भर्खरै :

महाकवि कालिदासबारे सङ्क्षिप्त चर्चा

‘कालिदास भनेर कोकिल अरू काला भए तापनि !
कुज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ति ध्वनि’
– महाकवि लक्ष्मीप्रसाद देवकोटा
महाकवि कालिदासको जीवनकालका विषयमा इतिहासकारहरूमा प्रशस्त मतभेद छ । विद्वानहरूले उनको काललाई राजा विक्रमादित्यका कालसँग जोडेर समय निर्धारण गरेका छन् । यसैमा सबैको लगभग सहमति कायम भइसकेको देखिन्छ ।
कालिदास उज्जैन निवासी ब्राह्मणका छोरा थिए । ५÷६ वर्षको उमेरमा उनी बाबुआमाबाट टुहुरिए । एक गोठालाले लगेर उनलाई पाल्यो । बाल्यकालमा कालिदास मूर्ख स्वभावका थिए । रुखको हाँगाको टुप्पातिर बसेर फेदतर्फ काट्दथे भनेर पनि भनिन्छ । उनकै समयमा राजकुमारी विद्योतमा विदुषी थिइन् । उनीसँग समस्त पण्डितहरू शास्त्रार्थमा पराजित भएका थिए । त्यसैले उनीहरूले बदला लिने नियतले उनको विवाह पटमूर्खसँग गराइदिने षड्यन्त्र गर्दै पटमूर्खको खोजीमा हिँडेछन् । जाँदा जाँदै बाटामा ती पण्डितहरूले रुखको टुप्पातर्फ बसेर फेदतर्फ काटिरहेको एक युवक फेला पारेछन् । त्यसपछि योभन्दा मूर्ख अरू हुनैसक्दैन भनी उनैसँग विवाह गराइदिने षड्यन्त्रले ती विदुषीसमक्ष लगेका हुन् । उनी मूर्ख कालिदास रहेछन् । उनले नबोल्ने व्रत लिएको बताउँदै हातको इसाराबाट शास्त्रार्थ गर्न लगाएछन् । विद्योतमाले ‘ईश्वर’ एक छ भन्ने सङ्केतस्वरूप एउटा औँला देखाउँदा कालिदासले त्यसको अर्थ एउटा आँखा फोडिदिन्छु भनेको हो भनेर दुई औँला देखाए । ती धूर्त पण्डितहरूले त्यसको अर्थ स्वर्ग र नर्क दुई हुन्छन् भनेको भन्ने लगाई कालिदासको बचाउ गर्दै विदुषीलाई उनीभन्दा कमजोर सावित गराउँदै लगे र यी दुईका बीचमा विवाह गराइ दिएर बदला लिए । विद्योतमाले यो वास्तविकता थाहा पाएपछि कालिदासलाई अपमानित गर्दै चन्द्राकार लगाएर (घोक्राएर) घरबाट निकाली दिइन् । त्यसबाट लज्जित भएका कालिदास धुरन्धर विद्वान नभई घर नफर्किने सङ्कल्पका साथ घर छाडे । कालान्तरमा उनी विद्वान भएर घर फर्किए ।
उनै कालिदास महाकवि बने ।
कालिदासको तर्कना शक्ति ज्यादै थियो । श्रृङ्गार र करुण रसको वर्णनमा उनी सिद्धहस्त थिए । उनी प्रत्येक काव्योपयोगी सामग्री र काव्यका प्रत्येक अंशलाई ज्यादै कुशलताका साथ सुन्दर बनाइदिन्थे । आफ्नो वर्णनीय विषयहरूको आकृति पाठकहरूका सामु खडा गर्ने शक्ति कालिदासमा थियो । त्यस्तो अरू कुनै कविमा पाइँदैन । संस्कृत साहित्यमा मात्र होइन, विश्व साहित्यमा महाकवि कालिदासको स्थान अद्वितीय छ । कालिदासको महाकाव्यमा पाइने वर्णन छटा तथा उनको गीतिकाव्यमा पाइने सरल करूण हृदयोद्गार संसारको कुनै साहित्यमा पनि पाउन मुश्किल हुन्छ । उनको कवितामा पाइने माधुर्यले संसारकै काव्यप्रेमीहरूलाई मुग्ध पारेको छ । आर्य संस्कृतिलाई साहित्यिक श्रृङ्गार दिएर समाज सापेक्ष बनाउनमा मुख्य श्रेय उनलाई नै छ । आर्य साहित्यको जर्जर अवस्थामा प्रवाहित हुने उनको साहित्यिक श्रृङ्गार–धारा विश्व चर्चित छ । यसैको आधारमा उनलाई विभिन्न राष्ट्रहरूले विश्व कवि सिद्ध गरेका छन् । महाकवि कालिदास ऐश्वर्य दृष्टि पाएका एउटा साहित्यिक आर्य प्रतिभा हुन् । कालिदासको ‘रधुवंश’ महाकाव्य उत्कृष्ट थियो । संस्कृत साहित्यको अनमोल रत्न मानिने त्यस महाकाव्यमा कविले जुन आदर्शको सृष्टि गरेका हुन्, ती अन्यत्र त्यस रूपमा पाइँदैन । अर्को ‘मेघदूत’ एक खण्डकाव्य हो । मेघलाई दूत बनाएर कुनै निर्वासित भक्षले आफ्नी अलको निवासिनी प्राण बल्लभालाई पठाएको सन्देशलाई कविले मन्दाक्रान्ता छन्दमा ढालेर अत्यन्त रमणीय काव्यको सृष्टि गरेका छन् । मेघदूत काव्यग्रन्थमा हिमालको वर्णनमा कविले आफ्नो सौन्दर्य सृष्टिको परिचय दिएका हुन् । उनको वर्णनमा यथार्थ एवं कल्पनाको विभिन्न सौन्दर्यको सिर्जना भएको देख्न पाइन्छ । कालिदासको ‘कुमार सम्भव’ ज्यादै उत्तम काव्य हो । वास्तवमा कविले यसमा पुरुष र प्रकृतिको संयोगको चित्र देखाएका छन् । सन्ध्याकालको वर्णनको सिलसिलामा कुमार सम्भवका आठौँ सर्गमा पर्ने यो सुन्दर श्लोकमा कविले आफूमा भएको वैज्ञानिक ज्ञानको पनि पूर्ण परिचय दिन खोजेका छन् । महाकवि कालिदासको श्लोक हेर्दा विलक्षण प्रकृति पर्यवेक्षण वर्ग शक्ति पाइन्छ । प्रकृति चित्रण गर्ने अनेकन सुन्दर श्लोकहरूले कालिदासको काव्यका कैयौँ सर्गहरू भरिएका छन् ।
कालिदास तत्कालीन युगकवि हुन् । उनको काव्यमा युगबोधको प्रतिबिम्ब पाइन्छ । वास्तवमा कालिदास हिन्दू संस्कृतिका परिपक्व चित्रकार हन् । कालिदासले हिन्दू संस्कृतिको मात्र चित्राङ्कन गरेका होइनन् । उनले मानव जीवनकै सुख, दुःख, मिलन, विछोड प्रेम, ईष्र्या आदि विभिन्न भाव विभावहरूलाई आफ्नो काव्यमा र उपयुक्त ढङ्गमा सजाएर राखेका थिए । त्यसैले गेटे, शिलर हर्डर आदि पश्चिमी जगतका प्रसिद्ध विद्वान तथा काव्य पारखीहरूले उनको मुक्तकण्ठले प्रशंसा गरेको कुरा हामीले सुनेका छौँ ।
कालिदासको मृत्युको एउटा किंवदन्ती छ । तद्नुसार कालिदासको ख्याति उनको जीवनकालमै सिँहलद्वीप अर्थात् श्रीलङ्कासम्म फैलिसकेको थियो । सिँहलद्वीपमा राजा कुमारदासको ‘जानकीहरण’ भन्ने काव्यको कालिदासले निकै प्रशंसा गरेका रहेछन् । कुमार दासले नै ससम्मान आमन्त्रित गरेकाले कालिदास पनि सिँहलद्वीपमा गएर बसोबास गर्नथालेछन् । राजाका अन्यन्त प्रिय पात्र बनेका कालिदासप्रति अरूको ईष्र्याभाव हुनु स्वाभाविकै थियो । त्यहाँ छँदा रसिक कालिदास एक दासीकहाँ आउने जाने गर्दथे । त्यस सुन्दरीप्रति अरू पनि धेरै युवकहरू आसक्त थिए । त्यसैले लङ्काकै ती युवकहरूमध्ये कुनै एकद्वारा कालिदासको हत्या भयो । अझै पनि सिंहलद्वीपको दक्षिणी भागमा महाकवि कालिदासको समाधिस्थल छ । कालिदासलाई मारेको समाचारले कवि राजा कुमारदासलाई अत्यन्त विह्वल पार्यो । उनले पनि कविकै चित्तामा आत्महत्या गरे भन्ने उल्लेख सिंहलद्वीपका प्राचीन ग्रन्थहरूमा पाइन्छ ।
यसरी विश्व साहित्यको रङ्गमञ्चमा महाकवि कालिदासको प्रथम स्थान छ । उनका काव्यहरूमा पाइने सांस्कृतिक उत्कर्ष नै पश्चिमी विद्वान इतिहासकारहरूको आकर्षण विन्दु हो । मेकसमलर, मेककानुल र राइडर आदि विद्वानहरूले अङ्ग्रेजीमा पनि भारतीय संस्कृति साहित्यको इतिहास लेख्नुको मुख्य कारण उनका काव्य तत्वको मन्त्रमुन्धता हुनसक्छ । उनका रचनाहरूमा अभिज्ञान, शकुन्तला र मेघदूत अतुलनीय छन् र थुप्रै भाषामा अनुवाद भइसकेका छन् । यसरी संस्कृत साहित्यका महाकवि कालिदास एक अतुलनीय प्रतिभावान पुरुष थिए । साहित्यिक विभूतिको रूपमा सदैव स्मरणीय रहने प्रतिभाशाली महाकवि कालिदास विश्वबन्धु नै हुन् ।
सहायक सामग्री
१) महाकवि कालिदास – टीकाराम अधिकारी
२) विश्वका कविको जीवनी – शारदाप्रसाद घिमिरे
३) विश्वका प्रसिद्ध व्यक्तिहरू – मधुसुदन पण्डित

Leave a Reply

Your email address will not be published. Required fields are marked *