भर्खरै :

विकासको नाममा

विकासको नाममा नेपालमा जे भइरहेको छ, त्यसलाई पशुपति शर्माले आफ्नो गीतमा गाए । त्यही कुरा आजभन्दा करिब २० वर्षअघि नै नेपाली मूलका अमेरिकी बौद्धिक नन्दराज श्रेष्ठले देखेका थिए । उनको पुस्तक ‘इन द नेम अफ डेभलपमेन्ट’ नेपालीमा उल्था नभएरमात्र हो । हुन्थ्यो भने शर्माको गीत म्याद नाघेको गीत हुने थियो । शर्माको गीतमाथि प्रतिबन्ध लाग्यो र तीतो सत्य बाहिर ल्याएकोमा शासकहरूका भरौटेहरू उनीमाथि खनिनु खनिए ।
नन्दराज श्रेष्ठको पुस्तक पनि प्रतिबन्ध लाग्नसक्ने पुस्तक थियो । तैपनि, जसोतसो त्यसको सस्तो नेपाली संस्करण (अङ्ग्रेजी भाषामै) प्रकाशित भयो । आत्मसंस्मरणजस्तो लागे पनि सो पुस्तक बहुपक्षीय छ । ‘विकास’ को पश्चिमी ढर्रामा ढाल्दै कसरी नेपाललाई आर्थिक, सामाजिक र मानसिक दरिद्रताको दलदलमा गाडियो भन्ने विषयमा पुस्तकले कन्सिरी तताउने दृश्य प्रस्तुत गरेको छ । यस क्रममा बीचमा बसेर ‘मध्यस्थता’ गर्ने नेपालका नयाँ र पुराना शासक वा सम्भ्रान्तहरूको मुकुन्डो पनि पुस्तकले उघारेको छ । सोही पुस्तकको प्रकाशमा केही गन्थन–मन्थन गरौँ ।
कोभिडको मारामारीबीच नेपालका पठित अर्थशास्त्री स्वर्णिम वाग्ले एक अमेरिकी एजेन्सीमा सल्लाहकारको काममा जाँदै रहेछन् । नयाँ पत्रिकाले उनको लम्बेतान अन्तर्वार्ता छाप्यो । उनको अन्तर्वार्ताको ठूलो हिस्सा प्राविधिक छ । धेरै बौद्धिकहरू शब्द र अङ्कको गोलमालबीच आफ्नो पहिचान र पावर स्थापना गर्नमा पोख्त हुन्छन् । केही थोरैमात्र त्यसको धङधङीबाट बाहिर आएर देश र समाजका लागि केही गर्ने गर्छन् ।
हाम्रा अर्थशास्त्रीको अन्तर्वार्ता रवाफिलो थियो । जति नै कोसिस गरे पनि उनका केही कुरा यो कलिलो मगजले पत्याउन मानेन । ती अर्थशास्त्री विदेशी पुँजीको पैरवी गर्छन् । केही अघिसम्म उनी एमसीसीलाई नेपाली नेताहरूको छोटो बुद्धिले बुझ्नै सकेको छैन भनी जोडतोडले बोलिरहेका थिए । रुसको सहयोगमा नेपालमा स्थापित उद्योगधन्दाको निजीकरणलाई उनी जायज देख्छन् । निजीकरणका लागि नेपाली काङ्ग्रेसमाथि खनिने ‘कम्युनिस्ट’ लाई उनी हालको राजस्व सङ्कलनकै आधारमा नयाँ उद्योगधन्दा खोल्न चुनौती दिन्छन् । कर्मकाण्डी भविष्यवक्ताले जस्तै उनी सरकारी उद्योगहरू नचल्ने अहिले नै ठोकुवा गर्छन् । कोरोनाकालपछिको अर्थतन्त्रबारे केही आशाका किरण खोजेर ‘विद्वान नेपाली अर्थशास्त्री’ का कुरा पढ्न खोज्ने जोकोही ‘हात लाग्यो शून्य’ को स्थितिमा पुग्छ । टिप्पणीकार पनि पुगी । सारमा ती अर्थशास्त्री थोमस पिकेटीलाई दोहो¥याउँदै पुँजीवादको विकल्प नभएको बताउँछन् ।
२००७ सालको परिवर्तनपछि नेपालको सम्भ्रान्त वर्गलाई आफ्नो वर्गीय रोबरवाफ र हैकम सुरक्षित गर्नुपर्ने थियो । यसको लागि त्यस वर्गको हातमा देशको राजनीतिक र आर्थिक बागडोरमात्र नभई जनताको सेन्टिमेन्ट वा भावना पनि चाहिएको थियो । उता शीतयुद्धकालिन विश्वमा अमेरिकालाई आफ्नो कम्युनिस्टविरोधी वैचारिकी बिकाउनु थियो । यिनै दुई वर्गको स्वार्थ पूरा गर्न नेपालमा ह्यारी ट्रयुमेनको ‘विकास’ पस्यो । यो विकासका लागि कार्यकर्ता तयार पार्न अमेरिकी शैलीको शिक्षा पनि पस्यो । श्रमलाई हेय ठान्ने, पुरानो पुुस्ताको अनुभवजन्य ज्ञानलाई रद्दी ठान्ने र हैकमबाज गोरा जातिलाई आदर्श मान्ने यही शिक्षाका कारण नन्दराजको पोखरेली गाउँमा धेरै अभिभावकले छोराछोरीलाई स्कूलबाट निकालेका थिए रे ! आज पनि लोकसेवामा जागिर खान मरिहत्ते गर्ने शिक्षित पुस्तालाई नन्दराजले सोही नजरले हेरेका छन् । अमेरिकी शिक्षा नीतिबाट विकास कार्यकर्ता बन्नेहरू नेपाली नयाँ सम्भ्रान्तहरू थिए । यसमा विद्वान प्रोफेसर, विज्ञ, वकिल, प्रशासक आदि संलग्न थिए । विकासकै काममा सारथी बनेर उनीहरू आर्थिकरूपमा उकासिएका थिए वा उनीहरूले आफ्नो पूर्वस्थिति कायम राखेका थिए । उनीहरूले पश्चिमा जीवनशैली र चिन्तनधारा आत्मसात गरे । पश्चिमा चिन्तनधारा सारमा उपनिवेशवादी वा दमनकारी सोच थियो । पश्चिमा जीवनशैली सारमा उपभोक्तावादी वा हन्तकाली जीवनचर्या थियो । खेतीपातीलगायत शारीरिक कार्यलाई हेय ठान्नु, गाउँले वा तिनको अनुभवजन्य ज्ञानलाई पाखे ठान्नु, गोराहरूले गरेका सबै वैज्ञानिक मान्नु, उनीहरूको जीवनलाई नै आदर्श मान्नु, इत्यादि नै पश्चिमा जीवन थियो । भारतका नेहरूमात्र नभएर नेपालका बीपी कोइराला पनि यही सोचबाट ग्रसित थिए । लेखक नन्दराजले भारतमा गान्धी र चीनमा माओलाई यी सोच चिर्ने व्यक्ति ठानेका छन् । पश्चिमा चिन्तनबाट प्रभावित कोइरालाले चीन भ्रमणका क्रममा शारीरिक कार्यमा लागेका चिनियाँ जनतालाई पिछडिएका ठानेका थिए ।
अर्थशास्त्री डा. वाग्ले नन्दराजले चर्चा गरेका ‘विकास’ सम्भ्रान्तहरूका नयाँ अनुहार हुन् । यसअघि पनि विदेशी पिएचडीधारीहरूको बौद्धिक प्रयोगशालाबाट देश कङ्गाल बनेकै हो । डा. वाग्लेको चिन्तन र गतिविधिले ‘विकास’ सम्भ्रान्तको परम्परा अगाडि बढाएको प्रस्ट छ । एमसीसीका कागजपत्र आदिको काममा नेपालका ‘विकास’ सम्भ्रान्तहरू नै खटिएको कुरा टिप्पणीकारले अन्नपूर्ण बहसबाट थाहा पाएकी थिई । एमसीसी परियोजनाले नेपाली अर्थतन्त्रमा टेवा देला वा नदेला अर्को कुरा हो । यसले नेपाली गरिब जनताको जीवनस्तर सुधार्न सिन्को भाँच्ने छैन भन्ने कुरा निश्चितप्रायः छ । किनभने यसअघि ‘विकास’ परियोजनाले यो देशका ‘विकास’ सम्भ्रान्तहरूमात्र मोटाएको ०७ सालपछिको इतिहासले भन्छ । लेखक नन्दराजको भाषामा भन्ने हो भने नेपाली इतिहासले यो सत्य चिच्याइचिच्याइ बताइरहेको छ । ‘शिक्षित’ वाग्ले एमसीसीको पक्षमा उभिएर एमसीसीविरोधी ‘पाखे’ हरूलाई धारे हात लगाउँछन् । अमेरिकीहरू नेपालको आर्थिक उत्थानमा वास्तवमै गम्भीर भएको उनको मान्यता स्पष्ट हुन्छ । यस्तै हुन्थ्यो भने नेपालमा अमेरिकी ‘सहयोग’ ले ७० वर्षमा यो देशको कायापलट भइसकेको हुनुपथ्र्यो । नेपाली भ्रष्ट र पश्चिमप्रति आज्ञाकारी सत्ता टिकाउनु नै अमेरिकी सहयोगको उद्देश्य थियो । नन्दरामको सो निष्कर्ष आज पनि सान्दर्भिक छ ।
डा. वाग्ले ‘कम्युनिस्ट’ को विषयमा ठूलो भ्रममा छन् । यस भ्रमले उनको वैज्ञानिक चेत ‘पुँजीवादी’ हो भन्ने झन् उदाङ्गो पार्छ । उनी ‘कम्युनिस्टहरू’ को आलोचनामा पुँजीवादी दलिल दिँदै जान्छन् र अन्तमा उनको राजनीतिक ज्ञानको टाटपल्टाइ पनि प्रस्टिन्छ । उनी माछालाई तिर हानेँ भनेर सिसामा प्रहार गरिरहेका छन् । सिसाको माछाले केही बोल्नेछैन, केही प्रतिक्रिया दिनेछैन किनभने त्यो माछो पुँजीवादकै प्रतिरूप हो । वर्तमान सरकारले डा. वाग्लेको चुनौती स्वीकार गरेर उद्योगधन्दा खोल्नेछैन किनभने यो कम्युनिस्ट सरकार होइन । प्रधानमन्त्री ओलीले चुनावअघिबाटै आफूहरू कम्युनिस्ट नभएको बारम्बार सफाइ दिएकाले यहाँ बढी चर्चा गर्न आवश्यक छैन । पठित अर्थशास्त्रीले ओलीको स्वीकारोक्ति पढेकै होलान् । तथापि उनी वामपन्थीहरूमाथि खनिन छोड्दैनन् । ट्रयुमेनको भूतले उनलाई नछोड्ने निश्चित छ ।
थोमस पिकेटी अहिले बौद्धिकहरूमाझ स्तुत्य बन्न पुगेका छन् । थोमस पिकेटी संशोधनवादी रुस घुम्न गएछन् । त्यहाँको आर्थिक अव्यवस्था देखेर नै आफू समाजवादले आर्थिक समाधान दिन नसक्ने निष्कर्षमा पुगेको उनले बताएका छन् । यो कुरा नेपाली चलचित्र जगतका कलाकार राजेश हमालको अनुभवसँग मेल खान्छ । रुस संशोधनवादी शासकहरूकै हातमा रहँदा हमाल रुस गएका थिए र त्यसकै आधारमा उनी कम्युनिस्टप्रति पूर्वाग्रही बन्न पुगेका थिए । डा. वाग्ले पनि ‘मानवीय पुँजीवाद’ को वकालत गर्न पुगेका छन् । यहाँ यत्ति भन्दा काफी होला, पुँजीको चरित्रअनुरूप नै पुँजीवाद कहिल्यै मानवीय थिएन र भविष्यमा पनि मानवीय बन्ने देखिन्न । बरु, जीर्ण बन्दै गएको अमेरिकी साम्राज्यवादको एक्काइसौँ शताब्दीको आक्रामकता हेर्दा यो अझै क्रूर बन्ने देखिन्छ । धनी र गरिबबीचको लम्बिँदो दुरीले यसलाई थप पुष्टि गर्छ । केही साताअघि मजदुर दैनिकमा प्रभाव पटनायक र जयती घोषको विचारोत्तेजक लेख प्रकाशित भएको थियो । त्यसमा इतिहासको मूल्याङ्कन गर्दै लेखकहरूले पुँजीवादमा जनतालाई दिइने ‘सहुलियत’ निगाहामात्र हो र समयक्रममा व्यवस्थाले नै त्यसलाई निषेध गर्ने निष्कर्ष निकालेका छन् । १९३० को दशकमा रुजवेल्टको न्यू डीललाई ह्यारी ट्रयुमेनले निषेध गर्नु भित्री आर्थिक शक्तिको अनावरणमात्र थियो ।
हाम्रा अर्थशास्त्री डा. वाग्ले आफै रनभुल्ल छन् । उनी जनतालाई समान शैक्षिक अवसरहरू दिनुपर्छ पनि भन्छन् तर आर्थिक असमानतामा आधारित पुँजीवादलाई काखी च्याप्न छोड्दैनन् । आर्थिक समानताबिना समान अवसर मृगतृष्णामात्र हुन् भनी उनीजस्तो पढैयाले जान्नुपर्ने हो । आर्थिक संरचनाको विकास र जीवनस्तरको विकासमा ठूलो अन्तर छ भनेर डा. अमत्र्य सेनले भन्न थालेको एक युग बितिसकेको छ । नेपाली ‘विकास’ सम्भ्रान्तहरूको अर्को विडम्बना पनि छ । सोही कुण्ठाका शिकार डा. वाग्ले पनि बनेको हुुनुपर्छ । केही गरिब परिवारका ‘चियावाला’ हरू पश्चिमी उपनिवेशवादीहरूका विकास कार्यकर्ता हुन् भनी विश्वास गर्दा आफ्नै पहिचान र पावरमाथि चोट पुग्ने उनले बुझेकै हुनुपर्छ । अन्तमा ‘वादको उल्झन’ मा लाग्नु हुँदैन भनी डाक्टर सा’ब उपदेश दिन्छन् र ‘पँुजीवाद’ कै वकिल बन्न पुग्छन् । अनलाइन टिप्पणीकर्ताहरूले यो कुरा बुझेछन् । त्यसैले कमेन्ट बक्समा ‘पुँजीवादै राम्रो’ भनी उनीहरूले लेख्न भ्याएका छन् । यति लेख्न भ्याउने पाठकगण रत्नपार्कमा खानाको लाइन लाग्ने गरिब त नहोलान् !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *