भर्खरै :

स्मार्टफोनमा लिप्त बालबच्चा मानसिक समस्याको जोखिममा

भक्तपुर, २४ असोज । एक अध्ययनअनुसार १० वर्षभन्दा ठूला ५० देखि ६० प्रतिशत बच्चाहरूले आफ्नो दिनको १५ देखि २५ प्रतिशत समय स्क्रिनको अगाडि बिताउने गरेका पाइन्छ । यस हिसाबले पहिलेको तुलनामा अहिलेका बच्चामा डिजिटल कुराहरू बुझ्ने क्षमता धेरै छिटो र तीव्ररूपमा विकसित भइरहेको छ । यसैले बच्चा कम उमेरमा नै गेम खेल्न, म्युजिक बजाउन, भिडियोहरू हेर्न र फोटोको लागि पोज दिन सिक्छन् । यी त भए सकारात्मक पक्ष । यद्यपि, आजको यो स्मार्ट युगमा विभिन्नखाले स्मार्ट ग्याजेटले घेरिएका बच्चाको मनोविज्ञानमा कस्तो प्रभाव पर्छ त ?
स्मार्टफोन र इन्टरनेटले बच्चाको संवाद गर्ने कला र भावनात्मक विकासलाई पनि प्रभावित गरेको छ । स्मार्टफोनको उपयोगले बच्चा सानैमा आधुनिक र स्मार्ट त बन्छन् तर आफ्नै अभिभावकसँग उनीहरूको सम्बन्ध टुट्दै गएको छ ।
अध्ययनका अनुसार बच्चाहरूले आफ्ना साथीभाइ, आमाबुबा, शिक्षक, दौतरी, भाइबहिनीसँग प्रत्यक्ष अन्तरक्रिया वा संवाद गरेर धेरै कुरा सिक्ने गर्छन् । तर, ग्याजेटको प्रयोगको कारण बच्चामा यस किसिमको साक्षात्कार गर्ने अवस्था कम हुँदै गएको छ । यसले उनीहरूको सामाजिक जीवन नराम्ररी प्रभावित हुँदै छ ।
दुईदेखि तीन वर्षको उमेरसम्म हरेक बच्चाले बोल्न र सुन्न सिक्छन् । यसैक्रममा उनीहरूको आफ्नो शब्द भण्डार तयार हुन्छ । यसै उमेरमा यदि बच्चा स्मार्टफोनमा समय धेरै बिताउन थाले भने उनीहरूको बोल्ने र सुन्ने प्रक्रियामा बाधा आउँछ र उनीहरूको शब्दकोश कमजोर हुन्छ ।
स्मार्टफोनले बच्चाको स्वतन्त्र सोचलाई पनि प्रभावित गर्छ भन्ने कुरा अभिभावकहरूले सोच्नुपर्ने हुन्छ । यसले रचनात्मकतामा पनि असर पर्छ ।
आजभोलि हामीहरू चारैतिरबाट स्क्रिनवाला डिभाइसजस्तै स्मार्टफोन, ट्याब्लेट, नोट, ल्यापटप, डेस्कटप, टिभीबाट घेरिएका हुन्छौं । सानैदेखि स्मार्टफोनको प्रयोग, टीभीमा फिल्म कार्टुन हेर्ने, ल्यापटप र ट्याबलेटको प्रयोग गर्ने बानीले बच्चाको आँखा त प्रभावित हुन्छ नै उनीहरूको मनोविज्ञान पनि प्रभावित हुन्छ ।
यहाँसम्म कि आजभोलि धेरै विद्यालयहरूमा प्रोजेक्टर र स्क्रिनको माध्यमले डिजिटलरूपमा अध्यापन गराइन्छ । यस्तो अवस्थामा धेरैजसो बच्चाले दिनमा कम्तीमा पनि १५० पटक स्क्रिन हेर्छन् ।
यसैकारण उनीहरू विभिन्न शारीरिक खेलहरू जस्तैः फूटबल, बास्केटबललगायत अन्य खेलहरूबाट टाढा भएका छन् । अहिलेका बच्चा बिहान उठ्नासाथै मोबाइल चलाउन थाल्छन् ।
जब हामी यस्ता उपकरणहरू बच्चाहरूलाई दिन्छौँ उक्त उपकरणबाट निस्कने आवाज र त्यसको प्रकाशप्रति बच्चाहरू प्राकृतिक आवाज र प्रकाशभन्दा धेरै आकर्षित हुन्छन् । यसै कारणले नै बच्चाहरूको प्रकृति र समाजसँग जोडिने स्वाभाविकता सकिन्छ ।
यदि बच्चा सानैदेखि यी इलेक्ट्रोनिक्स स्क्रिन भएका उपकरणहरूको प्रयोग गर्छन् भने उनीहरूको दिमागी विकास यसले प्रभावित गर्छ ।
यी उपकरणहरूको कारणले मस्तिष्कमा विकसित हुने कैयौं महत्वपूर्ण कोषहरू उत्पन्न हुनासाथ बिस्तारै बिस्तारै नष्ट हुन थाल्छन् जसले बच्चा केही विशेष काममा पछाडि पर्छन् ।
खास कुरा त के हो भने यसमा धेरैजसो कोषको विकास दोस्रोपटक हुँदैन र बच्चाहरूलाई मस्तिस्कको समस्या देखिन सक्छ र जीवनभर दुर्वलतासँग जुध्नुपर्छ ।
देखिन सक्छन् यी समस्याहरू
यी उपकरणहरूको प्रयोगले आमरूपमा बच्चाहरूमा देखिने समस्याहरू निम्न छन्ः
–कुनै एक चीजमा ध्यान केन्द्रित गर्न नसक्नु
–पढाइलेखाइमा मन नलाग्नु
–दिमाग एकाग्र नहुनु
–कुनै कुरा चाँडै नै भुल्ने बानी लाग्नु
–सही र गलत छुट्याउने क्षमता कमी हुनु
–स्वभावमा परिवर्तन हुनु र एक्लै बस्न मनपराउनु
–अरूको कुरा नसुन्ने र नबुझ्ने हुनु
–जिद्दी स्वभावको हुनु र आमाबुबाले भनेको नमान्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *