भर्खरै :

विचलन

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘म शब्दलाई देख्दछु, दृश्यलाई सुन्दछु, बास्नालाई स्वाद लिन्छु’ भनेर पागल कविता लेखेथे । सुन्ने कुरा देख्ने, देख्ने कुरा सुन्ने, सुँघ्ने कुरा स्वाद लिने यिनको इन्द्रियधर्म त विचलन भएको छैन भन्ने लागेथ्यो पहिले त । तर, कहाँ त्यसो हुनु ? उनको अभिव्यक्तिले भद्रकालीबाट सिंहदरबार जाने बाटोजस्तो सोझो अर्थ दिन थाल्यो भने उनी केको महाकवि ? सात घुम्तीका प्रत्येक घुम्तीले नयाँपन दिएझैँ प्रत्येकपल्टको अध्ययनमा प्रत्येक शब्दले नूतन अर्थ प्रदान गर्ने भएर न उनलाई न भूतो न भविष्यति भनिएको ? अरूजस्तै बुझ्दा हुन्, अरूजति नै जान्दा हुन्, अरूजस्तै लेख्दा हुन् त उनी पनि अरूजस्तै हुँदा हुन् ।
अहिले लाग्छ इन्द्रियधर्म विचलन देवकोटाको मात्र विशेषता होइन रहेछ, यो परापूर्व कालदेखि उत्तरआधुनिक कालसम्म उस्तै गतिले चलिरहेको आममानव स्वभाव रहेछ ।
रामायणकालमा ‘मर्यादा पुरूषोत्तम भगवान’ रामचन्द्रले गर्भवती पत्नी सीतालाई त्यागेर जङ्गलमा छाड्न लगाएका थिए । कारण थियो एउटा धोबीको वचन । भगवान विष्णुका सातौँ अवतार मानिएका, भूत, वर्तमान, भविष्यका त्रिकालदर्शी रामचन्द्रले लक्ष्मीकी अवतार आफ्नी धर्मपत्नी सीतामाथि एउटा अदना धोबीले लगाएको बातलाई काट्नसक्ने कुनै तर्क, नीति, शास्त्र, धर्म निकाल्न सकेनछन् !
धोबीले बात लगाउनुअघि नै रामचन्द्रको मनमा यो कुरो नउब्जिएको होइन । अग्निपरीक्षा लिएर, त्यसमा पास भएरमात्र उनको जीवनमा सीताले पुनःप्रवेश पाइथिन् ¤ अनि फेरि धोबीलाई केको दोष ? स्वयम् परीक्षण गरेर पासमार्क दिइसकेपछि जोसुकैले जेसुकै भनोस्, त्यसको अर्थ नरहनुपर्ने हैन र ? तर, त्यसो भएन । आफ्ना आँखाभन्दा धोबीका शब्द पत्यारिला भए । धोबीले कानमा भरिदिएको शब्दमा सत्य देखे, आफ्नै आँखाले देखेको दृश्यमाथि भरोसा हरायो । रामचन्द्रको इन्द्रियधर्म विचलन भयो, आँखा हैन कानले देखे । परिणाम ‘बडाले जो ग¥यो हुन्छ त्यो सर्वसम्मत’ भनेझैँ इन्द्रियधर्म विचलन भएर गर्भवती पत्नीलाई त्याग्ने रामचन्द्र मर्यादा पुरूषोत्तम कहलिए, बिचरा देवकोटा भने ‘जरूर साथी म पागल, यस्तै छ मेरो हाल, म शब्दलाई देख्दछु’ भनेर स्पष्टीकरण दिनेमा परे !
महाभारतमा आँखा नदेख्ने धृतराष्ट्रका आँखा बने उनका साला कपटी सकुनी । सकुनीले कानमा जे जे भरिदिए धृतराष्ट्र त्यही त्यही देख्न थाले । धृतराष्ट्रपुत्र दुर्योधन त आँखा देख्थे नि ¤ तर, उनले हस्तिनापुरको नीति, नियम, आदर्श, इतिहास, वर्तमान केही देखेनन्, मामाले भरिदिएका शब्दमात्र देखे । बाबुमाथि भएको अन्याय, आमालाई परेको मारमात्र देखे । मामाले कान टम्म भरिदिए, उनले भविष्यमा हस्तिनापुरको महाराज बन्ने सपना देखे । महाभारतको लडाइँ इन्द्रियधर्म विचलनको परिणाम थिएन र ? पाण्डवको मागअनुसार ‘लौ गरिखाओ’ भनेर पाँच गाउँमात्र दिएको भए पनि महाभारतको युद्ध टर्ने स्थिति सिर्जना भैसकेको थियो । तर देख्नुपर्ने सुनेको, सुन्नुपर्ने देखेको परिणाम महाभारतको युद्ध भएरै छाड्यो ।
मल्लकालमा नेपालका छिमेकी राज्यहरूमध्ये भोटसँग सबैभन्दा निकट सम्बन्ध थियो । युद्ध पनि बेलाबेलामा भोटसँगै भैरहन्थ्यो । मित्रता पनि गाढा, युद्ध पनि भैरहने । १६ औँ शताब्दीका काठमाडौँका शक्तिशाली राजा प्रताप मल्ल राजा भएपछि पनि भोटसँग विवाद भयो । प्रताप मल्लले आफ्ना अति विश्वासपात्र, साहसी योद्धा काजी भीम मल्ललाई सके विवाद मिलाउने नसके युद्ध गर्ने अधिकार दिएर ठूलो फौजसाथ भोट पठाए । काजीले युद्ध गरे, जिते र ठूलो धनराशि लिएर फर्के ।

अहिले पनि कान्छी नानी सहयोग गरेको भन्छिन् भानु ब्रो चैँ एक पर्ने माललाई तीनमा खरिद गरेको बिल पेश गर्छन् ! कागजमा तीन तिरेको एक पर्ने माल कस्तो होला ? अर्थोक भए ‘मेड इन चाइना – आज छ भोलि छैन’ भनिँदो हो, यहाँ त जीवनमृत्युको प्रश्न छ । बिपत्तिको बेलामा कात्रोमा खल्ती हाल्न तम्सने तिमेर्लाई पख न मुखियाबालाई भनेर ठिँगुरा कस्न नलाई कहाँ छाडौँला र ? भनेर जनता उफ्रन थाले । यस्तो बिपत्तिको बेलामा भ्रष्टाचारको कुरो उठाउने ? काम छैन ? भनेर उल्टो लोप्पा पो खुवाइदिए त । बिपत्तिको बेलामा भ्रष्टाचार गर्न हुने, कुरो उठाउन नहुने ? अजब देशको गजब तर्क ।

यस्ता काजीसँग राजा प्रसन्न हुने नै भए । हरदम उनको तारिफ गरिरहन्थे । केही भारदारलाई यो पाच्य भएन र काजीविरूद्ध राजाको कान भर्न थाले । बाबुलाई हटाएर राजा बनेका प्रताप मल्ल यसै पनि आपूmविरूद्ध षड्यन्त्र भइरहेको त छैन ? भनेर आवश्यकताभन्दा बढी नै सतर्क रहन्थे । त्यसमाथि उनको दरबारका भारदार नरदेव मयासिंहले ‘वास्तवमा बुवा महाराजलाई हटाएर काजी आफैँ राजा बन्न चाहन्थे, एकैपल्ट त्यसो गर्दा जनताले विद्रोह गर्लान् भन्ने डरले मात्र प्रताप मल्ललाई गद्दीमा राखेका हुन् । भोटबाट शक्तिशाली र लोकप्रिय बनेर फर्केपछि काजीले राजालाई हटाएर राजगद्दी हत्याउँछन्’ भनेर सुनाउन थाले ।
राजाका आँखाले यही देखे जे नरदेवले सुनायो । बुवा राजा लक्ष्मीनरसिंह मल्ललाई बन्दी बनाई प्रताप मल्ललाई राजा बनाउन पनि तिनै भीम मल्लले सघाएका हुनाले यसमा ठाडै अविश्वास गरिहाल्ने आधार पनि उनीसँग थिएन । उसै त शङ्कालु प्रताप मल्ल, त्यसमाथि मयासिंहका कुराले उनको इन्द्रियधर्म विचलित हुन थाल्यो । भोटमाथिको विजयभन्दा मयासिंहले भनेका शब्द राजाका आँखामा दृश्य बनेर नाच्न थाले ।
अनि सक्किगो नि ¤ काजी भीम मल्ल दरबार आए । राजाले उनको हत्या गराए । काजीकी कजिनीले सती जानुअघि ‘नेपाल दरबारमा कसैको विवेक नहोस्’ भनेर सराप दिइन् रे ! त्यसैले नेपालमा जतिसुकै जाती नेता भएपनि दरबार पसेपछि तिनै सतीको सराप लागेर विवेक गुमाउँछन् रे ¤ होला त यो कुरा ? योग्यतम योग्य नेता छानेर दरबार पठाउने आफ्नो ढङ्ग पुग्दैन, तिनै अदना सतीबारे सुनेका कथा आँखाले देखेझैँ पत्याएर हामी जनताले पनि आफ्नो दोष ढाक्ने वस्त्र भेटेका छौँ नाइँ !
राणाकालमा शक्तिशाली भारदार गगनसिंहको अप्रत्यासित हत्याले क्रुद्ध बनेकी राजा राजेन्द्रकी कान्छी महारानीले हत्यारा पत्ता लगाउने निहुँमा भारदारलाई तुरून्त कोतमा हाजिर हुन बिगुल फुक्न लगाइन् । सात भाइ जङ्गबहादुर शस्त्रअस्त्रले सुसज्जित भएर तीन पल्टनसहित तत्कालै कोतमा पुगेको देखेर महारानीले ‘यो के चाला हो जङ्गे’ भनेर प्रश्न गरिन् । उनले ‘यो महारानीकै सुरक्षाको लागि हो’ भन्ने जवाफ दिए । विवेक गुमाएर चण्डीनाच नाचिरहेकी रानीको आदेशको आडमा जङ्गबहादुरले त्यो रात कोतमा दर्जनौँ भारदारको निर्मम हत्या गरे, अधिकारसम्पन्न तर पानीआन्द्रे राजा त्यो भयानक नरसंहार रोक्ने प्रयास गर्नुको सट्टा आपैm लैनस्थित ब्रिटिस रेजिडेन्टकहाँ शरण लिन पुगे । राती ढोका खोल्न मिल्दैन भनेर लैनले फर्काएपछि दरबारमा आएर दुमुक्क परेर बसे ।
गर्नुपर्ने बेलामा केही नगरेका राजाले भोलिपल्ट सिंहदान गरे, ‘कसको आज्ञाले त्यत्तिका भारदारको हत्या गरिस् ए जङ्गे ?’ जङ्गेले उस्तै गर्जदैँ ‘महारानीको आज्ञाले’ भनेर राजाको मुख टालिदिए । रानीले गगनसिंहको हत्यारा पत्ता लगाउन पो भनेकी थिइन् त, सबैलाई सखाप पार्नु त भनेकी थिइनन् नि ¤ पामर राजाले जङ्गेले भनेका शब्दका दृश्य नै देखे, छानबिन गर्ने आवश्यकता देखेनन् । परिणाम एकसय चार वर्षसम्म जङ्गे खलकको शासन नेपालले उपहार पायो ।
पञ्चायतकालमा विपक्षीलाई पाखा लगाएर एक दलीय व्यवस्था ल्याएपछि राजा आफ्नै पाराले शासन चलाउन थाले । पछिल्ला राजालाई जनतासँग प्रत्यक्ष सम्पर्क गर्ने सुर चल्यो । त्यतिसम्म त बेठीक थिएन । तर, ‘नानीभन्दा आची ठूलो’ भनेझैँ जनतासँग सम्पर्क गर्नेभन्दा तामझामको प्रदर्शन बढी हुन्थ्यो । राजाको सवारी चल्ने ठाउँको रातारात कायापलट हुन्थ्यो । पाइलापाइलामा भव्य गेट, बिग्रे, भत्केको मर्मत गरेर झकिझकाउ पारिएका बाटा, लिपपोत गरी सफा परिएका घरआँगन, टन्न औषधीसहित अस्पतालमा बसेका डाक्टर, नर्स, स्वास्थ्यकर्मी, पानीको थोपो नझर्ने धाराबाट चौबीसै घण्टा पानी, विकास निर्माणमा असारको पन्द्र लाग्थ्यो । जनता जिल्लाराम पर्थे । अब सधैँ यस्तै हुन्छ कि भनेर आश गरेर दङ्गदास पनि पर्थे ।
आसेपासेले चारैतिर घेरा हालेर मौसूफको सवारी चलाउँथे । राम्रा–राम्रा ठाउँमा लग्थे, राम्रा–राम्रा कुरा देखाउँथे, राम्रा कुरा सुनाउँथे । सुकिला लुगा लगाएर हातमा पूmलमाला लिएका जनतामात्र अगाडि पार्थे । वास्तविकतामाथि हालेको पर्दाभित्र मौसूफको नजर पर्दैनथ्यो । हर्षले विभोर जनताको जयजयकार आफैँले नजर गरेपछि मौसूफलाई ’रामराज्य नै ल्याएछु कि क्या हो ?’ भन्ने किन नलागोस् ¤? ४६ सालको जनआन्दोलनमा दरबार घेर्न आएका लाखौँ जनताको आक्रोसलाई पनि मैसूफले ‘मुठ्ठीभर भ्यागुता टर्टराएका’ शब्द दृश्य नजर भएको थियो । आक्रोसको ज्वालामुखीले दरबारै स्वाहा पार्न लागेर मौसूफको इन्द्रियले सही धर्म निर्वाह गर्दासम्म धेरै ढिलो भैसकेको थियो । फलतः अरूले कानमा भरिदिएको दृश्य हेर्दाहेर्दै राजपाठ स्वाहा भयो ।
उत्तरआधुनिक काल त इन्द्रियधर्म विचलनको स्वर्णकाल थियो । अहिलेको विश्व हल्लाइरहेको कोभिड–१९ महामारीमा इन्द्रियधर्म विचलनले पहिलेका रेकर्ड तोड्दै नयाँ नयाँ रेकर्ड राख्न थालेको छ । पहिलो सङ्क्रमण सन् २०१९ को अन्तिम दिन चीनको वुहानमा देखापरेको आधिकारीक अभिलेख छ । तर, त्यो भन्दा केही अगाडि अमेरिकाको हवाई टापुमा कोरोनाको कारण झण्डै २० हजार मानिस मरेको तथ्य–तथ्याङ्क पनि बाहिरिएको छ । सत्य के हो पछि आउला नै !
पहिले उत्तरबाट कोभिडको जोखिम थियो भने खुला सिमानाको कारण पछि दक्षिणबाट सङ्क्रमण भयावह भयो । उत्तरको छिमेकीमा झैँ दक्षिणमा महामारी रोकथाम उच्च प्राथमिकतामा पर्ला भनेर विश्वास गर्न गा¥है छ । हाम्रो हैसियत र क्षमताको त न कुरा गरौँ हजुर ! कसैले डिष्टर्ब गर्नै नसक्ने गरी मन्दिरै बन्द गरेर देवादिदेव महादेव पशुपतिनाथलाई जनताको रक्षा गर्ने जिम्मा दिएर महामारी फैलेको महिनौँसम्म सरकार कानमा तेल हालेर, ख्यालठट्टा गरेर बसिदियो । विश्व स्वास्थ्य सङ्गठनले कानैमा खतराको घण्टी बजाइदिएपछि चेत खुलेको सरकारले जनतालाई आश्वासन दियो, ‘चिन्ता मान्नु पर्दैन, हामीसँग पाँच महिनालाई पुग्ने सामान छ ।’ सरकारले यसो के भनेथ्यो जनताले ‘गोदाममा केही छैन’ भनेको देखे र पसलका ¥याकस्याक सबै रित्याएर घरमा सामान भर्न थाले । हुन पनि छ है छ भन्दै आधा सिलिन्डर ग्यास बेच्न थाल्ने सरकारले भनेको भन्दा विपरीत देख्नुलाई अस्वाभाविक मान्न पनि त सकिन्न नि ! ढाँटको निम्तो खाइ पत्याई भनेझैँ सबै तयारी छ सुनेका आँखाले बिना पीपीई अस्पतालमा बिरामी जाँचिरहेका डाक्टर, नर्सलाई देख्यो । दुई महिनापछि बल्ल सामान मगाउन लागेको सुन्यो ।
छिमेकीले ‘आवश्यक सहयोग गरौँला’ भनेको जनताले सुने, सरकारले सुनेन । अहिले पनि कान्छी नानी सहयोग गरेको भन्छिन् भानु ब्रो चैँ एक पर्ने माललाई तीनमा खरिद गरेको बिल पेश गर्छन् ! कागजमा तीन तिरेको एक पर्ने माल कस्तो होला ? अर्थोक भए ‘मेड इन चाइना – आज छ भोलि छैन’ भनिँदो हो, यहाँ त जीवनमृत्युको प्रश्न छ । बिपत्तिको बेलामा कात्रोमा खल्ती हाल्न तम्सने तिमेर्लाई पख न मुखियाबालाई भनेर ठिँगुरा कस्न नलाई कहाँ छाडौँला र ? भनेर जनता उफ्रन थाले । यस्तो बिपत्तिको बेलामा भ्रष्टाचारको कुरो उठाउने ? काम छैन ? भनेर उल्टो लोप्पा पो खुवाइदिए त । बिपत्तिको बेलामा भ्रष्टाचार गर्न हुने, कुरो उठाउन नहुने ? अजब देशको गजब तर्क ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *