भर्खरै :

“म विकासपीडित हुँ, सर !”

कृषिमा आधारित नेपाली अर्थतन्त्रमा पश्चिमा विकासको अवधारणा पसेपछि नेपाली जनजीवन र त्यसमा पनि गरिब किसानहरूको स्थिति कसरी खस्किँदै गयो र नेपाल आजको स्थितिमा आइपुग्यो भन्ने विषयमा यो लेख केन्द्रित छ ।
अन्नपूर्ण हिमालको नाम सम्भवतः किसानहरूले राखेका थिए । नेपालमा कथित वैज्ञानिक कृषि प्रणाली आउनुअघि पोखरेली किसानहरूले आउँदो बालीको पूर्वानुमान गर्न अन्नपूर्ण हिमालको चुली हेर्थे । त्यहाँ हिउँ थुप्रेमा ‘अन्न’ ले भकारी ‘पूर्ण’ हुने, नथुप्रेमा थोरै अन्न भित्रिने अनुमान गर्थे । साधारण नेपाली किसानलाई जलचक्रको विज्ञानबारे थाहा नहुनसक्छ, तर उनीहरूले निरन्तरको निरीक्षणबाट यस्तो ज्ञान हासिल गरेका थिए । अनुभवजन्य ज्ञानकै आधारमा समग्र किसानहरूको गुजारा चलेको थियो, नेपाली जनजीवन धानिएको थियो । नेपाली इतिहासमा ठूलो भोकमरीको प्रसङ्ग बिरलै पाइन्छ ।
०७ सालको ‘क्रान्ति’ नेपाली किसानहरूका लागि कहर बन्न गयो । यसको अर्थ त्यसअघि किसानहरूको स्थिति गतिलो थियो भन्न खोजिएको होइन । त्यसअघि पनि जमिनदार, किसान र कथित सेवक जातिबीचमा बाँडिएका नेपाली गाउँका आफ्नै समस्या थिए । तर यी सबै एकअर्काका परिपुरक थिए । आर्थिकरूपमा समाज बाँधिएको थियो । जमिनदारले किसान र सेवक जातिका आवश्यकताहरू हेर्नुपथ्र्यो । किसानले काम नगरे जमिनदारको खेत बाँझै रहन्थ्यो । सेवक जातिले काम नगरे समस्त समाज नै अत्यावश्यक सामानबाट वञ्चित हुनुपथ्र्यो ।
०७ सालपछि नेपालमा विकासको अवधारणा आयो । वैज्ञानिकीकरणको लहर पोखरामा पनि पस्यो । किसानले आफ्ना सन्तानलाई विकास अवधारणाअन्तर्गत खोलिएका स्कूलमा भर्ना गर्न थाले । स्कूलमा विज्ञान र अङ्ग्रेजी भाषाको पढाइ हुन्थ्यो । विकास भनेको अमेरिकीहरूको जस्तो हुनुपर्छ भन्ने मानसिकता विद्यार्थीहरूको कलिलो मस्तिष्कमा भरियो । विद्यार्थीले आफ्ना किसान आमाबुबालाई अविकसित, पाखे वा अज्ञानी ठान्न थाले । उनीहरूले शारीरिक श्रमलाई हेला गर्न थाले ।

विकासको लहर गाउँगाउँ पस्न थाल्यो । यसले किसानहरूको परम्परागत जीवनमा उथलपुथल ल्याइदियो । विकासको परिभाषामा गरिब हुनु नै अविकसित हुनु थियो । पहिले अविकासलाई समग्र समाजको समस्या ठानिन्थ्यो । अब अविकासका लागि स्वयम् किसानलाई दोषी मान्न थालियो । धनीहरू आफ्नो बुद्धि र आर्थिक सुझबुझका कारण समाजमा उच्च स्थानमा हुन्छन् भन्ने विकासी परिभाषाले नेपाली सम्पन्न वर्गलाई फाइदा भयो । पुरानो चलनअनुसार पहिले उनीहरूले समाजका गरिबहरूको हेरविचार गर्नुपथ्र्यो । विकासको नयाँ परिभाषाले उनीहरूलाई त्यो दायित्वबाट छुटकारा दिलायो । धेरैभन्दा धेरै कमाउनेलाई नै विकसित भनियो ।

विद्यार्थीमा आएको यो परिवर्तनले गर्दा कतिपय किसानले आफ्ना छोराछोरीलाई ‘विकासमुखी’ स्कूलहरूबाट निकाले । तत्कालीन प्रचलनअनुसार घरका बालबालिकाको श्रम खेतमा उत्तिकै आवश्यक थियो । विद्यार्थीहरू अमेरिकी विकास परियोजनाअन्तर्गत नेपाल आएका विदेशी स्वयम्सेवकहरूको जीवनशैलीबाट प्रभावित थिए । अमेरिकी स्वयम्सेवकहरू थोरै शारीरिक काम गर्थे तर रवाफिलो जीवन बाँच्थे । उनीहरूबाट धेरै प्रभावित भएका केही पोखरेली विद्यार्थीहरू अमेरिकी विकासका कार्यकर्ता बने । आज पनि नेपाली शिक्षित तप्कामा विदेशी विकास–कार्यकर्ता बन्ने लालसा कम भएको छैन । अमेरिकी विकास परियोजनाअन्तर्गत नेपाल पसेको शिक्षाको मूल चरित्र फेरिएको छैन । यहाँ शिक्षा हाम्रो लेखको विषय होइन । हामी कृषिमै फर्किन्छौँ ।
विकासको लहर गाउँगाउँ पस्न थाल्यो । यसले किसानहरूको परम्परागत जीवनमा उथलपुथल ल्याइदियो । विकासको परिभाषामा गरिब हुनु नै अविकसित हुनु थियो । पहिले अविकासलाई समग्र समाजको समस्या ठानिन्थ्यो । अब अविकासका लागि स्वयम् किसानलाई दोषी मान्न थालियो । धनीहरू आफ्नो बुद्धि र आर्थिक सुझबुझका कारण समाजमा उच्च स्थानमा हुन्छन् भन्ने विकासी परिभाषाले नेपाली सम्पन्न वर्गलाई फाइदा भयो । पुरानो चलनअनुसार पहिले उनीहरूले समाजका गरिबहरूको हेरविचार गर्नुपथ्र्यो । विकासको नयाँ परिभाषाले उनीहरूलाई त्यो दायित्वबाट छुटकारा दिलायो । धेरैभन्दा धेरै कमाउनेलाई नै विकसित भनियो ।
गरिबी लोककल्याणको विषय बन्न गयो । गरिबीको समस्या स्वदेशी शासक र विदेशी दाताहरूको स्वार्थ पूरा गर्ने भाँडो बन्यो । तर यी दुवैको उद्देश्य नेपालको गरिबी हटाउनु थिएन । बरु गरिबीकै नाममा देशमा बढीभन्दा बढी विदेशी सहयोग भिœयाउनु र त्यसलाई बाँडचुँड गर्नु नै नेपाली शासक वा सम्पन्न वर्गको खेलो बन्न गयो । गरिबी नेपाली शासकहरूको लागि सुनको अन्डा दिने कुखुरा थियो । आफ्ना विकास–कार्यकर्ताहरू पालिएको र तिनले नेपालमा पश्चिमा उपभोक्तावादी संस्कृति प्रसार गरेकोमै दाताहरू सन्तुष्ट थिए । हरेक वर्ष ‘नेपालमा यसपालि यति भ्रष्टाचार भयो’ भनी तथ्याङ्क निकालिरहने पश्चिमाहरूले आर्थिक सहयोग नरोक्नुको एउटा कारण यही थियो ।
चितवन पहाडबाट झरेका मानिसहरूलाई व्यवस्थित बसोबास गराउनलाई रोजिएको तराईको पहिलो जिल्ला थियो । अमेरिकी सहयोगमा यो परियोजना सन् १९५६ मा नेपालको प्रथम पञ्चवर्षीय योजनामा परेको थियो । यसबाट चितवनका किसानको अवस्था कति ‘विकसित’ भयो ? तीनवटा उदाहरणले प्रस्ट पार्नेछन् ।
परम्परागत खेतीपाती विकासको परिभाषामा गरिबीको स्रोत थियो । त्यसैले चितवनमा किसानहरूलाई उन्नत जातका पशु र बीउबिजन प्रयोग गर्न प्रोत्साहन गरियो । एकजना सुखी किसानसँग ३ बिघा जमिन थियो । तर कृषि विकास बैङ्कले व्यवसायिक माछा र बाख्रा पालन गर्दा राम्रो आम्दानी हुने विचार प्रचार गरिरहेको थियो । यस्तैमा बैङ्कमा जमिन धितो राखेर उनले माछा पालन सुरु गरे । बाढीमा परेर उनको माछा पोखरी खोलाले बगायो । बैङ्कको ऋण तिर्न उनले जमिन बेच्नुप¥यो । हाइब्रीड बाख्रा पाल्न उनले फेरि ऋण काढे । ती बाख्रालाई रोग लाग्यो । ४ मध्ये ३ वटा बाख्रा मरे । ती किसानले आफ्नो जमिन गुमाए । उनी पहाडको जायजेथा बेचेर तराई झरेका थिए र ‘विकसित हुने’ सोचमा उनले सबथोक गुमाए । धनी व्यवसायी बनाउने सपना देखाएर ‘विकास’ परियोजनाले उनलाई ‘विकासपीडित’ बनाइदियो । ती किसान आफूलाई ‘विकासपीडित’ भन्थे ।
दोस्रो उदाहरण एकजना हलीको हो । चितवनमा ‘कृषिको वैज्ञानिकीकरण’ थालिएपछि ती हली जमिनदारको खेतबाट निकालिएका थिए । पहिले उनी जमिनदारहरूको खेत जोतेर र अँधिया गरेर परिवारको पेट पालिरहेका थिए । जमिनदारका छोरा भारतमा पढेर आए । उनले भारतबाटै ट्याक्टर पनि ल्याए । त्यसपछि हली किसानको जागिर र जमिन खोसियो । मुलुकी ऐनले किसानलाई मोहियानी हक दिए पनि उच्च प्रशासकहरूले नयाँ कानुनबारे सूचना चुहाएर जमिनदारहरूलाई सतर्क बनाएका थिए । मुलुकी ऐन ती किसानका लागि मजाकमात्र बन्यो । अदालती दस्तुरका लागि पैसाको अभावमा उनले मोहियानी हकको लागि निवेदन पनि दिन सकेनन् । तीतो थुक निल्दै उनले आफूमाथि भएको अत्याचार सहे । ट्याक्टर विज्ञान र आर्थिक सुझबुझको प्रतीक हो । यही आर्थिक सुझबुझले उनीजस्ता हलीमात्र नभई सेवक जातिका अन्य पेशा पनि बिस्तारै खोस्दै गयो । रेडिमेड सामानहरूको आयातले दमाई, कामी र सार्कीजस्ता जातिले आफ्नो पेशा गुमाउनुप¥यो । आम्दानीको होडमा जमिनदारको पछिल्लो पुस्ताले प्रविधिको प्रयोगमा रुचि लिँदै थियो । आफूमाथि निर्भर गरिब परिवारहरूप्रति उसको सहानुभूति थिएन । यसप्रकार आर्थिकरूपले एकआपसमा बाँधिएको पुरानो नेपाली समाज छिन्नभिन्न भयो । जमिनमाथिको स्वामित्व नहुनाले नै तल्लो वर्ग झन्झन् तल खस्किनुप¥यो । सुकुमवासी समस्या यसैको परिणाम थियो । विपन्न जनता ज्याला मजदुरमा फेरिए । देशभित्र ज्यालादारी कामको अभावमा यस्ता मजदुरहरू विदेशिन थाले ।
तेस्रो उदाहरण एक किसानको हो । ती किसानले कुनै वैज्ञानिक उपाय र उपकरणको प्रयोग नगरी खेतीपाती गर्ने निर्णय गरेका थिए । विकासका हिमायतीहरू उनलाई पाखे भन्नसक्छन् तर त्यसो गर्नुमा उनका आफ्नै तर्क थिए । ती तर्क एक अर्थशास्त्रीका जस्ता थिए । उनले व्यङ्ग्य गर्दै भने, “विकासी मल (रासायनिक) किन चलाउने ? विकासी मल र विकासी बीउ धेरै महँगा छन् । यी सामान किन्न हामीले ऋण काढ्नुपर्छ । साहुले आसामीलाई दिनु दुःख दिन्छ । किसानको लागि ऋण भनेको दशा हो । साहुसँग ऋण लिएपछि कोही किसानले छुटकारा पाउँछ र ? ऋण तिर्दातिर्दा जमिन बेच्नुपर्छ । जमिन नै नभएपछि किसानले के गर्ने ? जमिन नै किसानको जिन्दगी हो । साहुको चङ्गुलमा परेर धेरै किसानले आफ्नो जमिन गुमाएको मैले देखेको छु । जमिनदारहरूले विकासी मल किन्न सक्छन् । उनीहरूले ऋण काढ्नु पर्दैन । राम्रो फसल भएन भने पनि उनीहरूलाई दुःख हुन्न । उनीहरूको भकारी भरिभराउ हुन्छ । मसँग धेरै जमिन छैन । त्यसैले ऋण काढ्नुपर्छ । मैले विकासी मल किने के होला ? फेरि विकासी मलको भाउ पनि दोब्बर तेब्बर भइरहेको छ । बाली राम्रो भए त ऋण तिरुँला । बाली बिग्रियो भने के गर्ने ? ऋण तिर्न सकिन्न । साहु ढोका ढकढकाउन आइहाल्छन् । तिनीहरू गिद्धजस्तै हुन्छन् । मर्न थालेको गाईलाई जस्तै साहुले आसामी पीडामा परेको बेला रुग्छन् । दुःखको बेला बेच्दा जमिनको भाउ पनि किन्नेले नै तोक्छ । त्यसैले विकासी सामान किनेपछि अन्तमा तपाईंले आफ्नो जमिन गुमाउनुपर्छ । कस्तो खेती होला भन्ने पूर्वानुमान गर्न नसकिने स्थितिमा पहिलो किसानको हविगत भोग्नुपर्ने हुन्छ । त्यसैले गुजारा चलाउन वा बाँच्नका लागि यी किसानले ‘आधुनिक’ नबन्ने फैसला गरेका थिए । बरु उनले गाउँघरे मल नै प्रयोग गर्ने सोचेका थिए । उनलाई रैथाने बीउको राम्रो ज्ञान थियो । अर्को मौसमको लागि उनले आफै राम्रो बीउ तयार गरे । यसरी तयार पारेको बीउले व्यवसायिक बीउभन्दा मौसमी प्रतिकुलता झेल्नसक्थ्यो ।
माथिका उदाहरणले किसानका दुःखका दुई स्रोत देखाउँछन् । एक, वैज्ञानिक सूचना र जानकारीको अभाव । दुई, जमिनदारको नाफामुखी सोच । जमिनदारहरू आर्थिकरूपमा ‘बुद्धिमान’ (लोभी) बन्दा तराईका असङ्ख्य किसानहरू जमिनबाट बेदखल भए । उब्जनी त बढ्यो तर बेरोजगारी बढ्यो । विकासको परिभाषामा यसैलाई ‘समृद्धि’ भनिन्छ । यही नै पश्चिमा (पँुजीवादी) अर्थशास्त्रले दिने ‘समृद्धि’ को खोट हो । यसले जनताका दुःख देख्दैन । जनतालाई अवसर वा विकल्प दिन्न ।
पश्चिमाहरूले विकासलाई सुखी जीवनको मूल बाटो भनेका थिए । नेपालमा विकासले अर्थतन्त्र भाँड्यो र सामाजिक बिग्रह ल्यायो । गरिबको जीवन क्षतविक्षत भयो । शिक्षादीक्षाको कमीका कारण उनीहरू शारीरिक श्रमको भरमा बाँच्नुपर्ने भयो । श्रम बजारमा आएर उनीहरू ज्यालादारी मजदुरमा फेरिए । नेपालमा कृषिको वैज्ञानिकीकरण वा व्यवसायीकरण यस्तो थियो । आजभोलि नेपालमा चलिरहेको ‘वैज्ञानिक कृषि’ को बहसले गरिबहरूको जीवनमा कुनै फेरबदल नहुने यसबाट निष्कर्ष निकाल्न सकिन्छ । त्यतिमात्र होइन चुनावताका शिक्षित र अशिक्षित दुवैले जानेर वा नजानेर ‘विकास–विकास’ भनिरहेका हुन्छन् । यो पश्चिमाहरूले उनीहरूको मुखमा झुन्ड्याएको ‘सपना’ मात्र हो । वर्तमान व्यवस्थाभित्र गरिबहरूलाई यो ‘सपना’ ले ‘विकसित’ बनाउँदैन बरु ‘विकासपीडित’ बनाउँछ । कसैलाई ‘विकसित’ बनाइहालेछ भने पनि उनीहरू पुँजीवादी बजारका उपभोक्तामात्र बन्छन् किनभने विकासको परिभाषामा एक असल उपभोक्तामात्र ‘विकसित’ ठानिन्छ । नेपालको सम्पन्न र शासक वर्ग पनि पश्चिमाहरूको असल उपभोक्तामात्र हो । यो वर्गले आफूलाई ‘विकसित’ बनाउने सिलसिलामा ‘गरिबी’ को पसल थाप्छ, विदेशी सहयोगको भिख माग्छ र बहुसङ्ख्यक गरिब किसानलाई ‘विकासपीडित’ बनाइरहन्छ । उनीहरूलाई देशी–विदेशी बजारमा सस्तो ज्यामी बनाइरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *