भर्खरै :

अगुवा किसान कार्यकर्ता कुलबहादुर कवांको निधन

भक्तपुर, २६ असोज । नेपाल क्रान्तिकारी किसान सङ्घका अगुवा किसान नेता कुलबहादुर कवांको ८२ वर्षको उमेरमा आइतबार निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएकोमा साँझ अस्पतालमा निधन भएको थियो ।
भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीमा जन्मेका किसान नेता कवां नेपाल क्रान्तिकारी किसान सङ्घ स्थापना हुनुभन्दा पहिलेदेखि मोहीयानी हक बचाउन सक्रिय हुनुहुन्थ्यो । उहाँको साँढे धपाउने आन्दोलन, नापी आउँदा खेत खेतमा गई जोताहा किसानको नाम लेखाउने आन्दोलन, बाली काट्ने आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, सुस्ता अतिक्रमणविरुद्धको आन्दोलन, सुस्ता बचाउ आन्दोलन र भियतनामी जनताको न्यायपूर्ण सङ्घर्षको समर्थनमा सक्रिय सहभागिता थियो । त्यस्तै २०३७ सालको जनमतसङ्ग्रह सफल पार्न भएको आन्दोलन, २०४२ साल र २०४६ सालको जनआन्दोलनमा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो । प्रजातन्त्र पुनःस्थापनापछि नेपाल मजदुर किसान पार्टीको नेतृत्वमा भएका विभिन्न आन्दोलनहरूमा उहाँको सक्रिय सहभागिता थियो । किसान नेता कुलबहादुर कवांको निधनले सबैलाई स्तब्ध बनाएको छ । उहाँको मृत्युले नेपाल क्रान्तिकारी किसान सङ्घका कार्यकर्ताहरू मर्माहत भएको सङ्घले जनाएको छ ।
दिवङ्गत कवांका एक श्रीमती बेटीमाया कवां, तीन छोरा विष्णुप्रसाद कवां, लक्ष्मीप्रसाद र रत्नप्रसाद, छोरीहरू तुल्सीमाया र नारांदेवी हुनुहुन्छ । किसान नेता कवांको जन्म वि.सं १९९५ भदौ १८ गते भएको थियो । उहाँको पार्थिव शरीरमा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाल र केन्द्रीय सचिव हरिराम सुवालले किसान सङ्घको झन्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *