भर्खरै :

संरा अमेरिकी गुप्तचर विमान अवतरण गराउन इन्डोनेसिया मानेन

जकार्ता । संरा अमेरिकाले आफ्नो समुद्री गुप्तचरी विमान पी–८ पोसिडमलाई अवतरण र तेल भर्न मागेको प्रस्तावले दक्षिण पूर्वी एसियाली देश इन्डोनेसियाले अस्वीकार गरेको रोयटर्स समाचार संस्थाले जनाएको छ । संरा अमेरिकी अधिकारीहरूले सो प्रस्ताव स्वीकार गर्न इन्डोनेसियाका रक्षा तथा विदेश मन्त्रालयलाई जुलाई र अगस्ट महिनामा दबाब दिएका थिए । तर, इन्डोनेसियाली राष्ट्रपति वोको विडोडोले सो प्रस्ताव अस्वीकार गरेको सो विषयका जानकारी चार जना इन्डोनेसियाली सैनिक अधिकारीहरूले बताएका छन् ।
संरा अमेरिका र चीनबीच दक्षिणपूर्वी एसियामा आ–आफ्नो प्रभाव विस्तार गर्ने विषयमा विवाद बढेको समयमा आएको यस्तो प्रस्तावले इन्डोनेसियालाई चकित बनाएको इन्डोनेसियाली अधिकारीहरूले बताएका छन् । इन्डोनेसियालीले धेरै अघिदेखि नै तटस्थताको नीति अङ्गीकार गर्दै आएको छ । इन्डोनेसियाले आफ्नो भूमिमा कुनै पनि देशका सेनालाई कुनै पनि गतिविधि गर्न दिएको छैन ।
दक्षिण चीन सागरमा चिनियाँ सैनिक गतिविधिमाथि निगरानी राख्न संरा अमेरिकाको पी–८ विमानको मुख्य भूमिका हुने गरेको छ । भियतनाम, मलेसिया, फिलिपिन्स र ब्रुनाईबीच दक्षिण चीन जलमार्गमा आ–आफ्नै दाबी रहँदै आएको छ । दक्षिण चीन सागरको जलमार्गमा वर्षको ३ त्रिलियन डलर बराबरको व्यापारिक कारोबार हुँदै आएको छ ।
रणनीतिकरूपमा महत्वपूर्ण सो जलमार्गमा इन्डोनेसियाको औपचारिक दाबी छैन । तर, उसले पनि दक्षिण चीन सागरको केही हिस्सामा आफ्नो दाबी गर्दै आएको छ । इन्डोनेसियाले पनि बारम्बार चिनियाँ जहाज र माझीहरूलाई रोक्दै आएको छ ।
वाशिङ्टन डीसीको रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका दक्षिणपूर्वी एसिया विश्लेषक ग्रेग पोलिङले गुप्तचर विमान अवतरणको अधिकार प्राप्त गर्न खोज्नु अव्यवहारिक कदमको उदाहरण भएको बताए ।

चीन र संरा अमेरिकाबीचको दुश्मनीमा हामी बीचमा फस्न चाहँदैनौँ

“इन्डोनेसियाबारे संरा अमेरिकी सरकारका अधिकारीहरू कति कम जानकारी राख्छन् भन्ने कुराको यो नमुना भएको छ”, उनले भने । “हामीले के गर्न हुने र नहुने भन्ने विषयमा पनि सीमा हुन्छ । इन्डोनेसियाको सन्दर्भमा हामीले त्यस्ता सीमालाई जुत्तामुनि कुल्चिएका छौँ”, उनले थपे ।
पछिल्लो समय इन्डोनेसियाले आर्थिक तथा लगानीको क्षेत्रमा चीनसँगको सम्बन्ध विस्तार गर्दै आएको छ । संरा अमेरिका र चीनबीचको आपसी द्वन्द्वमा इन्डोनेसियाले कुनै पनि पक्ष लिन चाहेको छैन । बरु दुई महाशक्ति देशहरूबीचको द्वन्द्व र दक्षिण चीन सागरमा सैनिकीकरणबाट ऊ चिन्तित भएको छ ।
चीन र संरा अमेरिकाबीचको दुश्मनीमा हामी बीचमा फस्न चाहँदैनौँ”, गत सेप्टेम्बरको सुरुमा एक अन्तर्वार्तामा इन्डोनेसियाली विदेशमन्त्री रेत्नो मर्सुदाले भने ।
संरा अमेरिकाको लागि इन्डोनेसियाका पूर्वराजदूत डिनो पत्ती जलालले संरा अमेरिकाको कदम ‘अत्यन्त आक्रामक चीनविरोधी नीति भएको’ र इन्डोनेसिया र सो क्षेत्रको भावनालाई संरा अमेरिकाले ख्याल नगरेको बताए ।
“यो अप्रसाङ्गिक प्रयास हो । हामी चीनविरोधी अभियानमा फस्न चाहँदैनौँ । हामी हाम्रो स्वाधीनता कायम राख्न सक्षम छौँ । तर, अहिले इन्डोनेसियामा चीनको आर्थिक संलग्नता बढ्दो छ । त्यसकारण अहिलेको सन्दर्भमा इन्डोनेसियामा चीन नै सबभन्दा प्रभावशाली देश हो”, उनले भने ।
संरा अमेरिकाले सिङ्गापुर, फिलिपिन्स र मलेसियाको भूमिलाई दक्षिण चीन सागरमा प्रयोग हुने पी–८ लडाकु विमानको सैनिक आधारको रूपमा प्रयोग गर्दै आएको छ ।
पी–८ विमान अत्याधुनिक राडारजडित निकै क्षमतावान क्यामरा र सेन्सर भएको गुप्तचर विमान हो । यसले भूमिको सतह, वरपरका टापु र पानीभित्रका कुरासमेत कम्तीमा छ वर्षको लागि नक्साङ्कन गर्नसक्छ । यस्ता विमानले मिसाइलसमेत बोक्न सक्छन् । विमानले पानीजहाज र पण्डुबीमाथि लामो दुरीबाट हमला गर्नसक्छ । मानिस नभएको विमानबाट यसको सञ्चार प्रणाली नियन्त्रणमा राख्ने सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *