भर्खरै :

के लद्दाख अमेरिकी हतियारको ‘सो केस’ हो ?

जतिजति समय बित्दै गयो, उतिउति भारत–चीनबीच युद्ध भड्काउने अमेरिकी नीति झन् – झन् प्रस्ट हुँदै छ । स्वाभाविकरूपमा संसारको आर्थिक विकास निर्माण हुँदै गएको खण्डमा सन् २०२१–२२ सम्ममा संरा अमेरिका आर्थिकरूपमा दोस्रो स्थानमा झर्ने अनुमान विश्व बैङ्क र अमेरिकी अर्थतन्त्रको विश्लेषणको केन्द्र वाल स्ट्रीटले गरिसकेको हो ।
संसारमा लोकतन्त्र, विधिको शासन, मानव अधिकारको रक्षा र व्यक्तिगत स्वतन्त्रताजस्ता साझा मूल्यमान्यतालाई अमेरिकाले फरक – फरक सन्दर्भमा फरक – फरक व्याख्या गर्दै आएको छ । ट्रम्प प्रशासनले एउटै मान्यतालाई आफ्नो हितअनुकूल ‘बेटा न बेटी’ को व्याख्या गर्दै छ । आफूभन्दा कमजोर मित्र देशहरूको माझमा धर्म, जाति, भाषा, क्षेत्रको भेद देखाई झगडा र वैमनश्यको बिउ छर्छ अमेरिकी प्रशासन । त्यही बिउ विरुवाका रूपमा झाङ्गिदै जाँदा सबै मित्रहरूमाझ आफ्ना महँगा हतियार बेच्छ र अमेरिका आफैले ती हतियार चलाउन तालिम दिन्छ । एसिया होस् वा मध्यपूर्व, अफ्रिका होस् वा ल्याटिन अमेरिकाका बलिया र कमजोर पक्ष केलाउँदै नयाँ–नयाँ युद्ध भड्काउँछ । संरा अमेरिकी ट्रम्प प्रशासनको मानव अधिकार, व्यक्तिगत स्वतन्त्रता, प्रजातन्त्र र विधिको शासनको अर्थ यही हो ।
हिन्द–प्रशान्त क्षेत्रमा संरा अमेरिकी प्रशासनले हात नहालेको भए भारतीय अर्थतन्त्र दोस्रो वा तेस्रो स्तरमा पुग्ने सम्भावना थियो । त्यस सम्भावनालाई पन्छाउन नै आज संरा अमेरिका, जापान, भारत र अस्ट्रेलियाआबद्ध क्वाड समूहको बैठक टोकियोमा बस्यो र त्यसमा चीनविरोधी योजना बनाइसकिएको छ ।
दोस्रो विश्वयुद्धपछि संरा अमेरिका कोरिया प्रायःद्वीप चीन र दक्षिण–पूर्वी एसियामा नयाँ युद्ध छेड्ने उद्देश्यले केही नाटो सदस्यसहित अमेरिका, जापान र अस्ट्रेलिया कोरिया युद्ध (सन् १९५०–५३) मा हामफालेको थियो । तर, आज भारतसमेत अमेरिकी षड्यन्त्रमा फस्दा आर्थिक विकासमा अगाडि बढ्ने भारतको सम्भावनामा अमेरिकाले भाँजो हालेको समयले बताउनेछ । विश्व बैङ्कका अनुसार सन् २०२१ मा भारतीय अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिनेछ ।
अर्काे आश्चर्यको विषय हो, महिनौँदेखि भारतका केही दक्षिणपन्थी प्रचारयन्त्रले ‘तेजन’, ‘रफाल’, ‘डेल्टा’ ‘पृथ्वी’जस्ता अनेक क्षेप्यास्त्रहरू र बमवर्षक हवाईजहाजहरूको निरन्तर प्रचार गर्दै छन् । चीनलाई तर्साउने उद्देश्यले सो प्रचार गरिएको हो भने चीन आफै त्यस्ता हात–हतियार उत्पादक देश हो । त्यसो भए अमेरिकी उद्देश्य के हुन सक्छ ? उसको उद्देश्य पाकिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का, भूटान, बर्मा, थाइल्यान्ड, मलेसिया र सिङ्गापुरलाई समेत तर्साएर हिन्द – प्रशान्त सैन्य गठबन्धनमा तान्न खोज्नु हो । अमेरिका अत्याधुनिक हात–हतियारको प्रदर्शन गर्दै छ । मानौँ, लद्दाख अमेरिकाको हतियार प्रदर्शन गर्ने ‘सो केस’ होस् ।
अमेरिकी विदेशमन्त्री पोम्पेओले भारत र चीनलाई भिडाउने उद्देश्यले भने, “चीनले ६० हजार सेना भारतसँगको सीमामा तैनाथ गरेको छ ।”
तर, आज संसारलाई थाहा भइसकेको विषय हो कि चीन शीतयुद्धमा विश्वास गर्दैन बरु सबैसँग मिलेर संसारकै आर्थिक विकास गरी भोक, रोग र गरिबीको विरोधमा सङ्घर्ष गर्ने इच्छा राख्छ । चीन शान्ति र साझा आर्थिक विकास चाहन्छ भन्नेबारे नेपाल, भुटान, बङ्गलादेश, श्रीलङ्का आदि दक्षिण एसियाली देशहरू भुक्तभोगी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *