भर्खरै :

असल नागरिक तयार नगर्दा अपराध बढ्दो

– अञ्जना रञ्जितकार
हरेक राजनीतिक दलको काम असल नागरिक तयार गर्नु पनि हो । प्रत्येक नागरिकलाई असल, इमानदार, चरित्रवान नागरिक बनाउनेतर्फ दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र राजनीतिक कार्यकर्ताहरू जुट्नुपर्छ । आदर्शोन्मुख समाज स्थापना नभएसम्म समाजमा अनेक सामाजिक अपराधका घटनाहरू दोहोरिरहनेछन् । तर, यसतर्फ सत्तारुढ दल, ठूला दल र सङ्कीर्णवादी, क्षेत्रीयवादी र अवसरवादी दलमा आबद्ध नेता, मन्त्री, सांसद तथा कार्यकर्ताहरूको ध्यान गएको देखिँदैन । सत्ता राजनीतिमा अल्झेर पद, पैसा र भागबन्डामा लागेका दल र दलका नेताहरूले योग्य, असल, देशभक्त, इमानदार र चरित्रवान नागरिक तयार गर्नेतर्फ कहिल्यै ध्यान दिएनन् । जसरी भए पनि दल ठूलो बनाउने र सरकारमा गएर नेता, मन्त्री, सांसद र कार्यकर्ता पोस्ने काममा लागेको कारण देशमा बलात्कार, बेपत्ता पार्ने, बेश्यालय पु¥याउने, अपहरण गरेर पैसा असुल्ने, एसिड प्रहार गर्ने आदि आपराधिक घटना बारम्बार घटिरहेका हुन् ।
समाजमा यस्ता आपराधिक घटना घट्नुमा हालसम्मका सरकारमा पुगेका दल र दलका नेता, मन्त्री र सांसदहरू नै दोषी छन् । ती नेता, मन्त्री र सांसदहरूको ध्यान पदको दुरूपयोग गरी अकुत सम्पति कुम्ल्याउनेतर्फ गयो । आफ्ना आसेपासेलाई ठेक्कापट्टा दिलाए या मिलाएबापत कमिसन पाउनेतर्फ उनीहरूको ध्यान गयो । विकासको नाउँमा विकासकै रकम हसुर्नेतर्फ ध्यान गयो । कुनै पदमा पुग्नु या निर्वाचित हुनु नै देश र जनताको सेवाभन्दा पैसा कमाउनु हो भन्नेतर्फ उनीहरू लागे । सत्तारुढ नेता, मन्त्री, सांसद, जनप्रतिनिधिहरूले कार्यकर्ता र सर्वसाधारण जनतालाई भ्रष्टाचार, अनियमितता, कालाबजारी नगर्न, आपराधिक काममा सरिक नहुन र इमानदारीपूर्वक देश र जनताको सेवा गर्न सुुसूचित पारेका भए आदर्शोन्मुख समाज स्थापना गर्न धेरै सहयोग हुन्थ्यो ।
नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरू इमानदार नभएसम्म उनीहरूमा निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने भावना नभएसम्म कार्यकर्ताहरू योग्य, असल, चरित्रवान, निःस्वार्थी र इमानदार हुनेछैनन् । लोभलालच देखाएर, लोभलालचमा फसाएर, षड्यन्त्रका जाल बुनेर, कार्यकर्ता तान्ने, गलत या झूटको खेती गरेर जनतालाई भ्रममा पाल्ने या आफ्नो हातमा लिने गलत राजनीतिले देशमा बलात्कार, बलात्कारपछि हत्या, अपहरण र अपहरणपछि हत्याका घटना घटिरहेका हुन् । यस्ता घटनामा सरकार या प्रहरी प्रशासनले पीडित पक्षको सेवाभन्दा पीडा दिने अभियुक्त या अपराधीलाई सघाउने, कारबाही नगर्ने र छोड्ने कामले पनि अपराधीहरूले प्रोत्साहन पाइरहेका छन् । बलात्कारप्रति न राज्य संवेदनशील छ न त सत्तारुढ दलका नेता, मन्त्री र सांसदहरू नै जिम्मेवार छन् । यस्ता अपराधीहरूलाई हदैसम्मको कडा कारबाही गरिनुपर्छ । उचित कारबाही नभएसम्म हृदयविदारक घटनाहरू भइरहनेछन् । पीडितलाई राज्यको भरोसा हुनुपर्छ । न्याय सम्पादन गलत मनसायले गर्नुहुँदैन । अपराधीलाई सरकार, प्रशासन र जनताले गर्ने कारबाहीबाट पछि अरू कसैले दुत्कार्य गर्ने हौसला नमिलोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *