भर्खरै :

कोरोना, सरकार र दसैँ

टोलको कपडा सिलाइको काम गर्ने एकजना सूचीकार अँध्यारो मुख लाएर बसेका थिए । मैले सोधेँ, “दाइ, अँध्यारो मुख लाएर बस्नुभएको छ । लकडाउन खुलिसक्यो । अझै काम पाउनुभएको छैन ?”
“कहाँ पाउनु नि ¤ लकडाउन खुलेदेखि आजसम्म दुईजना लुगा सिलाउन आएका छन् । अरू बेला कति काम आउँथ्यो ¤ आम्दानी नै छैन ¤ दसैँ नजिक आइसक्यो । हिजोआजको स्थिति देख्दा थप काम आउला जस्तो लाग्दैन ।” निरास भएर सूचीकार दाइले भने ।
दुई सन्तानका बाबुसमेत रहेका उनको जस्तो अवस्था धेरैको छ । यस्तो अवस्था आउँछ भन्ने सामान्य मानिसले कहिल्यै सोचेका थिएनन् ।
एकदिन म घुम्दै एउटा फेन्सी पसलमा पुगेँ । मलाई मनपर्ने रङ्गको एउटा टिसर्ट देखेर भाउ सोधेँ । उनले भने, “भन्ने छ सय । तपाईँ लाने नै हो भने पाँच सयसम्ममा दिन्छु ।”
मैले प्याक गरिदिनु भनेपछि उनले टिसर्ट प्याक गर्दै भने, “के भनौँ भाइ । कोरोना महामारीले गर्दा हाम्रो जिन्दगी डुुब्यो । लकडाउन र निषेधाज्ञापछि पसल खोलेको हुँ । अहिलेसम्म खासै व्यापार भएको छैन । दसैँमा केही होला भन्ने आशमात्र हो । रोजगारी गुमेको अवस्था छ सबैको । दसँैमा पनि केही होला जस्तो लाग्दैन ।”
यी कोरोनाबाट प्रभावित प्रतिनिधि पात्रमात्र हुन् । लाखौँ मानिस बेरोजगार र व्यापार व्यवसायबाट चौपट भएका छन् । अब के गरूँ, कसो गरूँ भन्ने स्थितिमा जनता छन् । कतिपयले त परिवार पाल्न नसकेर आत्महत्या समेत गरेका छन् भने कतिपय यहाँ बाँच्ने स्थिति नभएर विदेश जान वा फर्किन सिमानामा लाइन लागेर बसेका छन् । भोकभोकै परेका मानिसलाई मनकारीहरूले रत्नपार्क र अन्य ठाउँमा खाना खुवाउँदा पनि समृद्ध नेपाल सुखी नेपालीको नारा दिने सरकारले नदेखेझैँ गरेको छ । तैपनि, यो सरकारले भन्न छोडेको छैन कि ‘देशमा भोकै कोही मर्र्दैन’ ।
यो सरकार जनतासँग सपनामात्र बाँडिरहेको छ । प्रत्येक चुनावमा जनतालाई यसरी नै झुक्याइरहेका छन्, शासक पार्टीहरू । कहिले जमिन जोत्नेको, कहिले बेरोजगारलाई रोजगार त कहिले जनतालाई निःशुल्क शिक्षा तथा स्वास्थ्यजस्ता आश्वासन दिएर जितेर आएका छन् भने गएको चुनावमा पनि समृद्ध नेपाल सुखी नेपालीको नारा दिएर चुनाव जिते । त्यस चुनावमा पाँच वर्षमा गरिबी मुक्त गर्ने, १० वर्षमा नेपाललाई समुन्नत राष्ट्रमा पु¥याउने गरी आर्थिक विकासका योजनालाई अगाडि बढाउने लक्ष्यजस्ता कुरा घोषणापत्रमै उल्लेख गरेका थिए । तर, अहिलेसम्म त्यस विषयमा न त नीति तथा कार्यक्रम नै ल्याए न त पार्टीमै छलफल भएको छ । जनतालाई झुक्याउन खप्पिस यो सरकारले अब सिलिन्डरको जमाना गयो, घरघरमा ग्यासको पाइप पुग्नेछ, पानीजहाज चल्नेछ आदि कुरा गरेर जग हसाउने काम गरेकै हो ¤
कोरोनाको सङ्क्रमणबाट विश्वको अर्थतन्त्र चौपट छ । महामारीले विकसित राष्ट्रहरूलाई समेत नराम्रो असर पारेको छ । यसबाट नेपाल प्रभावित नहुने कुरै छैन । नेपालमा कोरोना सङ्क्रमण रोक्न आवश्यक पाइला चाल्न सरकार असफल भयो । काठमाडौँ उपत्यकामा सङ्क्रमण नियन्त्रण गर्न आवश्यक कन्ट्याक ट्रेसिङ, आइसोलेसन, क्वारेन्टिनलगायतको बन्दोबस्त गरिएन । भारतदेखि राजधानी छिर्न खुला छोडियो ।
सङ्क्रमण बढेसँगै लाखौँ मानिसले कामबाट हात धुनुप¥यो भने लाखौँलाई हातमुख जोर्न गा¥हो भयो । राष्ट्र बैङ्कको असारसम्मको सर्वेक्षणअनुसार उद्योगधन्दा र व्यापार व्यवसायमा कार्यरत कामदारमध्ये २२ प्रतिशत अर्थात् १८ लाख व्यक्तिको आम्दानीको बाटो बन्द भएको देखाएको छ भने रोजगारीको अभावले २२ लाख व्यक्ति चरम गरिबीमा आउने सम्भावना रहेको विश्व बैङ्कको तथ्याङ्क वा आकलन छ । यस्तो गम्भीर परिस्थितिमा कोरोना रोकथाम र उपचारका साथै बेरोजगारी समस्या समाधानतिर जानुपर्नेमा सरकारको ध्यान पार्टीको पद र शक्तिको भागबन्डामा मात्र सीमित भएको छ ।
कोरोनाले स्वास्थ्य, शिक्षा र रोजगारीमा मात्र असर पारेको छैन, सामाजिक र सांस्कृतिक क्षेत्रलाई पनि प्रभावित पारेको छ । नेपाल धर्म निरपेक्ष देश होे । धर्म निरपेक्ष देश भए पनि नेपालमा हिन्दूहरूको बाहुल्यता छ । हिन्दूहरू विभिन्न चाडपर्व साथै दसैँ–तिहार भव्यरूपमा मनाउँछन् । सांस्कृतिक चाडपर्व परम्परागत भए पनि त्यसको आफ्नै महत्व र विशेषता छ । यसले सामाजिक सद्भाव, भाइचारा सम्बन्ध र अनुशासनको पाठ सिकाउँछ । दसैँ र तिहारमा टाढाटाढा रहेका दाजुभाइ तथा परिवारलाई एक ठाउँमा ल्याएर सुख दुःख तथा मनका भावनाहरू साटासाट गरेर आनन्दले खाने र ठूलाबडाबाट टीका लगाएर आशिष लिने गरिन्छ । यस्तो महत्व र विशेषता बोकेको दसैँ कोरोनाको कारण खल्लो हुने भएको छ ।
नेपाली समाज एउटा सामाजिक सद्भाव बोकेको समाज हो । यहाँका मानिस एउटाको दुःखमा अर्को हाँस्न जान्दैनन् बरु सक्दो सहयोग र मद्दत गर्न तत्पर रहन्छन् । यस्तो स्थितिमा समाजको एकजनाले मिठो खाएर अर्को टुलुटुलु हेरिरहने वातावरण राम्रो होइन र राम्रो मान्दैनन् पनि । अर्र्को त समाजमा कोरोनाको सन्त्रास व्यापक छ । कोसँग कोरोना छ कोसँग छैन भन्ने ठेगान छैन । एकले अर्कोलाई शङ्का गर्नुपर्ने अवस्था छ । टोलटोलमै छ्यासछयास्ती सङ्क्रमित देखिरहेको अवस्थामा कोरोना सङ्क्रमितप्रतिको दुव्र्यवहारले सामाजिक सद्भाव नै बिग्रेको अवस्था छ । यो राम्रो होइन । यस्तो भयावह अवस्थामा दसैँ भनेर खुसीले भीडभाड जम्मा गरी मनाउन पनि राम्रो हैन । अरू चाडजस्तै दसैँलाई पनि औपचारिकतामा मात्र सीमित गर्नु नै बुद्धिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *