भर्खरै :

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु आवश्यक

 
भक्तपुर, २२ असोज । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले नेपाल सरकारले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु जरूरी रहेको बताउनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाको डीआरएसपी प्रथम कार्यक्रमअन्तर्गत पुनः निर्माण भएको चाँगुनारायण नपा ९, ताथलीस्थित देवी माविको नयाँ भवनको बिहीबार उद्घाटन एवम् हस्तान्तरण कार्यक्रममा सांसद सुवालले उक्त भनाइ राख्नुभएको हो । उक्त भवन एसियाली विकास बैङ्क (एडीबी) र नेपाल सरकारको आर्थिक सहयोग तथा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ–शिक्षा (सीएलआईपीयू) र जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा (डीएल्आईपीयू) मार्फत निर्माण भएको हो ।
संरा अमेरिकाले एमसीसीमार्फत हिन्द–प्रशान्त सैनिक गठबन्धनमा सामेल गराउन नेपाललाई ५५ अर्ब सहयोग गर्ने भनिएको सम्झौता पनि देशलाई नवउपनिवेश बनाउने भएकोले नेपाल सरकार त्यस्तो सहयोगमा फस्न नहुने उहाँले स्पष्ट गर्नुभयो ।
सन् १८१६ मार्च ४ को सुगौली सन्धिअनुसार काली पश्चिमको भाग भारत भएको हुँदा महाकाली नदी सिङ्गै नेपालको भएको उल्लेख गर्दै उहाँले शासक दलहरूले विस २०५३ सालमा महाकाली सन्धिमा महाकाली नदी सीमा नदी उल्लेख गरी देशघात गरेको बताउनुभयो ।
नेपाल र भारतको सीमा (स्ट्रिप) नक्सामा भारतले नेपालको धेरै भूभाग आफू तर्फ पारेको हुँदा सीमाङ्कनमा नेपालीसँग लालपुर्जा भएको जग्गा भारतमा परेको र यसैकारण नेपाली जनताको विरोध भएको उहाँले उल्लेख गर्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ लाई ‘चिनियाँ भाइरस’, र ‘उहान भाइरस’ भनेर चीनविरूद्ध आरोप लगाए पनि यथार्थमा सो भाइरस सन् २०१९ को सेप्टेम्बरमै अमेरिकाको हवाई टापुमा देखापरेको र यसको समयमै रोकथाम नगरेको हुँदा विश्वभरि  फैलिएको र जनधनको क्षति भएको उहाँले बताउनुभयो ।
कोभिड सङ्क्रमण बढिरहेको हुँदा नयाँ भवनमा विद्यार्थीहरूले पढ्न पाउने दिन कहिले आउने ठेगान नभएको उल्लेख गर्दै उहाँले विज्ञहरूले २५ प्रतिशत सक्रिय सङ्क्रमित पुगेको अवस्थामा लकडाउन गर्नुपर्ने सुझावलाई सरकारले स्वीकार नगरेकोले थप क्षति हुने खतरा बढेको बताउनुभयो ।
नेपाल र भारतको खुला सीमा बन्द नगरिएसम्म नेपालमा कोभिड सङ्क्रमण नरोकिने उल्लेख गर्दै सांसद सुवालले निषेधाज्ञा खुकुलोसँगै गरिब नेपाली जनताको मृत्यु बढ्ने हुँदा यसका
दोषीहरूलाई कारबाही गर्नुपर्ने औँल्याउनुभयो ।
उक्त कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख भरतबहादुर श्रेष्ठले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले नयाँ भवन हस्तान्तरणसँगै विद्यालयको शैक्षिक गुणस्तरमा पनि वृद्धि गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
एकाइ प्रमुख श्रेष्ठले प्रमुख अतिथि सांसद सुवालमार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकलालाई भवनको साँचो र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सोही अवसरमा प्रमुख अतिथि सुवालले विद्यालय भवन निर्माणमा सहयोग गर्ने परामर्शदाता, इन्जिनियर र निर्माण व्यवसायीलाई धन्यवादपत्र प्रदान गर्नुभएको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष बासुकलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम छुकांले भवन निर्माणसम्बन्धी जानकारी दिनुभयो भने राजेन्द्रकुमार साखकर्मीले पनि बोल्नुभएको थियो ।
भवन निर्माणको लागि रू. ३ करोड ७३ लाख ७७ हजार बजेट विनियोजन भएको थियो । भवन निर्माणको काम २०७५ पुस २५ गतेबाट सुरू भएको थियो । कोभिडकै कारण थोरै सहभागीबीच दुरी कायम गरी कार्यक्रम सम्पन्न गरिएको थियो । गत वैशाखमै निर्माण सम्पन्न उक्त भवन हस्तान्तरणको कार्य कोभिड–१९ महामारीको कारण रोकिएको थियो । हाल उक्त विद्यालयमा ६ सय ५ विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *