भर्खरै :

‘ख्वपको पहिचान, सन्दर्भ सामग्री’ भित्र नियाल्दा

देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो । गणतन्त्र घोषणा गरिसकेपछि प्रतिनिधिसभाको चुनाव भयो । वि.सं. २०७४ मा ७ सय ४७ वटा स्थानीय निकायको लागि तीन चरण गरी स्थानीय निकायको चुनाव भयो । स्थानीय निकायको चुनाव भइसकेपछि केन्द्रिकृत रहेको अधिकार स्थानीय निकायसम्म प्रत्यायोजन भयो । प्रत्यायोजन भएका थुप्रै अधिकारमध्ये शिक्षा पनि एक हो । स्थानीय निकायलाई शिक्षाको जिम्मेवारी दिइसकेपछि ती निकायहरूले स्थानीय पाठ्यक्रम पनि निर्माण गरेर अध्ययन र अध्यापन गराउन सक्ने अधिकार पाए । सोही अधिकारको प्रयोग गरी स्थानीय निकायले स्थानीय पाठ्यक्रमको तयार गरी अध्यापन सुरू गरिसकेको छ । त्यसै क्रममा भक्तपुर नगरपालिकाले वि.सं. २०७४ सालदेखि नै स्थानीय पाठ्यक्रमको अध्यापन सुरू गरिसकेको छ । भक्तपुर नगरपालिकाले वि.सं. २०७५ सालमा कक्षा १ र ६, वि.सं. २०७६ मा कक्षा २ र ७ को पाठ्यक्रम प्रकाशन गरेर अध्यापन गरिसकेको छ । यस वर्ष कक्षा ३ र ८ को स्थानीय पाठ्यक्रम लागु गर्ने कुरा छ ।
स्थानीय पाठ्यक्रम भक्तपुर नगरपालिकाभित्रका सम्पूर्ण ९२ वटै विद्यालयमा लागू भएको छ । स्थानीय चाडपर्व, रीतिथिति, कला, संस्कृति र सम्पदाको विषयमा अहिलेका पुस्ताले त्यति चासो नदिएको यो समयमा स्थानीय निकायले स्थानीय पाठ्यक्रम तयार गरी अध्ययन अध्यापन गराउनु सराहनीय काम हो । यसले भावी पुस्ताले स्थानीयरूपमा चल्ने चाडपर्व, कला, संस्कृति र सम्पदाको ज्ञानमात्र पाउने होइन विभिन्न सीप सिक्न सक्ने र त्यसको सदुपयोग गर्नसक्नेमा दुविधा छैन ।
भक्तपुर नगरपालिकाले तयार पारेका स्थानीय पाठ्यक्रमलाई आधार लिएर, त्यही पाठ्यक्रम र अब आउने पाठ्यक्रममा समावेश हुने विषयवस्तुलाई लिएर भक्तपुर नगरपालिकाले ‘ख्वपको पहिचान स्थानीय पाठ्यक्रम–सन्दर्भ सामग्री भाग–१’ प्रकाशित गरेको छ ।
प्रकाशित ख्वपको पहिचान सन्दर्भ सामग्रीमा हालसम्म प्रकाशित स्थानीय पाठ्यक्रममा समावेश भएका विषयवस्तुहरूलाई समेटेर, अध्ययन अनुसन्धान गरेर तयार पारेको छ । सामग्रीमा ‘ख्वप’ अर्थात् भक्तपुरको इतिहासदेखि यहाँका परम्परागत नाच, जातदेखि लिएर विभिन्न पर्व, विभिन्न व्यक्तित्वहरूको जीवन परिचय, महत्वपूर्ण स्थानको जानकारी, संस्कृति र केही परम्परागत खेलहरूको विषयमा जानकारी दिएको पाइन्छ । सन्दर्भ सामग्री स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षकलाई धेरै सहयोग पुग्ने देखिन्छ । ख्वपको संस्कृति, सम्पदा, संस्कार, इतिहास, जीवन शैली, रैथाने व्यवसाय, सीप र प्रविधि, परम्परागत खेलहरू, भेषभूषा, भाषा र लिपि, पर्यटन, विभिन्न व्यक्तित्वहरूका बारेमा आधारभूत तथ्याङ्क समेटेर प्रस्तुत सन्दर्भ सामग्रीमा विभिन्न प्राध्यापक, इतिहासविद्, संस्कृतिविद्, साहित्यकार, लेखक गरी १५ जना लेखकका २१ वटा लेख तथा जीवनी र केही सङ्कलन गरिएका जीवन परिचय, सामग्री गरी जम्मा २८ वटा विषयवस्तुहरू समावेश गरिएका छन् ।
इतिहासविद् प्रा.डा. पुरूषोत्तम श्रेष्ठको ‘हाकुपटासी’ लेखमा उत्पादक जाति र हाकुपटासी उत्पादनको लागि आवश्यक कच्चा पदार्थको विषयमा प्रस्टसँग प्रस्तुत गरिएको पाइन्छ । त्यस्तै हाकुपटासीको वर्तमान स्थितिलाई हेर्ने हो भने विगतमा प्रायः नेवार जातिले लगाउने हाकुपटासी अहिले विरलैमात्र देखिएको छ । तर, पर्यटकीय दृष्टिले यसको माग बढेको पाइन्छ ।
उहाँकै ‘ख्वपको इतिहास र संस्कृति’, लेखमा भक्तपुरको इतिहास, भक्तपुरका शासकहरूको सङ्क्षिप्त जीवनी, जीवन शैली र भक्तपुरको संस्कृतिको विषयमा विस्तृतरूपमा जानकारी पाउन सकिन्छ । वि.सं. १८२६ देखि वर्तमान अवस्थासम्मको भक्तपुरको स्थितिको अध्याय अध्ययन गर्दा लाग्छ, हामी विगतको भक्तपुरमा डुलिरहेका छौँ । भक्तपुरका केही परम्परागत नाच तथा पर्वहरूको परिचय पनि उक्त लेखमा पाउन सकिन्छ ।
प्राध्यापक सिद्धिरत्न शाक्यको ६ वटा लेखहरू पुस्तकमा समावेश गरिएका छन् । लोप हुने अवस्थामा पुगेको नेवारी संस्कृति बुराँज्याको विषयमा जानकारी दिइएको छ । तर, सो बुराँज्या लेखमा कालो धान भनेर ‘हाकु वाः’ लाई चिनाउन खोजिएको देखियो । ‘हाकु वाः’ शब्द नै प्रयोग भएको भए राम्रो हुने देखिन्छ ।
उहाँको ‘यःम¥ही पुन्ही’ मा यःम¥हीको बनोटदेखि लिएर लोककथा पनि समावेश गरिएको छ ।
सम्यक महादान (सम्यक पञ्चदान) लेखमा सम्यक पञ्चदान ऐतिहासिक पृष्ठभूमिबाट सम्यक महादानलाई बुझाउन खोजिएको छ । सम्यक महादान र पञ्चदान पर्व उस्तैउस्तै देखिए पनि दुवै विषयमा लेख समावेश गरिनुले ती दुईको विषयमा फरक बुझ्न अझ सजिलो बनाएको देखिन्छ ।
नेवार परिवारमा नयाँ शिशुको जन्म भयो भने सुत्केरी जुठो चोख्याउने नेवारी संस्कार ‘जैबिली ब्यङ्केगु’ लेख विद्यार्थीहरूलाई नौलो लाग्नेछ ।
प्राध्यापक सिद्धिरत्न शाक्यको अर्को लेख सकिमना पुन्हि वा सकिमिला पुन्हिमा सो पुन्हिको शाब्दिक अर्थ बुझाउन खोजिएको छ । त्यसमा हलिमलि ब्वज्या अर्थात् नसाः ब्वयेगु ज्याः र सोको तरिका उल्लेख गरिएको छ ।
लेखक तथा युवा संस्कृतिविद् ओम धौभडेललिखित ‘भाषासेवी मास्टर जगतसुन्दर मल्ल र उहाँका पुर्खाबारे एक इतिहास’ जीवनीमा जीवनको अन्तिम समयसम्म आफ्नो मातृभाषाको लागि सङ्घर्ष गर्दै रहेका जगतसुन्दर मल्लको अडान र बुबाआमा राजलवट भएर पनि उहाँ कसरी मल्ल हुनुभयो भन्ने कुरा सो जीवनीमा पाउन सकिन्छ ।
लेखक लक्ष्मीभक्त बासुकलाका चार वटा खेलसँग सम्बन्धित लेखहरू समावेश गरिएका छन् । पुराना पुस्ताले एक पटक अध्ययन गरिसकेपछि झट्ट बुझ्न र सम्झिन सकिने ती खेलहरू नयाँ पुस्तालाई नौलो लाग्नेछ । हाय्लुयाँ माय्लुयाँ कासा खेलमा ‘हाय्खेय् ध्वमा’ को मुख्य भूमिका रहने गरेको पाइन्छ । बच्चाको बेला आमु छुया ध्वाका, लुँया ध्वाका भनेर खेलेको खेल, हिगुली वला कासा र प्रायः केटीहरूले खेल्ने पाँय्कासाजस्ता परम्परागत खेलको नियम, खेल्ने विधिले प्रविधिमा डुबिरहने अहिलेका पुस्तालाई विगतमा पनि यस्ता खेलहरू हुनेरहेछ भन्ने विषयमा जानकारी मिल्नेछ ।
रोशनराज तुइतुईंले लेख्नुभएको परम्परागत स्थानीय खेल कसिमला पाँय् पनि अहिले चर्चामा रहेको खेल हो । अहिले कसिमला पाँय् खेलको मोबाइल एप्स पनि बनिसकेको अवस्थामा जोकोहीँले यस खेललाई आप्mना मोबाइलमा खेल्न सकिनेछ ।
न्हुछेभक्त कवांद्वारा लिखित शिक्षाविद् प्रा.पृथुचरण वैद्य र संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको जीवनीले उहाँहरूको शिक्षा र संस्कृतिप्रतिको लगनशीलता र सङ्घर्षको विषयमा जानकारी पाउन सजिलो हुनेछ ।
त्रि.वि.का उप–प्राध्यापक पुष्परत्न शाक्यद्वारा लिखित गुँला बाजा लेखमा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नेवार बौद्ध जातिले मनाउँदै आएको ‘गुँला’ बारेको चर्चा छ । लेखमा सो पर्वमा बजाइने विभिन्न बाजाहरूको परिचय, बाजा बजाउने नियम उल्लेख छन् ।
यहाँको कालो टोपी, हाकुपटासीका साथै ख्वपको जुजु धौ पनि उत्तिकै प्रख्यात छ । नेवारी संस्कृतिको पर्याय जुजु धौ बनिसकेको छ भन्दा कुनै फरक नपर्ला ।
लेखक सरोजराज गोसाईंद्वारा लिखित जुजुधौको संस्कृति, विज्ञान र प्रविधि शीर्षकको लेखमा मानव सभ्यताको सबैभन्दा पुरानो पेशामध्ये एक पशुपालन भएको र सोही पशुपालनसँग पनि सम्बन्धित पेशा दही बनाउने पेशाको विषयमा दहीको संस्कृति, त्यसको वैज्ञानिक आधार र बनाउने प्रविधिको विषयमा विस्तृतरूपमा उल्लेख गरेको पाइन्छ ।
भक्तपुरमा एउटा राम्रो एवम् सफल पेशाको रूपमा फस्टाएको दही बनाउने पेसालाई लिन सकिन्छ । जुजुधौको स्वरूप, त्यसलाई आवश्यक पर्ने तापक्रम, स्वादलगायत विवरणहरू उल्लेख भएको सो लेखले दही बनाउने प्रक्रिया सजिलै बुभ्mन र जान्न सकिन्छ ।
सुगतरत्न बज्राचार्यको मुनि विहार–एक परिचय शीर्षकको लेखमा नेपाल संवत् ७७६ मा निर्माण भएको भक्तपुर नगरपालिका वडा नं. ७ इनाचोस्थित मुनि विहारको चर्चा छ । यसलाई सङ्घदानपश्चात् ‘मुनिवर्ण महाविहार’ भनी नामकरण गरिएको हो ।
दामोदर सुवालको भक्तपुरको स्थानीय पर्यटन शीर्षकको लेखमा नेपालको भौगोलिक बनावटका साथै नेपालको पर्यटन पनि थोरै समावेश गरिएको पाइन्छ । ऐतिहासिक नगरी भक्तपुरमा प्राचीनकालदेखिका जात्रा संस्कृतिहरूले विश्वमा चर्चित छ । भक्तपुरमा थुप्रै पोखरी, मठमन्दिर तथा ढुङ्गेधाराहरू छन् । भक्तपुरका ती प्राचीन स्मारकहरूलाई ऐतिहासिक कालमा जस्तै जीवित बनाउन मल्लकालीन राजकुलोलाई पुनर्जीवन प्रदान गरी सहरका सबै ढुङ्गेधाराहरूमा २४ सै घण्टा पानी आउने बनाउन सकिन्छ ।
आशाकुमार चिकंबञ्जार र विमल ताम्राकारको संयुक्त लेख ख्वप नगरपालिकामा प्रयोग भएका भाषा लिपि शीर्षकको लेखले भक्तपुर नगरपालिकाभित्र रहेको जाति÷जनजातिको तथ्याङ्कबारे जानकारी दिइएको छ । नेपाल लिपिका थुप्रै लिपिमध्ये प्रचलनमा देखिएका लिपि भनेको प्रचलित लिपि र रञ्जना लिपि हामी धेरै ठाउँमा देख्न सक्छौँ ।
प्रकाशित पुस्तकमा महत्वपूर्ण व्यक्तित्वहरूको जीवनी पनि समावेश गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को पनि जीवनी समावेश गरिएको छ । जीवनी पढेर पाठकले उहाँको राजनीतिक व्यक्तित्वमात्र नभई एउटा प्रगतिशील लेखक, साहित्यकार, चिन्तक अनि राजनीतिक जीवन सङ्घर्षको विषयमा जानकारी पाउन सकिन्छ ।
वि.सं. २००६ सालमा चोछेँ टोलमा जन्मेका भक्तपुरको सांस्कृतिक उत्थानमा उत्साहित आशाकाजी बासुकलाको छोटो जीवनीले उहाँको विद्यार्थी जीवनदेखि राजनीतिप्रतिको लगाव र सक्रियता बुभ्mन सकिन्छ ।
वि.संं. १९९२ वैशाख १५ गते भक्तपुरको भार्वाचो टोलमा जन्मेका ज्ञानबहादुर न्याइच्याईको जीवनीबाट उहाँ सङ्घर्षशील र सक्रिय राजनीतिक व्यक्तित्व भएको प्रस्ट हुन्छ । गरिब किसानहरूको सेवा गर्नुपर्दछ भन्ने भावनाको विकासले उहाँ जनताको सेवामा सक्रिय हुनुहुन्थ्यो ।
हास्य एवम् व्यङ्ग्यशिरोमणि, कलाकार तथा लेखक रामशेखर नकर्मीको जीवनीबाट उहाँलाई अझ नजिकबाट चिन्न सकिन्छ ।
भक्तपुर नगरको इच्छु टोलमा वि.सं. १९९८ सालमा जन्मेका नगेन्द्र हाडा हास्यगीत र सङ्गीका चर्चित गायक एवम् सङ्गीगतकार हुनहुन्छ । जसको गीत तथा सङ्गीतले अहिलेका चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई गायनमा नाउँ चम्काउन र हास्य कलाकारका रूपमा स्थापित गर्न धेरै ठूलो भूमिका रह्यो ।
शास्त्रीय गायनका एक मुर्धन्य तारा ‘बाग्मती पूर्वका उस्ताद’ विशेषणले ख्यातिप्राप्त उस्ताद विवेकदार साचीनको जीवन परिचयबाट जस्तोसुकै दुःख–कष्ट अप्ठ्यारोमा पनि आपूmमा भएको ज्ञान र सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने शिक्षा पाउन सकिन्छ ।
बहुदलको पक्षमा लागेका समाज सेवा र राजनीतिक क्षेत्रका सुपरिचित व्यक्तित्व विष्णुभक्त भुजुको जीवनी सामग्रीमा उल्लेख छ । उहाँ प्रजातन्त्रवादी, सादा जीवन उच्च विचार राख्ने निःस्वास्र्थी, समाजसेवी, शिक्षासेवी हुनुहुन्थ्यो ।
यसरी भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम–सन्दर्भ सामग्री भाग–१ मा समावेश खुराकहरूमा भान्छामा प्रयोग हुने जडिबुटीको उपयोगिता, भक्तपुरका केही परम्परागत नाच र भक्तपुर नगरका नेवार जातबारे अध्ययनको लागि उपयोगी सामग्रीको रूपमा लिन सकिन्छ ।
विद्यालयमा अध्यापन गराइने यस सामग्रीमा समावेश भएका सम्पूर्ण लेख तथा सामग्रीहरू अमूल्य छन् । यसबाट अध्ययन र अध्यापन गराउनुहुने शिक्षक तथा विद्यार्थीहरूले भक्तपुरको विषयमा धेरै महत्वपूर्ण कुराको ज्ञान पाउनु हुनेमा कुनै शङ्का छैन । सन्दर्भ सामग्रीको भाग–१ प्रकाशन गर्न भक्तपुर नगरपालिकाले धेरै मेहेनत गरेको पाइन्छ । सन्दर्भ सामग्री भाग–१ पुनः प्रकाशन गर्दा ती भएका त्रुटिहरू सच्चिने पाठकहरूको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *