महाशाखा प्रमुख ढकालले बताउनुभयो ।
‘ट्राफिक कम्युनिकेसन एप्स’ को प्रयोग गरी सवारी साधन व्यवस्थापनलाई चुस्त बनाउने प्रयासमा महाशाखा रहेको छ । उक्त एप्समार्फत सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि आवश्यक निगरानी गर्ने गरिएको छ । लामो दुरीका यात्रुवाहक यातायात चलाउने चालक परिवर्तन भए÷नभएको, दुई चालक भए नभएको बारे आवश्यक जाँच गरी ४५६ सवारी साधनलाई कारबाहीको दायरामा ल्याइएको महाशाखाले जनाएको छ ।
महाशाखाले ‘स्मार्ट कार्ड रिडर मेसिन’ को प्रयोग गरी सवारी चालक अनुमतिपत्रको पनि जाँच गरिरहेको छ । महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन र ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसुरमा कारबाहीको लागि खिचिएका कागजपत्रको अभिलेख व्यवस्थापनमा ‘ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम’ गत फागुनबाटै प्रयोगमा ल्याइएको छ ।
काठमाडौँ उपत्यकामा हुने सवारी दुर्घटनाको अभिलेखीकरण गर्न महाशाखालगायत मातहतका ३३ कार्यालयमा सवारी दुर्घटनासम्बन्धी सूचना व्यवस्थापन प्रणालीको प्रयोगलाई तीव्र पारिएको छ । महाशाखाले विद्युतीय भुक्तानी प्रणालीका साथै विभिन्न सचेतनामूलक श्रव्यदृश्य सामग्रीहरू बनाउने प्रक्रिया अघि बढाएको छ ।
महाशाखाले निकट भविष्यमा इन्टेलिजेन्स ट्राफिक नियन्त्रण कक्ष, भेइकल स्क्यानर, स्वचालित गतिमापक यन्त्र, डिडिटल ड्राइभिङ परीक्षण केन्द्र, भेइकल ट्राकिङ प्रणाली, प्रविधिमैत्री तथ्याङ्क व्यवस्थापन केन्द्र, विद्युतीय टोकन प्रणाली, विद्युतीय उद्धार सामग्री र प्रविधियुक्त मिटर रिडिङ्ग प्रणालीको प्रयोग गर्ने योजना अघि बढाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *